coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रचुर छ खेल पर्यटन, छैन अग्रसरता


काठमाडौं- पर्यटन व्यवसायी कर्ण शाक्यले सरकारसामु १७ वर्षअघि नै खेलकुदमार्फत नेपालमा पर्यटन प्रवर्द्धन गर्ने एउटा प्रस्ताव गरेका थिए। नेपालमा खेल पर्यटनको सम्भाव्यता अध्ययनपश्चात उनले गरेको प्रस्तावमा धेरै लगानी गर्नुपर्ने थिएन। गरिसकेका लगानी र उपयुक्त समयको फाइदा उठाउने जुक्ति सुझाइएको थियो। नेपाल भ्रमण वर्ष १९९८, आठौं दक्षिण एसियाली खेलकुद (साफ) १९९९ र तत्कालीन राजा वीरेन्द्रको ५० औं जन्मोत्सव मनाउन भौतिक पूर्वाधार निर्माणमा अबार्ंैको लगानी गरिएको थियो। २००२ को सार्क शिखर सम्मेलनका लागि पनि धेरै तयारी हुँदै थियो। सबथोक तयारजस्तै थियो। बाटोघाटो र होटलहरू नयाँ थिए। खेलकुदका पूर्वाधार भर्खर बनाइएका थिए। समयअनुसार सुविधासम्पन्न पनि थिए। भ्रमण वर्ष आयोजना गर्दा नेपालबारेको राम्रो सन्देश विश्वभर प्रचार भएको थियो। धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले नेपालमा विभिन्न सहरबाट सोझै उडान सुरु गरेका थिए। भर्खरै सम्पन्न साफ खेलकुद आयोजनाबाट नेपालीले ठूला खेलमेलाका लागि पाहुनालाई आतिथ्य दिने अनुभव पनि राम्ररी बटुलेका थिए। जोखिमपूर्ण खेलकुदका लागि त प्रकृतिले नेपाललाई अनुपम वरदान दिएकै थियो।

पूर्वाधार, अनुभव र प्राकृतिक सम्झना एकातिर थियो भने अर्कोतिर विश्व नयाँ सहस्राब्दीको स्वागत गर्न आतुर थियो। मानिसहरू १ हजार वर्षमा एकपटक आउने दिनको स्वागत स्मरणीय रूपमा गर्न चाहन्थे। सहस्राब्दीको अनुभव उत्तिकै कालजयी बनाउन चाहन्थे। त्यसका लागि नेपालमा सम्भव हुने जोखिमपूर्ण खेललाई पर्यटनको विशेष प्रोडक्टका रूपमा बेच्न सकिन्थ्यो। कुनै ठूलै कार्यक्रम नगरे पछिल्ला वर्षहरूमा बनाएका भौतिक पूर्वाधार थोत्रिने र साफ तथा नेपाल भ्रमण वर्ष आयोजना गर्दा पाएको अनुभव भुत्तिने सम्भावना उत्तिकै थियो। त्यसैले शाक्यले तत्कालीन पर्यटनमन्त्री विजयकुमार गच्छदारसमक्ष 'हिमालया २०००' को नाममा खेलकुद पर्यटन वर्ष मनाउने प्रस्ताव गरे।

उनले १९९९ सेप्टेम्बर १७ मा मन्त्री गच्छदार तथा पर्यटन सचिव वरुणप्रसाद श्रेष्ठसामु यस्तो प्रस्ताव गरेका थिए। भ्रमण वर्षले ल्याएको उत्साह मर्न नदिने उद्देश्यमा आएको शाक्यको प्रस्तावले नेपाली पर्यटन व्यवसायमा खेल पर्यटनको नयाँ अध्याय थपिने निश्चित थियो। किनकि सहस्राब्दीलाई भव्यतापूर्वक स्वागत गर्न व्यग्र करोडौं मानिसमध्ये नेपालले केही प्रतिसतलाई मात्र आकर्षित गरे पर्याप्त हुन्थ्यो।

राष्ट्रिय खेलकुद परिषद (राखेप), ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान), पर्वतारोहण संघ, रेस्क्यु संघ, र्‍याफ्िटड संघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा खेल पर्यटन वर्ष हिमालया २००० मनाउने शाक्यको प्रस्तावमा गल्फ, हट एयर बलुन, अल्ट्रालाइट एयरक्राफ्ट, म्याराथन, ट्रायथलन, रिभर रनिङ, र्‍याफ्िटङ, क्यानोइङ, कायाकिङ, माउन्टेन बाइकिङ, एभरेस्ट म्याराथन, ह्वाइट रिभर र्‍याफ्िटङजस्ता खेलहरूलाई महŒव दिइएको थियो। नेपालको प्राकृतिक सुन्दरता तथा नदीनालाले त्यो उद्देश्यमा साथ दिने उनको विश्वास थियो। नयाँ विश्व विस्तारै वातावरणको विषयमा सचेत हुन थालेकाले थोरै लगानीमै वातावरणमैत्री र जोखिमपूर्ण खेलमार्फत पर्यटन प्रवर्द्धनको योजना थियो, त्यो।

