coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

कालिकोट– कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो। 

आफ्नो पितासँग शारीरिक सम्बन्ध राखेको भन्दै स्थानीय राजिन्द्रा शाही र सृजना शाहीले सार्कीमाथि कुटपिट गरेका थिए। शनिवार राति ९ बजे कुटिएकी सार्कीको १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

कुटपिटबाट आमाको मृत्यु भएको छोरा पदम सार्कीले बताए। ‘म घरमा थिएन। घरमा भएको भए घटना हुने थिएन’, उनले भने– ‘राजिन्द्रा शाहीले आफ्नो वुवासंग शारीरिक सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको सुने। तर, त्यो मलाई थाहा भएन।’ 

कुटपिटको अभियोग लागेकी राजिन्द्रा शाहीले भने मना सार्कीलाई मर्नेगरी नकुटेको सामान्य झगडा मात्र भएको दाबी गरिन। घटनापछि उनीसहित सृजना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मृत्तक सार्कीका छोरा पदमले राजिन्द्रा र सृजनाविरुद्ध उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा म्याद थपको प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक निरोज चौलागार्इंले बताए। 

पक्राउ परेकी राजिन्द्रा शाहीका बुवा कम्मर शाहीको विगतदेखि नै सार्कीसंग सम्बन्ध रहेको स्थानीयहरु बताउँछन्। नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘यो भन्दा पहिला पनि एकपटक उठबस गरेको कुरा बाहिर आएपछि गाउँलेले सामान्य रुपमा मिलाएका थिए।’ पटक पटक शारीरिक सम्बन्ध गर्ने गरेकाले आफन्तहरु आवेगमा आउने गरेको उनले सुनाए। शनिबार भाटगाउँ भन्ने ठाउँमा आफ्नो वारीको मकै र प्याज गोडेर घर फर्किने समयमा बाटोमा कम्मर शाहीका छोरीले कुट्दै उनको घरसम्म पुर्याएको प्रत्यक्षदर्शीको भनाई छ।

एक किलोमिटर टाढा पर्ने खेतबारीमा मकै गोडेर घर फर्किदै गर्दा बाटोबाट कुट्दै घरसम्म पुगाएको मृतकका देवर चम्फे सार्कीले बताए। उनका अनुसार बुवासंग शारीरिक सम्पर्क गरिरहेको अवस्थामा रंगेहात फेला पारेपछि कुटेको कुरा राजिन्द्रा शाहीले स्वीकार गरेकी छिन्।

शोकमा डुव्यो परिवार 

मृतक मनाका श्रीमान रोजगारीको सिलसिलामा भारतको अलमोडामा थिए। उनी पत्नीको मृत्युको खबर पाएपछि भारतबाट फर्किएका छन्। ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको मृत्यु भएपछि परिवार विक्षिप्त बनेको छ। 

मनाका जेठा छोरा पदम सार्की स्थानीय विद्यालयमा अध्यापन गराउछन्। छोराछोरी साना नभए पनि आमाको मृत्यु हुँदा परिवार पुरै शोकमा डुवेका छन्। 

प्रहरीले प्रारम्भिक अनुसन्धानलाई हेर्दा मृतक सार्कीको कुटपिटकै कारण मृत्यु भएको भन्न नसकिने बताएको छ। ‘शवको प्रकृति हेर्दा कुटपिट नै भएको जस्तो देखिँदैन’, जिल्ला प्रहरी कार्यालय निमित्त प्रमुख चौलागाईँले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं। पोष्टमार्टम रिपोर्ट आएपछि वाास्तविकता आउला।’

प्रकाशित: २२ जेष्ठ २०७५ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App