coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

धनगढी– प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका–६, का ३१ वर्षीय राजकुमार चौधरी, १८ वर्षीय बीरु चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका–६, का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, का २७ वर्षीय कल्लु राना र धनगढी–१३ का २८ वर्षीय रामप्रवेश रानालाई प्रहरीले सार्वजनिक गरेको छ। यी मध्ये ३ जनाको प्रत्यक्ष संलग्नता छ भने २ जनाले पैसा राख्न सहयोग गरेको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। 

कञ्चनपुरको लालझाडी जंगलमा एक साता अघिदेखि मुख्य योजनाकार राजकुमार चौधरी, कल्लु राना र उग्रसेन रानाले पैसा लुट्ने योजना बुनेका थिए। बैंकबाट प्रत्येक दिन कारोवारको लागि आई एम ई सेन्टरमा पैसा लैजाने कुरा थाहा पाएपछि ३ दिनसम्म उनीहरु ‘रेकी’ बसेर कुन समयमा, कस्ले पैसा लैजान्छ भनेर अध्ययन गरेका थिए। ३ दिनसम्म रेकी बस्दा निर्मल कार्कीले नै सिद्धार्थ बैंकबाट झोलामा पैसा झिकेर साइकलमा करिब ५ सय मिटर दुरीमा रहेको आई एम ई सेन्टर लैजाने गरेको देखेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। ‘३ दिनसम्म उनीहरुले कुन व्यक्तीले, कती बेला पैसा लैजान्छ, कुन ठाउँमा गोली हानेर पैसा लुटेर भाग्न सकिन्छ भनेर अध्ययन गरेपछि चौथो दिन पैसा लुटेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

घटना घटाउनु अघि बिहान उनीहरुले लालझाडी जंगलमा पेस्तोल पड्काउने र निशाना लगाउने अभ्यास गरे’, उनले भने, ‘उनीहरुले अभ्यास गर्न २ राउण्ड गोली पड्काएको देखिन्छ।’ 

पूर्व अध्यास गरेपछि मोटरसाइकलमा कल्लुराना र उग्रसेन धनगढी आए। उनीहरुले सिद्धार्थ बैकंमा निर्मल कार्की पैसा लिन गएको देखेपछि केही वर मोटरसाइकलमा रोकेर उनी कुरिरहे। झोलामा पैसा बोकेर आएपछि उग्रसेनले गोली हाने र कल्लुले झोला लुट्यो। उग्रसेनले मोटरसाइकल चलाएर दुई जना लालझाडी जंगलमा पुगे। त्यहाँ मुख्य योजनाकार राज कुमार चौधरी थिए। तीनै जनाले त्यहाँ पैसा बाँडेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। मोटरसाइकल र पेस्तोल राजकुमारले उपलब्ध गराएका थिए। पेस्तोल उपलब्ध गराएवाफत राजकुमारले ५० हजार बढी लगे।

घटनामा प्रयोग भएको पेस्तोल, ६ राउण्ड गोली र लुटिएकोमध्ये ५ लाख ४८ हजार ६ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। 

गएको जेठ १३ गते आइएमी सेन्टर धनगढीमा कार्यरत ३८ वर्षीय निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख रुपैयाँ लुटिएको थियो। सिद्धार्थ बैंकबाट आइएमइको रकम झिकेर साइकलमा कार्यालय गइरहेका कार्कीलाई मोटरसाइकलमा आएका दुई जनाले मुख्य बजारमा गोली हानेर रकम लुटेका थिए।

घटनास्थल आसपासमा व्यापारीकहाँ रहेको सिसि क्यामेराको फुटेज, कलडिटेल, घटना लगत्तै शंकाको आधार पक्राउ परेकाहरुले घटनामा संलग्न हुनसक्ने भनेर दिएको संभावित आधारमा संलग्नलाई पक्राउ गरिएको उनले बताए। प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य बजार क्षेत्रमा दिउँदै गोली हानेर रकम लुटिएपछि स्थानीयले असुरक्षा बढेको बताएका थिए। घटनाको अनुसन्धानका लागि प्रहरी उपरिक्षक घिमिरेको संयोजकत्वमा सात सदस्यीय टोली गठन भएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७५ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App