७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन : मन्त्री बस्नेत

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्। 

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदूषित गाडीहरु मन्त्रीहरु वा प्रधानमन्त्री जोसुकैको भएपनि छोड्दिन।’

उनले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए। 

मन्त्री बस्नेतले वन क्षेत्रबाट आगामी एक वर्षभित्र एक लाखलाई रोजगारी सिर्जना गर्ने दाबी समेत गरेका छन्। उनले भने, ‘हामीले सक्ने कुरा गरेका छौं, क्यालकुलेशन गरेर नै मैले त्यो कुरा बोलेको हुँ, म अहिले बजेट कार्यान्वयनको कार्ययोजना बनाउन व्यस्त छु।’ 

मन्त्री बस्नेतले यो कार्यक्रमले जनताको जिविकोपार्जनमा सुधार, राष्ट्रिय अर्थतन्त्रमा सुधार र रोजगारीको अवस्था समेत सिर्जना हुने बताए।  बाँस, सल्लो, अलैंची, अल्लो लगायतका वन पैदावरमा आधारित वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने पनि बताए। 

मन्त्री बस्नेतले सरकारले पपुलिष्ट बजेट नल्याएको स्पष्ट पारे। उनले थपे, ‘यो सरकार विगतको जस्तो ६ देखि ८ महिना मात्रैको लागि होइन, सरकारसँग बहुमत छ, हामीले पपुलिष्ट कुरा गरेका छैनौं, तर यो बजेटले नयाँ दिशा समातेको छ, समृद्धिको आधार वर्षको रुपमा बजेट आएको छ।’

विकासको लागि आफ्नो मन्त्रालय बाधक नबन्ने उनको भनाई छ। उनले भने, ‘हामी विकासको बाधक बन्दैनौं, तर वातावरणमैत्री विकास हुनुपर्छ, यसको लागि विभिन्न मन्त्रालयहरुसँग छलफल गरिरहेका छौं।’

प्रकाशित: २१ जेष्ठ २०७५ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App