६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ६९ पुग्याे

तस्विर : एजेन्सी

ग्वाटेमाला सिटी– सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ६९ पुगेकाे छ भने १७ जनाकाे अवस्था अज्ञात नै रहेकाे छ।

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट आइतबार चट्टान, ग्यास र धुवाँ आकाशमा उडेको समाचार एजेन्सीहरूमा उल्लेख छ।

तीब्र गतिमा ज्वालामुखीबाट निस्केको पदार्थ नजिकका गाउँतर्फ प्रवेश गरेपछि घरभित्र बसेका मानिसको मृत्यु भएको हाे । ज्वालामुखीका कारण सयौं घाइते भएका छन् । देशको प्रमुख विमानस्थल बन्द गराइएको बताइएको छ।

ज्वालामुखीमा  नागरिक मारिनुका साथै सयौं घाइते र बेपत्ता भएपछि ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोराल्सले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गरी राष्ट्रपति मोराल्सले मानव जीवनमा भएको अपूरणीय क्षतिले देश गहिरो पीडामा परेकाे उल्लेख गरेका छन् ।

ल्याटिन अमेरिकाको सक्रिय ज्वालामुखीमध्येको एक फुएगो ज्वालामुखी सन् १९७४ मा भएको प्रमुख विस्फोटबाट नजिकै रहेको फार्ममा ठूलो क्षति भएको थियो । यद्यपी त्यसबेला कुनै पनि मानवीय क्षति भएको थिएन । यसै वर्षको फेब्रुअरीमा भएको पछिल्लो विस्फोटनका कारण एक दशमलव सात किलोमिटर माथि आकाससम्म खरानी उडेको थियो । आइतबारको घटना फेब्रुअरी महिनाको भन्दा ठूलो मात्राको भएको बताइएको छ ।

आइतबारको ज्वालामुखीका कारण उत्पन्न भएको खरानी ६ किलोमिटरमाथि सम्म पुगेको विवरण बाहिरिएका छन् । पाइरोक्लास्टिक फ्लो भनेर चिनिने रातो–तातो चट्टान र ग्यासको मिश्रण पहाडी क्षेत्रबाट बगेको र नजिकको गाउँसम्म पुगेको बिबिसीले उल्लेख गरेको छ । बिस्तारै बग्ने लाभाभन्दा पाइरोक्लास्टिक अत्यन्तै तीब्र गतिमा बग्नसक्ने बताइन्छ।

सन् १९०२ पछि ग्वाटेमालामा आइतबारको ज्वालामुखी विस्फोटन अत्यन्तै खराब भएको बिबिसीले उल्लेख गरेको छ । सन् १९०२ मा भएको सान्ता मारिया ज्वालामुखी विस्फोटनमा परी हजारौं मानिसको मृत्यु भएको थियो । ज्वालामुखी विस्फोटनका कारण सयौं प्रहरी अधिकारी, रेडक्रस तथा सैन्य अधिकारी परिचालन गरिएको छ । परिचालन गरिएका अधिकारीहरुले ज्वालामुखीमा परेका मानिसको उद्धार गरी उनीहरुका लागि अस्थायी बसोबासको व्यवस्था गरिरहेको बिबिसीले जनाएको छ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App