८ वैशाख २०८१ शनिबार
अर्थ

फागुन १७ बाट बुद्धको नेपालगन्ज–दिल्ली उडान

नेपालगन्ज - निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।

सुरुवातमा दैनिक दुई उडान गर्ने र अधिकतम चार महिनाभित्र अर्को जहाज थपेर यही रुटमा दैनिक तीन उडान गर्ने बुद्धको योजना छ । यसका लागि उसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिइसकेको छ।‘हामी नेपालगन्जबाट दिल्लीका लागि दैनिक २ सय र वार्षिक ७० हजार यात्रुलाई सेवा दिने छौं,’ नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यो उडानपछि नेपालगन्जमात्र नभई समग्र मध्यपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा कायापलट हुने विश्वास छ।’

दिल्ली उडानका लागि नेपालगन्ज विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, अध्यागमन र भन्सार कार्यालयदेखि आवश्यक सबै पूर्वाधार सरकार र स्थानीय निकायले चाँडोभन्दा निर्माण गर्न सहयोग गर्ने बस्नेतले विश्वास व्यक्त गरे।

‘यस क्षेत्रको समग्र उन्नति गर्न हामी लागिपरेका छौं र यसमा नेपालगन्ज उपमहानगरपालिकादेखि सम्बद्ध सबै स्थानीय निकायले सक्दो सहयोग गर्नेमा हामी ढुक्क छौं,’ बस्नेतले भने, ‘उड्डयन क्षेत्रमो नेपालगन्ज–दिल्ली उडान कोसेढुंगो साबित हुने छ । केन्द्र सरकारले यो उडानका लागि ‘लिमा ६२६’ रुटमा दुईतर्फी उडान सञ्चालनको पहल गरिदिनुपर्छ । यो रुटको हवाई भाडा प्रतिस्पर्धी नै हुने छ।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसमसेर राणाले मुलुकको उड्डयन इतिहासमै पहिलो पटक सुरु गर्न लागिएको नेपालगन्ज–दिल्ली उडानलाई कुनै पनि हालतमा सफल गराएरै छाड्ने प्रतिबद्धता जनाए ।‘नेपालगन्जसहित मध्यमपश्चिम र सुदूपश्चिम क्षेत्रको समृद्ध भविष्य नेपालगन्ज–दिल्ली उडानले बनाउने छ,’ राणाले भने, ‘बुद्धले यसको सुरुवात गर्दै छ र यसले विशाल आकार लिँदै गएर अन्य कम्पनी पनि पछिपछि आउने विश्वास छ।’

दैनिक तीन उडान, वार्षिक ७० हजार यात्रु लक्ष्य

उनका अनुसार यहाँको शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन जे कामका लागि पनि एक घन्टामा दिल्ली पुग्न सकिने भएपछि समग्र अर्थतन्त्रमा सकारात्मक र उल्लेख प्रभाव पर्ने छ । त्यसकारण यो उडानलाई सफल बनाउन प्रधानमन्त्री, पर्यटन मन्त्रीदेखि नागरिक उड्डयन प्राधिकरण जताततै लबिङ गर्न सुरु गरिने छ।पूर्वसिँचाइ मन्त्री तथा सभासद सञ्जय गौतमले आर्थिकमात्र नभई सामाजिक तथा राजनीतिक हिसाबले पनि बुद्धले गर्ने नेपालगन्ज–दिल्ली उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । ‘बुद्धको यो अभियानलाई हामी सबैले साथ दिनुपर्छ र त्यसपछि नेपालगन्ज मुलुककै सबैभन्दा समृद्ध क्षेत्र बन्ने छ।’

त्यसैगरी होटल एसोसिएसन नेपाल (हान) को नेपालगन्ज च्याप्टरका महासचिव सरोजकुमार दत्तले नेपालगन्ज–दिल्ली उडान पर्यटन र हवाई उद्योगका लागि कोसेढुंगो साबित हुने विश्वास व्यक्त गरे । दिल्ली र दिल्ली हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई अब हुने बुद्धको उडानबाट धेरै नै सहज हुने उनको भनाइ छ ।बुद्धले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतकै कोलकाताका उडान गर्ने घोषणा गरेको थियो । तर, अब काठमाडौं–कोलकाताभन्दा नेपालगन्ज–दिल्ली सेक्टरमा पहिला उडान गर्ने घोषणा गरेको हो।

बुद्धका अनुसार नेपालगन्ज विमानस्थलमा हाल भएकै पूर्वाधारबाट अन्तर्राष्ट्रिय उडान गर्न भने सकिँदैन । बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने छ । वार्षिक साढे ३ करोड भारतीयले विभिन्न देश घुम्न जाने गरेको तथ्यांक छ । यसैलाई ‘क्यास’ गर्ने रणनीतिअनुसार नेपालगन्ज–दिल्ली उडान गर्न लागिएको हो ।बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App