coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपामा भीम रावल र लेखराज भट्टको मोर्चाबन्दी ?

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्ट ७ नम्बर प्रदेश राज्यबाट मात्रै होइन पार्टीका उपल्लो तहबाट पनि विभेदमा परेको भन्दै एकमत देखिएका छन्। 

दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि पहिलोपटक धनगढीमा आयोजित नेकपाको भेलामा बोल्दै प्रमुख अथिति रहेका रावलले पार्टी विधान र देशको संविधानमा सामाजिक न्याय, विभेद तथा शोषणको अन्त्य, समानुपातिक र समानताका आधारमा जिम्मेवारी दिइने भनिएपनि सरकार तथा पार्टी नेतृत्व पंक्तिमा व्यवहारमा ७ नम्बरको उचित प्रतिनिधित्व हुन नसकेको गुनासो गरे।

सरकार तथा पार्टी नेतृत्व पंक्तिमा व्यवहारमा ७ नम्बरको उचित प्रतिनिधित्व हुन नसकेको गुनासाे । 

७ नम्बरमाथि फेरि पनि विभेद जारी रहिरह्यो भने विद्रोह हुनसक्ने चेतावनी ।

देशभरीमै प्रदेश र जिल्लास्तरमा पहिलोपटक भएको भेला भएको दाबी गरिएको कार्यक्रममा सहभागीहरुले पार्टी एकताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको ढोका खोलेको चर्चा गरेका छन्।

नेता भीम रावल र लेखराज भट्टले कार्यकर्ताको दबाब र दुई अध्यक्षको चलाखीले पार्टी एकता सम्भव भएको बताए। नेताद्वयले विगतमा दुई पार्टी हुँदा भएका विवाद र मनमुटावलाई इतिहासमा सीमित गर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे।

रावलले ७ नम्बर प्रदेशको जलस्रोत र जडीबुटीको उचित प्रयोग गरेर समृद्धि ल्याउन प्रदेश र केन्द्र सरकारलाई आह्वान गरे। केन्द्रदेखि प्रदेशसम्म जताततै कम्युनिस्टको बहुमत भएकोले चुनावी घोषणापत्र अनुसार काम गर्नुपर्नेमा पनि उनको जोड थियो।

नेता भट्टले ७ नम्बरमाथि फेरि पनि विभेद जारी रहिरह्यो भने विद्रोह हुनसक्ने चेतावनी दिए। ‘पार्टी एकतापछि कार्यकर्ता व्यवस्थापन चुनौतीपूर्ण छ’, उनले भने– ‘नयाँ पार्टी र नयाँ सोच बनाउनका लागि पुराना पार्टीहरु भत्काइएकोमा कार्यकर्ताले ध्यान दिनु जरुरी छ।’

सो पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले न्याय र परिवर्तनको गति कसैले रोक्न नसक्ने र सही उद्देश्य र लक्ष्य भएकाले विशाल कम्युनिस्ट पार्टी बनेको चर्चा गरे। 

प्रकाशित: २१ जेष्ठ २०७५ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App