नेपाल ट्रस्ट घोटाला अख्तियारमा

बुधबार, २३ जेठ २०७५, ०६ : २९ भाषा शर्मा  | @sb_language

काठमाडाैं - राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन ।

कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यलाई ठूलो रकम घाटा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन भइरहेको हो । ट्रस्ट कार्यालयबाट सबै फाइल अख्तियारले लगेको सचिव रमेशप्रसाद सिंहले बताए । ट्रस्टले यसअघि नै निर्णय गरिसकेकाले लिजमा दिएको जग्गाको कामकारबाही रोक्न नसकिएको उनले बताए । ‘अब अख्तियारको हातमा पुगेको छ’, उनले भने, ‘अख्तियारले नै निर्णय गर्नेछ।’

पाँच अर्ब घाटा हुने गरी दिइएको जग्गामा काम सुरु

अख्तियारले ट्रस्टको कार्यालयले लिजमा दिने निर्णयको सक्कल फाइलसमेत झिकाएको छ । अख्तियार प्रवक्ता रामेश्वर दंगालले ट्रस्टले दरबारमार्गको जग्गा भाडामा दिँदा गरेको निर्णयउपर छानबिन सुरु भएको बताए । ‘प्रारम्भिक छानबिन भइरहेको छ’, दंगालले भने, ‘ट्रस्टले लिजमा दिँदाको सक्कल स्रेस्ता र कागजपत्र अध्ययन भइरहेको छ ।’

ट्रस्टको कार्यालयले आफैंले निर्धारण गरेको निर्णय लत्याउँदै एक फर्मले प्रस्ताव गरेको भाडादर स्वीकृत गरिदिँदा राज्यले पाँच अर्ब रुपैयाँ गुमाएको हो । थामसेर्कु ट्रेकिङ प्रालिले ल्याएको चिठीको भरमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीले आर्थिक प्रस्ताव मूल्यांकन समितिको निर्णय लत्याउँदै एक अर्ब ४० करोड १० लाख ८६ हजार रुपैयाँमा जग्गा भाडामा दिने सम्झौता गरेका थिए।

थामसेर्कुले बोलपत्रमा लेखिएभन्दा कम मूल्यमा भाडामा लिएर सोहीअनुसार संरचना बनाइरहेको छ । ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गालाई आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडामा दिँदा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँ प्रस्ताव स्वीकार गरेको थियो । तर, प्रालिलाई एक अर्ब ४० करोड १० लाख रुपैयाँमा लिजमा दिइएको छ ।

थामसेर्कु ट्रेकिङ प्रालि आफैंले पहिले प्रस्ताव गरेभन्दा पाँच अर्ब रुपैयाँ कम गरी सम्झौतापत्र लिएर आउँदैमा सहसचिवले त्यसमै हस्ताक्षर गरेको पाइएको हो । ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीको निर्देशनमा सहसचिव लेखबहादुर कार्कीले प्रालि आफैंले ल्याएको सम्झौतापत्रमा हस्ताक्षर गरेको देखिन्छ । सचिवले सहसचिवलाई अधिकार प्रत्यायोजन गर्ने भएकाले सचिवको अनुमतिमा हस्ताक्षर गरेको ट्रस्ट स्रोतको दाबी छ।

सार्वजनिक सम्पत्ति भाडामा दिँदा सहसचिव कार्कीले आर्थिक प्रस्ताव मूल्यांकन समितिको निर्णयविपरीत हस्ताक्षर गरिदिँदा राज्यको ठूलो रकम गुमेको हो । मूल्यांकन समितिको बैठकमार्फत सम्झौता दिनुपर्ने भए पनि फर्मले मनोमानीमा भनेबमोजिमकै मूल्यमा जग्गा भाडामा दिनुलाई महालेखा परीक्षकको ५५ औं प्रतिवेदनले सहसचिवलाई कारबाही गर्न सुझाव दिएको छ ।

ट्रस्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । गृहमन्त्रीको अध्यक्षतामा मुख्य सचिव उपाध्यक्ष, गृहसचिव, कानुन न्याय तथा संसदीय मामिलासहित विभिन्न मन्त्रालयका सचिवसहितको १० सदस्यीय सञ्चालक समिति हुने व्यवस्था छ ।

जग्गा यसरी भाडामा दिइएको थियो
२०७१ साउन २८ मा बसेको ट्रस्ट सञ्चालक समितिको ३१औं बैठकले करिब एक रोपनी १४ आना जग्गा भाडामा दिने स्वीकृत गरेको थियो । जग्गा भाडामा दिन ट्रस्टले बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ६ वटा फर्मले भाडामा लिने प्रस्ताव गरेका थिए । तीनवटा फर्म छानिएका थिए । बोलपत्रबाट आएका तीनवटा फर्ममध्ये ‘थामसेर्कु ट्रेकिङ प्रालि’ ले ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय ९४ मा सम्झौता प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावका आधारमा सचिव कार्कीसमेतले प्रालिलाई दिने निर्णय गर्दै ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजारमा सम्झौता गर्न बोलाइएको थियो । ट्रस्टका तर्फबाट २०७३ फागुन १८ मा तत्कालीन शाखा अधिकृत ऋषिकेश तिम्सनाले प्रालिलाई सम्पूर्ण संरचनाको ढाँचा पेस गर्न निर्देशनात्मक पत्र पठाएका थिए।

त्यो पत्र पठाएको एक सातापछि थामसेर्कु ट्रेकिङ प्रालिले सम्झौतापत्र लिएर ट्रस्ट पुगेको थियो । थामसेर्कु ट्रेकिङ प्रालिका तर्फबाट २०७३ फागुन २४ मा रामचन्द्र रानाले हस्ताक्षर गरेका छन् । ट्रस्टका तर्फबाट तत्कालीन सहसचिव लेखबहादुर कार्कीले पाँच अर्ब कम मूल्य कायम गर्दै प्रालिलाई एक अर्ब ४० करोड १० लाख ८६ हजार रुपैयाँमा जग्गा भाडामा दिने सम्झौता गरेको देखिन्छ ।

सचिवस्तरबाट भएको निर्णय सहसचिवले कम मूल्यमा सम्झौता गर्नु कानुनविपरीत भएको भन्दै अनियमितता गर्नेलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन महालेखाको प्रतिवेदनले समेत सुझाएको छ ।

टेन्डर पनि कानुनविपरीत
भाडामा कम मूल्यमा त्यही प्रालिलाई दिन समय गुजारेको भेटिएको छ । सूचना जारी गरिएपछि प्राविधिक तथा आर्थिक प्रस्ताव ट्रस्टमा परेका थिए । प्रस्ताव मागिएको १५ दिनपछि ६ वटा संस्थाले दर्ता गरेका थिए । असार २८ सम्ममा परेका प्रस्ताव दुई महिनापछि भदौ २६ मा खोलिएको थियो । लिज डकुमेन्टअनुसार प्रस्ताव पेश गरेको ३ महिनालाई वैधता मानेको छ ।

तर, असार २८ भित्र पेस भएको आर्थिक प्रस्ताव २०७४ वैशाख ५ मा ‘थामसेर्कु ट्रेकिङ प्रालि’लाई स्वीकृत गरिएको थियो ।त्यसपछि जेठ १४ मा म्याद गुजारी कानुनविपरीत थामसेर्कुसँग सम्झौता गर्नु समय अवधि सकिएपछि दिनु महालेखाले कानुनविपरीत ट्रस्टले जग्गा भाडामा दिएको ठहर गरेको छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad