मलेखु – पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ।
अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताए।
बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ। गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका बिस्कुट थोक बिक्रेताले नै म्याद गुज्रेपछि पठाएकाले धेरै सामग्री बजारमा म्याद नाघेको भेटिएको व्यवसायीको भनाइ छ।
मदिराजन्य वस्तु अनुमति नलिई बिक्री वितरण गर्न नपाइने कानूनी प्रावधान विपरीत बिक्रीवितरण गरिएका १० भन्दा बढी पसलबाट मदिरासमेत अनुगमन टोलीले बरामद गरी नष्ट गरेको छ।
अनुगमन निरन्तर गरिने र यात्रु लक्षित होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने अनुगमनमा सहभागी प्रजिअ भगिरथ पाण्डेको भनाइ छ। रासस
प्रकाशित: २२ जेष्ठ २०७५ ०६:०५ मंगलबार