'फुटबल र टेनिस वा ओलम्पिक जस्ता खेलबाट मात्र पर्यटन प्रवर्द्धन हुने होइन। आधुनिक विश्वमा एक्सटि्रम स्पोर्टसबाट पनि आउटडोर रिक्रिएसन गराउन सकिन्छ,' शाक्यको जोड थियो, 'जीवन भनेको जोखिमपूर्ण कामको थि्रल पछ्याउने हो, नत्र केही होइन भन्ने जमात विश्वमा बढ्दो छ। यिनीहरू साँचो अर्थमा स्तरीय पाहुना पनि हुनसक्छन्।'

हाइकिङ र ट्रेकिङ नेपालमा हुनसक्ने सबैभन्दा लोकप्रिय खेल पर्यटनका विधा हुनसक्छन्। पर्वतारोहण नेपालको अर्को विशेषता हो। स्कीको अवधारणा पनि शाक्यले त्यहीबेला ल्याएका थिए। इलाफेन्ट पोलो, परम्परागत आर्चरी, मल्लयुद्ध (कुस्ती), कार्ट रेस, इलाफेन्ट रेस, भैंसी दौड, बिच भलिबल, एभरेस्ट म्याराथन, बागचाल, घोडा दौड, पाराग्लाइडिङ लगायतका खेलमार्फत विश्वका उत्कृष्ट खेलाडी र समर्थक नेपाल भिœयाउने शाक्यको योजना थियो। त्यसमा क्रिकेट पनि थियो।

यी सबै खेलका अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वा मेला आयोजनाका लागि शाक्यले काठमाडौं, पोखरा, चितवन, मुस्ताङ, जोमसोम, सगरमाथा आधारसिविर तथा नारायणी, कर्णाली लगायतका नदीहरू प्रस्ताव गरेका थिए। उनले प्रस्ताव गरेको अवधारणा कार्यान्वयनमा कुनै काम नगरे पनि त्यसयता नेपाललाई खेल पर्यटनको केन्द्र बनाउने राजनीतिक भाषण निकै लोकप्रिय हुन थालेका छन्। अझ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने घोषणा गरेपछि सपना देखाउने क्रमले पनि तीव्रता पायो।

 

नेपालमा राम्रो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला भए पाकिस्तान, भारत लगायतका अन्य देशका खेल तटस्थ भूमि आयोजना गरेर ठूलो संख्यामा पर्यटक भिœयाउने सपना आइसिसीको त्यो निर्णयसँगै देखाइन थाल्यो। सुरक्षा तथा भारत–पाक खराब सम्बन्धका कारण पाकिस्तानले धेरैजसो अन्तर्राष्ट्रिय खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलिरहेको थियो, छ। नेपालको मौसम युएईको तुलनामा निकै शीतल र क्रिकेट सुहाउँदो छ। वर्षमा ९ महिना क्रिकेट खेल्न सकिने मौसम हुनु, प्राकृतिक रूपमा सुन्दर हुनु, तुलनात्मक रूपमा अन्य देशको तुलनामा सस्तो हुनुले नेपालसँग ठूला अन्तर्राष्ट्रिय खेलको तटस्थ आयोजक बन्ने व्यावहारिक सम्भावना नभएको त होइन। तर त्यसका लागि केही अनिवार्य आवश्यकता छन्। अन्तर्राष्ट्रिय स्तरको कम्तीमा ५० हजार क्षमताको सुविधासम्पन्न रंगशाला, होटलको राम्रो सुविधा, सुरक्षा ग्यारेन्टी जस्ता अनिवार्य र महँगा सर्त पूरा गर्न सकेको अवस्थामा राम्रो अन्तर्राष्ट्रिय लविङ भए पाकिस्तान र भारतको खेल नेपालमा हुनु अझै पनि असम्भव छैन। मुख्य कुरा अग्रसरता हो, यसका लागि कसैले अग्रसरता नलिनु चाहिँ दुर्भाग्य हो। 'यस्तो अग्रसरहीनताले पर्यटनमात्र नभई नेपाली खेलकुदलाई पनि घाटा पुर्‍याइरहेको छ,' खेलविज्ञ सञ्जिव मिश्र भन्छन्, 'तत्काल यसले ठूलो घाटा नदेखिए पनि दीर्घकालमा यसले नेपाली खेलकुद र पर्यटनलाई धेरै सम्भावनाबाट च्यूत गरिरहेको हुन्छ।'

