coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अब डिजिटल कांग्रेस’

दाङ– संगठनलाई चुस्त बनाउन नेपाली कांग्रेसलाई ‘डिजिटलाईज्ड पार्टी’ बनाउने तयारी थालिएको छ। पार्टीका हरेक गतिविधीलाई प्रविधीका माध्यमबाट कार्यकर्ता माँझ पुर्याउनुका साथै प्रविधीकै माध्यमबाट मत संकलन गर्ने रणनीतिमा कांग्रेस रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शर्माले केही दिनमै पत्रकार सम्मेलन गरेर डिजिटलाईज्ड कांग्रेसको बारेमा सार्वजनिक गर्ने समेत बताए। ‘हामीहरुले अब पार्टीलाई प्रविधीको भरपुर प्रयोगसहित डिजिटलाईज्ट गर्ने तयारीमा छौँ’, मंगलबार नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई दाङमा सम्बोधन गर्दै उनले भने, ‘यो कस्तो रहने भन्ने बारेमा केहि दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने छौँ।’

उनका अनुसार कांग्रेसका महासमिति सदस्यहरुलाई पार्टीको हरेक गतिविधीमा ‘एस वा नो’ को धारणा ब्यक्त गर्नेगरी मत लिने व्यवस्था समेत मिलाइने छ। यो व्यवस्था अनुसार कांग्रेसको कुनै योजनाको बारेमा धारणा तयार गर्नुअघि मतका लागि एकिन मिति तोकेर सूचना दिइने र त्यो अवधिमा उक्त योजनामाथि महासमिति सदस्यहरुले इन्टरनेटका माध्यमबाट एस वा नो को मत राख्न पाउने छन्। यसका लागि प्रत्यक जिल्ला पार्टी कार्यालयहरुमा इन्टरनेटको व्यवस्था गरिने छ। 

‘हामी मत विभाजन गर्नका लागि एउटा सफ्टवेयर तयार पार्छौं र त्यो सफ्टवेयरका माध्यमबाट हरेक महासमिति सदस्यहरुले केन्द्रीय समितिको निर्णय वा योजना प्रक्रियाका बारेमा मत राख्न पाउनु हुनेछ’, उनले भने ‘यसका लागि नेपालभरका पार्टी जिल्ला समिति कार्यालयहरुलाई प्रविधीयुक्त बनाइने छ।’ 

यो व्यवस्था अनुसार जो कोही महासमिति सदस्यहरुले आफ्नो जिल्ला मात्रै नभई बाहिरी जिल्लाबाट पनि मत राख्न पाउने छन्। यसका लागि महासमिति सदस्य भएको परिचय पत्र अनिवार्य देखाउनु पर्ने व्यवस्था तोकिने छ। ‘मानौ दाङका महासमिति सदस्य बाहिरी जिल्ला गएको बेला कुनै बिषयमा मत हाल्नुपर्ने भयो भने सम्बन्धित जिल्ला पार्टी कार्यालयमा पुगेर पनि मत राख्न सकिने छ’, प्रवक्ता शर्माले भने, ‘बाहिरी जिल्ला पुगेको बेला मत राख्नका लागि आफू महासमिति सदस्य भएको परिचय पत्र अनिवार्य रुपमा देखाउनु पर्ने छ।’ प्रविधीको यो प्रयोगले महासमिति सदस्यहरुबाट प्राप्त हुने सुझावले पार्टीको निर्णय प्रक्रियालाई मजबुत बनाउने उनको विश्वास छ।

यसैगरी पार्टीको आधिकारिक वेवसाइटलाई चलायमान गराएर पार्टीको सबै बस्तुस्थितीलाई सार्वजनिक गर्ने तयारीमा कांग्रेस रहेको प्रवक्ता शर्माले वताए। पार्टीका हरेक गतिविधीसंगै हरेक योजनालाई वेवसाइटमा सार्वजनिक गर्ने तयारीमा रहेको कांग्रेसले यसलाई गतिलो प्रचार शैलीका रुपमा लिएको छ। ‘कांग्रेसको आधिकारिक वेवसाइट हेरियो भने पार्टीका बारेमा सामान्य कार्यकर्ताले पनि सबै कुराहरु पढेर थाहा पाउने छन्’, प्रवक्ता शर्माले भने, ‘हाम्रो यो रणनीति कांग्रेसको गतिलो प्रचार शैली बन्ने छ।’ 

मेची महाकाली अभियानकाे तयारी

पछिल्लो निर्वाचनमा पराजित नेपाली कांग्रेसलाई सशक्त बनाउने अभियान अनुरुप डिजिटल सिस्टममा लैजान खोजिएको बताएका प्रवक्ता शर्माले संगठन बिस्तार अभियानकै क्रममा तत्कालै मेची महाकाली अभियानको थालनीमा कांग्रेस रहेको पनि उनले बताए। केही समयअघि बसेको केन्द्रीय समिति बैठकले यो अभियानको प्रस्तावलाई पास गरिसकेको र अभियानको नारा तयमा कांग्रेस रहेको उनले बताए। ‘मिति टुंगो लागेको छैन, तर कांग्रेस छिट्टै मेची महाकाली अभियानमा निस्कदै छ’, उनले भने।

यसैगरी पार्टीका सबै भातृसंस्थाहरुलाई समेत गाउँस्तरसम्म चलायमान बनाउनका लागि प्रत्येक भातृसंस्थाको रणनीति समेत पार्टीले तयार पार्न लागेको शर्माले बताए। नेपाल तरुण दलले सातवटै प्रदेशमा गरेको प्रशिक्षण कार्यक्रमले कांग्रेसलाई चलायमान बनेको सन्देश दिएको र यसैगरी सबै भातृसंस्थाहरुको कार्यनीति केही दिनमै सार्वजनिक हुने पनि बताए। ‘हेटौँडामा कांग्रेस सभापतिहरुको भेला आह्वाान गरिएको छ, यो भेलाले पनि थप रणनीतिका लागि बल पुर्याउने छ’, उनले भने, ‘अब कांग्रेस संगै हरेक भातृसंस्थाहरुलाई गाउँगाउँमा मुभ गराउनेगरी रणनीतिक योजनाका कार्यक्रमहरु आउने छन्।’ 

प्रकाशित: २२ जेष्ठ २०७५ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App