८ वैशाख २०८१ शनिबार
राजनीति

‘चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आउने’

काठमाडौं– नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको जानकारी दिएका छन्।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै भट्टराईले भने, ‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक पटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ।’

नेता भट्टराईले वर्तमान प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताहरुलाई कार्यान्वयनमा लैजान यसपटक प्राथमिकता दिइने जानकारी दिए। चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतलाई अब द्रुत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग कुरा गरिने उनले जनाए। 

उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नयाँ सम्झौताहरु हुने पनि जानकारी दिए। विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने बताउँदै नेता भट्टराईले भने, ‘अहिले सरकार यसैको आन्तरिक गृहकार्यमा जुटेको छ, चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनुपर्छ।’ 

भट्टराईले विश्वमै सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्ने देश चीन भएकोले नेपालले पनि चिनियाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए। उनले भने, ‘हामीले यो भ्रमणबाट सन्देश दिने कुरा भनेको नेपालमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्व पनि छ भनेर आश्वस्त पार्नुपर्छ, हामीलाई रेल, विद्युत चाहिएसँगै पर्यटक भित्र्याउने र कृषिलाई आधुनिकीकरण गर्ने हो, अब यी क्षेत्रमा हामीले चिनियाँ सहयोग लिनुपर्छ।’

प्रकाशित: २२ जेष्ठ २०७५ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App