काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिन सडक खण्डमा सर्वसाधारणले पाइरहेको दुःख पूर्ण रुपमा हट्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सोमबार मुग्लिन–नारायणगढ खण्डमा १४ वटा पुलको लागि बजेट स्वीकृत भैसकेको जानकारी गराउँदै भने, ‘मैले यातायात र जनताको मर्का राम्रोसंग बुझेको हुनाले मुग्लिन खण्डमा २ बर्ष भित्रमा उक्त पुलको निर्माण सम्पन्न गरी जनताको सास्ती हटाउने कुरामा मेरो ध्यान केन्द्रित भएको छ।’
साथै मन्त्री महासेठले देशमा अब बिद्युतीय सवारी साधनको प्रचुर मात्रामा प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए। यतिले मात्र देश नबन्ने तर्क गर्दै उनले नागढुंगा–नौबिसे सुरुंग मार्ग, उत्तरी नाका केरुंगसम्मको सडक स्तरोन्नति र त्रिपुरेश्वर–माइतीघर आकाशेमार्ग अब छिटै सुरु गरिने आश्वासन दिए।
द्रुत मार्गलाई काठमाडौँको बाह्य चक्रपथसंग जोडेर राजधानीको भौतिक पूर्वाधारलाई व्यवस्थित र आधुनिक बनाइने कुरामा मन्त्री महासेठले जोड दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको व्यापार घाटा कम गर्ने र वातावारणलाई स्वच्छ कायम गरिराख्ने एक मात्र भरपर्दो उपाय विद्युतीय गाडीहरुको प्रबर्धन भएकोले नेपाल सरकारले देशलाई अब बिद्युतीय सवारी साधनतर्फ डोर्याउनुपर्नेमा सुझाव दिए।
देशको विकास र समृद्धिको लागि आधुनिक भौतिक पूर्वाधार अति आवश्यक हुने भन्दै नागढुंगा–नौबिसे खण्ड र मुग्लिन नारायणगढ खण्डको यथाशिघ्र स्तरोन्नति गर्नुपर्ने कुरामा उनको जोड थियो। साथै बिपी राजमार्गमा ठूला गाडीलाई संचालनको अनुमति दिने कुरा प्रशंसनीय रहेको र त्यसबाट आम जनता लाभान्वित हुने जिकिर गरे।
प्रकाशित: २१ जेष्ठ २०७५ १०:२७ सोमबार