coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘भित्री पीडा आफैले मात्र बुझेका छौं’

काठमाडौंमा सोमबार ‘जीवन कति हाँसो कति रोदन’ शीर्षकमा सहजकर्ता शेखर खरेलसँग गफिँदै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ । तस्बिर : नेमिष

काठमाडौं – विश्वविख्यात कमेडियन चार्ली च्याप्लिनले आफ्नो पुस्तक ‘माइ अटोबायोग्राफी’मा जीवनलाई आफूले हेर्दा त्रासदी र अरुले हेर्दा रमाइलो लाग्ने बताएका छन् । उनले भनेका छन्  ‘जीवन एउटा त्रासदी हो जब यसलाई नजिकबाट नियालिन्छ।

तर टाढाबाट हेर्दा यो कमेडी लाग्छ ।’ राजधानीमा जारी २२ औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको छलफल सत्रको ‘जीवन कति हाँसो कति रोदन’ शीर्षक बहसमा सोमबार सत्र संयोजक शेखर खरेलले यो भनाइको मर्मबारे सोध्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एकछिन गम्भीर बने।

केही समय अघि क्यान्सरबाट श्रीमति यशोदा सुवेदी गुमाएका कलाकार मदनकृष्णले यो भनाइलाई श्रीमतिसँग जोडे । ‘हरिवंश र मलाई आम मानिसले हेर्दा हँसाउने जोडीका रुपमा लिन्छन् । तर हाम्रो भित्री पीडा आफैले मात्र बुझेका छौं । म आफ्नो गाडीमा गुडिरहँदा बाटोमा ह्वीलचेयरमा यात्रा गरिरहेका अशक्त व्यक्ति देखिरहन्थें ।

उनीहरुको पीडा अनुभूत गर्न नसके पनि सहानुभूति चाहिँ थियो,’मदनकृष्णले सम्झिए,‘साँगामा हामीले स्थापना गरेको स्पाइनल कर्ड इञ्जुरी भएकालाई आश्रय दिने संस्था छ । त्यहाँ पनि ह्विलचेयरमा आश्रित व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूप्रति पनि मेरो सान्त्वना थियो । तर जब श्रीमति यशोदाको क्यान्सर स्पाइनल कर्डमा सरेर ह्वीलचेयरमा बस्नुपर्ने अवस्था आयो । त्यो क्षण मेरा लागि एकदमै पीडादायी थियो । श्रीमतिलाई ह्वील चेयरमा राख्दा ममा पीडाको पहाड बोके झैं भएको थियो । जिन्दगीमा कहिल्यै अनुभव नगरेको विषय आफैले अनुभव गर्नुपर्यो।’

यशोदाको निधनपछि मदनकृष्णको परिवारले सुनाकोठीमै यशोदाको काम गरेका थिए । पत्नी वियोगको पीडामा रहेका उनलाई सान्त्वना दिन उनको घरमा नआउने कोही थिएनन् । ‘नेता, समाजसेवी, कलाकार, पुराना हितैषी, बिर्सिसकेका साथीसंगी कोको आए आए, सम्झेर पनि सम्भव भएन,’उनी गम्भीर बने, ‘आफू पीडामा परेको बेला सान्त्वना दिन आउने मानिसको भीड देख्दा ठूलो राहत महसुस हुँदो रहेछ । पीडा भुलाउने एउटा बहाना पनि हुँदो रहेछ।’

‘पेटमै रहँदा मीरालाई जण्डिस देखियो । गर्भवती बेला जण्डिस देखिनु निकै जोखिम मानिन्छ । त्यही समयमा भैरहवामा हाम्रो प्रहसन थियो । सबै टिकट विक्री भइसकेको थियो ।स्टेजमा बसेर आफ्ना संवादमार्फत दर्शक हँसाइरहँदा ती संवादमा मीरालाई नै सम्झिइरहेको थिएँ ।’


मदनकृष्णको कुरा सुनिरहेका हरिवंशले शेखरको चासोलाई आफ्नै शैलीले जवाफ दिए । ‘मलाई परेको पीडा अरुले २० प्रतिशत पनि बुझ्दैनन् । उनीहरूलाई आफ्नो पीडा पोख्दा त्यो पनि बुझ्न सक्दैनन्,’हरिवंशले भने,‘अस्पतालको आइसियु कक्षमा बिरामी हेर्न जाँदा हस्पिटलमा पनि सेल्फी लिन आउँछन् ।

उनीहरूको आग्रहलाई नकार्न सकिन्न । आर्यघाटमा मलामी जाँदा पनि फिल्म वा टेलिसिरियलको संवाद बोल्छन्, गीत गाइदिन्छन् । मेरो बुझाइमा कलाकार भएर हिड्नु र सर्वसाधारण भएर हिड्नुमा केही फरक देख्दिन । किनकि आम मानिसको नजरमा हामी जहिल्यै कलाकार नै भएका छौं । मान्छेको मनपराइले नै हामी बाँचेका छौं ।’

