coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आयोजक सेमिफाइनलमा

नेपालगन्ज–११ (पहेलो) विरुद्ध बल अगाडि बढाउँदै एपिएफका खेलाडी।

बाँके – आयोजक नेपालगन्ज–११ ले एपिएफलाई २–० ले पराजित गर्दै टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खजुरा गाउँपालिकास्थित डी गाउँमा भएको खेलमा आयोजकका लागि विक्रमसिंह ठकुरी र विमल रानाले गोल गरे । जितसँगै आयोजक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

म्यान अफ द म्याच विक्रमसिंह थापाको गोलबाट आयोजकले खेलमा अग्रता लिएको थियो । चार मिनेटमा विक्रमले गोल गर्दै घरेलु समर्थकलाई उत्साही बनाए । गर्मीका कारण निर्धारित ८० मिनेटमा खेलाएको खेलमा विमलले दोस्रो गोल दोस्रो हाफ सुरु हुँदै गरे । विमलले ४४औं मिनेटमा गोल गरेपछि विभागीय टोली निराश बनेको थियो । नेपालगन्ज–११ ले पहिलो पटक नेपालगन्ज गोल्ड कपमा पहिलो खेलमा जित हासिल गरेको हो । यसअघिका दुई संस्करणमा घरेलु टोली पहिलो खेलमै पराजित भएको इतिहास छ।

नेपालगन्ज–११ का प्रशिक्षक युवराज शाहीले छोटो समयमा खेलाडीको समन्वय मिल्दा जित हासिल गरेको बताए । ‘सोचेभन्दा हामीले राम्रो खेल्यौं । हाम्रो टिममा बाहिरका खेलाडी पनि छन । स्थानीय खेलाडीसँग उनीहरूको स्पिड कसरी मिलाउने भन्ने चुनौती थियो । तर हामी छोटो समयको तयारीमा जित हासिल गर्न सफल भयौं,’ शाहीले भने, ‘आयोजकका लागि आजको जित महत्वपूर्ण छ । यसले यहाँका हजाराैं दर्शकलाई उत्साह जगाएको छ । स्थानीय खेलाडी उत्पादनमा प्रेरणा मिल्नेछ।’

नेपालगन्ज–११ कप्तान गोबिन थापाले तेस्रो संस्करण घरेलु मैदानमा राख्ने प्रयास गर्ने बताए । उनले भने, ‘फुटबलमा सानो कमजोरीले हार हुन्छ । हामीले विगतमा मिहिनेत गरेको थियौं । तर सफलता हासिल गर्न नसक्दा चुनौती थियो । अब फाइनल खेल्ने हाम्रो लक्ष्य छ ।’ विक्रमको गोलबाट उत्साही भएको नेपालगन्जले खेलको अन्त्यसम्म एपिएफलाई नियन्त्रणमा राख्न सफल भयो । दोस्रो हाफमा टोलीले झन् सुन्दर खेल प्रस्तुत गरेको थियो । खेलको म्यान अफ दी म्याच विक्रमलाई ५ नम्बर प्रदेश सभासद बाबुराम गौतम, नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवलशमशेर राणा, उपमेयर उमा थापाले मोबाइल प्रदान गरे।

एपिएफ नियमित खेलाडीबिना नेपालगन्ज आएको टोली हो । एपिएफका मुख्य खेलाडी रञ्जन विष्ट, अन्जन विष्ट, राजेन्द्र रावल, आदित्य चौधरी टोलीमा छैनन्।

रञ्जन र अञ्जनले क्लब छाडेका छन् । अहिले क्लबका पूर्वखेलाडी सुदीप श्रेष्ठले टोलीमा प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका छन । एपिएफ प्रशिक्षक सुदीपले खेललाई कमान्ड गर्ने खेलाडी अभाव भएको बताए । उनले भने, ‘घरेलु टोलीसँग सोचेजस्तो दबाब थिएन । सुरुआतमा गोल भए पनि हामी खेलमा फर्कन्छौं भन्ने विश्वास थियो । तर खेलाडीले अवसर पाएका बेला गोल गर्न सकेनन्।’

स्कोरिङ लाइनले आफ्नो जिम्मेवारी पूरा नगर्दा खराब नतिजा आएको उनले बताए । नेपालगन्ज गोल्ड कपबाट फर्कंदा टोलीले स्कोरिङ पक्षमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको सुदीपले पोस्ट म्याच कन्फ्रेन्समा बताए।

शनिबारसम्म चल्ने प्रतियोगितामा आयोजकसँगै एपिएफ, सरस्वती क्लब, लाली रूपन्देही– ११, सुदूरपश्चिम–११ र सिएमजी क्लब संकटाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछ।
मंगलबारको खेल
सुदूरपश्चिम–११ र सरस्वती क्लब

प्रकाशित: २२ जेष्ठ २०७५ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App