नेपाल पर्यटन बोर्डका सञ्चार अधिकृत शरद प्रधान पर्यटन विज्ञ शाक्यको योजनाअनुसार एकीकृत रूपमा काम हुन नसके पनि निजी क्षेत्रले धेरै कुरा लागू गरिसकेको बताउँछन्। 'सगरमाथाको आधारसिविरमा विश्वकै उचाईमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन आयोजनाको व्यावसायिक जोखिमलाई एक दशकको प्रयासपछि विक्रम पाण्डेको हिमालयन एक्सपिडिसन (हाइमेक्स) ले नेपाली पर्यटनको एउटा आकर्षक 'प्रोडक्ट' का रूपमा स्थापित गरिसकेको छ,' प्रधानले भने, 'यसैगरी लुम्बिनी म्याराथन पनि एकपटक भयो। अहिले एभरेस्ट म्याराथन जस्ता दर्जनौं अल्ट्रा दौड स्थापना भएर पर्यटन प्रवर्द्धनमा योगदान गरिरहेका छन्। निजी क्षेत्रको प्रयासमा पाराग्लाइडिङ, कायाकिङ, माउन्टेन बाइकिङजस्ता इभेन्टहरू पनि हुन थालेका छन्।'

सरकारी स्तरबाटै एकीकृत रूपमा गर्न सके खेल पर्यटनको ठूलो सम्भावना रहेको बताउँछन् एभरेस्ट म्याराथनका निर्देशक शिखर पाण्डे। 'देशको पर्यटन उद्योग उकास्न हामीले यस्ता सयौं प्रोडक्टहरू स्थापना गर्न सक्नुपर्छ। त्यसका लागि सरकारले एकीकृत योजना ल्याउनुपर्छ र निजी क्षेत्रबाट भएका प्रयासमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ। अब स–साना व्यक्तिगत खेल खासगरी जोखिमपूर्ण खेलको मात्र नभई मास खेलका लागि पनि नेपाललाई गन्तव्यका रूपमा अगाडि बढाउनुपर्छ,' पाण्डेले भने, 'नेपाली क्रिकेट टोलीले विश्वकपसम्म यात्रा तय गरेर आफूलाई प्रमाणित गरिसकेको छ। हामीले राम्रो रंगशाला, होटल, सुविधा र सुरक्षा दिन सके ठूला अन्तर्राष्ट्रिय टिमले लामो समयका लागि नेपाल भ्रमण गर्नेछन्। त्यसका लागि सरकारबाट उचित अन्तर्राष्ट्रिय लबिङ गर्न सक्नुपर्छ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता देशको बीचमा रहनुको फाइदा हामीले लिन सक्नुपर्छ। त्यसका लागि निजी क्षेत्रको प्रयास पर्याप्त हुँदैन। सरकारकै गम्भीर चासोले मात्र यस्ता सम्भावना वास्तविकतामा परिणत हुनसक्छन्।'

१६ वर्षअघि आफूले प्रस्ताव गरेको खेल पर्यटनको योजना 'हिमालया २०००' को सान्दर्भिकता अझै उत्तिकै रहेको शाक्य बताउँछन्। 'एड्भेन्चर स्पोर्टस टुरिजमका लागि हामीसँग तुलनात्मक फाइदा छ। एक्सटि्रम स्पोर्टस चाहिँ अहिलेको क्रेज हो। पर्यटन प्रवर्द्धनका लागि सधैं गतिविधि भइरहनुपर्छ। त्यसैले हिमालया २००० को सान्दर्भिकता अझै छ,' शाक्यले भने, 'निजी क्षेत्रलाई सम्भावना थाहा छ। त्यसैले उनीहरूले आफ्नो ढंगमा काम गरिरहेका छन्। तर सरकारले नै एकीकृत प्रयास थाले त्यसको प्रभाव अझै फराकिलो हुन्छ। पर्यटनमा बासी माल बिक्री हुँदैन। नेपाल भ्रमण वर्ष जस्तै अर्थपूर्ण रोमाञ्चक कार्यक्रमहरू भइरहनुपर्छ। त्यसले विश्व पर्यटन बजारमा नेपालको नाम माथि रहिरहन्छ।'

प्रकाशित: १८ भाद्र २०७३ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App