१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदीप र सुवासको शतक

काठमाडौं – प्रदीप ऐरी र सुवास खकुरेलको शतकप्रेरित एपिएफ सोमबार प्रदेश नम्बर २ लाई डकवर्थ लुइस पद्धतिमा ९६ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलमा स्थान पक्का गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा एपिएफले प्रस्तुत गरेको ३ सय ४० रनको विशाल योगफल पछ्याएको प्रदेश नम्बर २ ले वर्षाले खेल प्रभावित भएपछि जितका लागि २८ ओभरमा २ सय २ रनको नयाँ लक्ष्य पाएको थियो। प्रदेश नम्बर २ ले २८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५ रन मात्र जोड्न सक्यो।

यस जितपछि ३ खेलमा शतप्रतिशत नतिजा हात पारेको एपिएफ ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा समान ६ अंक जोडेको नेपाल आर्मी क्लब दोस्रो स्थानमा छ। आर्मी आइतबारै सेमिफाइनल प्रवेश गरिसकेको छ। यसअघि ४ खेलमा समान २ अंक जोडेका प्रदेश नम्बर ४, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन्। एपिएफ र आर्मीबीच बुधबार हुने समूह चरणको अन्तिम खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।

प्रदेश नम्बर २ का ओपनर हरिशंकर शाहले सर्वाधिक ३८ र सुरज पटेलले ३४ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन्। ५२ बल खेलेका हरिशंकरले ३ चौका तथा ५३ बलको सामना गरेका सुरजले ५ चौका र १ छक्का प्रहार गरे।

एपिएफका करण केसी र वसन्त रेग्मीले समान ३ विकेट लिँदा रोहितकुमार पौडेल, भुवन कार्की र कमलसिंह ऐरीले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएmले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३९ रनको विशाल योगफल खडा गरेको थियो।

२० रन जोड्दा ओपनर अनिलकुमार शाहलाई गुमाएको एपिएफको इनिङ दोस्रो विकेटका लागि सुवास र प्रदीपले दोस्रो विकेटका लागि २ सय ३१ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए। १ सय ३५ बल खेलेका प्रदीपले १३ चौका र ८ छक्काको मद्दतमा १ सय ५८ तथा १ सय ३० बलको सामना गरेका सुवासले ४ चौका र २ छक्काको मद्दतमा १ सय ३ रन जोडे। प्रदेश नम्बर २ का दिवांशु मालिचले ५ विकेट लिए।

त्यस्तै प्रदेश नम्बर ५ ले पनि प्रदेश नम्बर ३ लाई सोमबारै डकवर्थ लुइस पद्धतिमा ३० रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको छ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को खेलमा प्रदेश नम्बर ३ ले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले २०.५ ओभरमा ८९–३ मा खेलिरहँदा वर्षा खेलको बाधक बनेको थियो। वर्षाका कारण खेल प्रभावित भएसँगै प्रदेश नम्बर ५ ले ६० रनको नयाँ लक्ष्य पाएको थियो। तर यसअघि नै ८९ रन जोडिसकेकाले प्रदेश नम्बर ५ ले नतिजा आफ्नो पक्षमा पारेको हो।

यस जितपछि ३ खेलमा ५ अंक जोडेको प्रदेश नम्बर ५ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको हो। एक खेल बढी खेलेको प्रदेश नम्बर ७ को पनि समान ५ अंक भए पनि प्रदेश नम्बर ५ भन्दा रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ। २ खेलमा ३ अंक जोडेको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ। २ अंकका साथ प्रदेश नम्बर ३ चौथो र १ अंक जोडेको प्रदेश नम्बर ६ अन्तिम स्थानमा छन्।

प्रदेश नम्बर ५ का ओपनर सन्दीप सुुनार र शंकर रानाले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए। ३५ बल खेलेका सन्दीपले रिटायर्ड हर्ट हुनुअघि ७ चौका र १ छक्का मद्दतमा ३८ रन प्रहार गर्दा ३१ बल खेलेका शंकरले २ चौकाको मद्दतमा १९ रनको योगदान गरे। कप्तान शक्ति गौचनले अविजित १५ र अन्तिम थापाले १० रनको योगदान गरे।

प्रदेश नम्बर ३ का किशोर महतो र अभिषेक झाले समान १ विकेट लिए।

यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको समान्य योगफल तयार पारेको थियो। प्रदेश नम्बर ३ का ओपनर भूपेन्द्र थापाले सर्वाधिक ४६ रनको योगदान दिए। ६६ बलको समाना गरेका भूपेन्द्रले ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै रूपेश श्रीवास्तवले ३६ बल खेल्दै २ चौकाको मद्दतमा अविजित २१ रनको योगदान दिए।

प्रदेश नम्बर ५ का लाल अधिकारीले ४ तथा विक्रम भुसाल, कृष्ण कार्की र सन्दीपले समान २ विकेट लिए।

प्रकाशित: २२ जेष्ठ २०७५ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App