शेखरले मदनकृष्ण हरिवंशलाई आफ्नो प्रहसनले नेताहरू रिसाए या रिसाएनन् भनी अर्को प्रश्न सोध्दा हरिवंशले गिरिजाप्रसाद कोइरालादेखि सूर्यबहादुर थापासम्मको प्रहसन गर्दा कोही नरिसाएको दाबी गरे । ‘हाम्रो प्रहसनले उहाँहरूलाई व्यंग्य गर्दा उहाँहरू धैर्यताका साथ सुनिरहनुहुन्थ्यो । किनकि रिसाएर हिँड्यो भने उहाँ आक्रोशित हुनुभयो भन्ने प्रष्टै थाहा हुन्छ । हामी प्रतिकात्मक व्यंग्य गर्छौ । जसकारण उहाँहरूलाई पनि इज्जत दिएको आभाष हुन्छ ’ हरिवंशले सुनाए।

मदनकृष्णको अनुभवमा आफूहरूले गरेको प्रहसन मन पराएर धेरै नेताहरु हाँसेर हात मिलाउन स्टेजसम्मै आएका छन् । तर उनलाई ‘यमलोक’ प्रहसनसँग जोडिएको एउटा घटना अहिले पनि स्मरणीय छ । ‘यमलोकमा हामीले भ्रष्टाचार गर्ने एक मन्त्रालयका सचिवको बारेमा प्रहसन गरेका थियौं । तर ती सचिव यिनै हुन् भनेर तोकेका चाहिँ थिएनौं ।

त्यो प्रहसन सबैले राम्रो रुचाइदिनुभयो । एकदिन म कुपण्डोलमा हिडिरहेको थिएँ । एक अपरिचित महिलाले मलाई घरमा बोलाउनुभयो,’ मन्द मुस्कानसाथ मदनकृष्णले भने, ‘म उनको घरको कोठामा मात्र के बसेको थिएँ, उनले तपाईले त कुरै नबुझी मेरो श्रीमानको बारेमा प्रहसनमा के के भन्नुभयो भयो’ भनेर मलाई गाली गरिन् । उनले गाली गरिरहँदा घरमा काम गर्नेले चिया ल्याइदिइन्।

चिया ल्याउनासाथ उनले चिया मगाएको त थिएन । ल्याइदिइ हालेछन् खानुस् न पो भनिन् । तीता मीठा दुवै अनुभव छन् प्रहसनका,’उनले सुनाए ।महजोडीलाई शेखरले नै ‘पीडामा परेको बेला हँसाएको अनुभव छ ?’ भन्ने प्रश्न सोध्दा हरिवंशले श्रीमति मिरा गर्भवती हुँदाताकाको अनुभव सुनाए । ‘मेरो छोरा त्यतिबेला पेटमै थियो । पेटमै रहँदा मीरालाई जण्डिस देखियो । गर्भवती बेला जण्डिस देखिनु निकै जोखिम मानिन्छ ।

त्यो बेला उनलाई पाटनमा २ महिना राखेका थिएँ,’हरिवंशले भने,‘त्यही समयमा भैरहवामा हाम्रो प्रहसन थियो । त्यहाँको कार्यक्रमका लागि सबै टिकट विक्री भइसकेको थियो । त्यहाँ नगई हामीले सुखै पाएनौं । स्टेजमा बसेर आफ्ना संवादमार्फत दर्शक हँसाइरहँदा ती संवादमा मीरालाई नै सम्झिइरहेको थिएँ ।’

हरिवंशले ६ वर्षदेखि क्यान्सरमा थलिएकी मदनकृष्णकी यशोदालाई सम्झिएरै देशदेखि विदेशमा कार्यक्रम गरेको खुलाए । ‘यशोदा भाउजुलाई महंगो रोग लागेको थियो । त्यो बेला पैसाकै लागि भए पनि हामीले काम गर्नुपर्ने बाध्यता थियो । किनकि क्यान्सर रोगको उपचारका लागि पनि लाखौं करोडौं रुपैंयाँ चाहिन्थ्यो ’मदनकृष्णतिर हेर्दै हरिवंशले भने।सत्रमा सहभागी एक दर्शकले मह जोडी आफूहरुको मनपर्ने कलाकार भए पनि जोडीले अभिनय गरेको एक ट्यांकीको विज्ञापनले बालबालिकामा नकारात्मक सन्देश गएको जनाए । हरिवंशले पानी ट्यांकीको विज्ञापनमा काम गरिसकेपछि आफूले त्यस्तो गर्न नहुने आत्मग्लानी गरेको बताएका थिए ।

 

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App