८ वैशाख २०८१ शनिबार
समाज

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

काठमाडौं – लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५–०७६मा पुरातत्व विभागले १ करोड बजेट विनियोजन गरेको छ। 

तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ। विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिए। पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णाेद्धार कमिटीले भने २ करोड ५० लाख माग गरेको थियो। 

गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ। सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ। विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करिब ३ करोड नगद र जिन्सी संकलन गरिएको थियो। 

मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए। गोकर्णेश्वरमा प्रत्येक वर्ष भाद्र कुशेऔँसी र पौष गयाऔँसीका दिन आआफ्ना पितृको सम्झनामा श्राद्ध एवं पितृतर्पण गरिन्छ। पौराणिक कालमा लङ्कानरेश रावणले पनि गोकर्णेश्वरको दर्शन गरेको किंवदन्ती छ।

सत्ययुगमा महादेवले मृगरुप लिँदा खोज्दै गएका देवताहरुले उनलाई चिनी सिङमा समाउँदा भाँचिएर तीन टुक्रा भएकामा एक टुक्रा आकाश, एक टुक्रा पाताल र एक टुक्रा हातमा रहेको थियो। हातमा रहेको सोही टुक्रा हालको गोकर्णेश्वरमा स्थापना गरिएको पुराणमा वर्णित छ।  (रासस)

प्रकाशित: २२ जेष्ठ २०७५ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App