७ वैशाख २०८१ शुक्रबार
अन्य

उपत्यकाभित्रकै विद्यालयमा पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बित्नै लाग्दा पनि उपत्यकाभित्रकै विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री विकास केन्द्रको बेवास्ताले पुस्तक छपाइ र वितरणमा ढिलो गर्दा त्यसको प्रत्यक्ष असर सामुदायिक विद्यालयहरूमा देखिएको हो ।

यसको ज्वलन्त उदाहरण हो, ललितपुरको डुकुछापमा रहेको चण्डीदेवी आधारभूत विद्यालय । विद्यालयमा नयाँ पुस्तक नपुगेका कारण पुराना पुस्तक र अन्य विद्यालयहरूबाट मागेर कक्षा चलाउनुपरेको विद्यालयका प्रधानाध्यापक सीताराम खड्काले जानकारी दिए । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा साम्रगी विकास केन्द्रकै हेलचेक्र्याइले कतिपय विद्यालयहरूमा पठनपाठन समेत राखिएको उनले बताए ।

उनले भने, ‘निजी विद्यालयहरूले आफ्नो बन्दोबस्त आफै गरेका हुन्छन्, सबैभन्दा गाह्रो सामुदायिक विद्यालयहरूलाई हो ।’ उनका अनुसार पाठ्यसामग्री उपलब्ध गराइदिन भन्दै विद्यालयले पटक–पटक पाठ्यक्रम विकास केन्द्रमा पत्र पठाइसकेको छ । तर, केन्द्रले छपाइमा ढिलो भएको जवाफ फर्काउँदै आएको छ ।डुकुछापमा रहेको यस विद्यालयमा दनुवार समुदायका विद्यार्थी बढी छन् ।

करिब ७५ प्रतिशत दनुवार विद्यार्थी रहेको यस विद्यालयमा पढ्न आउनेले नेपाली भाषामा पठनपाठन गराएको राम्ररी बुझ्दैनन् । विद्यालयमा नेपाली भाषामा पढाइ हुने हुँदा दनुवार विद्यार्थीलाई बुझाउन कठिन भएको प्रधानाध्यापक खड्काले जानकारी दिए । विद्यालयले अतिरिक्त कक्षा दिएर भए पनि दनुवार समुदायका विद्यार्थीलाई भाषा बुझाउने कोसिस गरेको उनले बताए । ‘सबैभन्दा समस्या सानो कक्षामा छ, एकातिर पाठ्पुस्तक आएको छैन, अर्कातिर नेपाली भाषामा लेखिएका पुस्तक पढाउन कठिन हुन्छ,’ उनले भने, ‘यसलाई हामीले बिस्तारै बुझाउँदै र सरलीकरण गर्दै जान्छौँ । तर, माथिल्लो तहले दुःख दिनुभएन ।’

अहिले यो विद्यालयमा दुई सय विद्यार्थी छन् । यसमध्ये झन्डै ७० प्रतिशत छात्रा छन् । नयाँ संविधानअनुसार स्थानीय शैक्षिक संस्था स्थानीय तहअन्तर्गत भएकाले त्यसबारे शिक्षक नै अलमलमा छन् । ‘ललितपुर साक्षर जिल्लाको रूपमा घोषणा भए पनि यहाँको शिक्षा क्षेत्रको अवस्था दयनीय छ,’ प्रधानाध्यापक खड्काले सुनाए, ‘स्थानीय तहले पनि कसरी अघि बढ्ने भनेर विद्यालयहरूसँग छलफल गरेको छैन ।’ उनले माथिल्लो तहले काम नगर्दा गाउँमा बसेर विद्यालय सञ्चालन गर्न कठिन भएको जानकारी दिए ।
त्यस्तै, ललितपुरकै कोञ्ज्योसोम गाउँपालिकामा पनि नयाँ पाठ्यसामग्री पुगेको छैन ।

गाउँपालिकाका अघिकांश विद्यालयहरूमा पुस्तक नपुगेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए । उनले आफूहरुले सक्दो पहल गरेर केही विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याए पनि ग्रामीण क्षेत्रका धैरै विद्यालयहरूमा नपुगेको बताए । ‘पाठ्यपुस्तक वितरण गर्ने काम जनक शिक्षा सामग्री विकास केन्द्रको हो,’ उनले भने, ‘पुस्तक उपलब्ध गराउन भनेर धेरैपल्ट अनुरोध ग¥यौं । तर, केन्द्रको टोली गाउँसम्म पुगेन ।’

त्यसो त पुस्तक छपाइमा ढिलो गर्ने दुवै केन्द्रको यो नौला उदाहरण भने होइन । गत वर्ष पनि केन्द्रले असार मसान्तसम्म उपत्यकाकै सरकारी विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याउन सकेको थिएन । नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्दासम्म धेरैजसो सरकारी विद्यालयहरूले निजी संघ–संस्थाले दिएको पाठ्यपुस्तकका आधारमा कक्षा सञ्चालन गर्दै आएका छन् । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले धेरैजसो विद्यालयमा पाठ्यपुस्तक पुगेको दाबी गरे । उनले विद्यालयकै कमजोरीले गर्दा पाठ्यपुस्तक नपुग्ने सम्भावना रहेको बताए । ‘पुस्तक छाप्न टिआरसी नम्बर दिने जिम्मा हाम्रो हो,’ उनले भने, ‘पुस्तक छाप्ने र वितरण गर्ने निकाय जनक शिक्षा सामग्री केन्द्र हो ।’ उनले शिक्षा क्षेत्र स्थानीय तहमा गए पनि पाठ्यपुस्तक छपाई र वितरणको काम भने एउटै रहेको बताए।

यता जनक शिक्षा सामग्री विकास केन्द्रका कार्यकारी अधिकृत महेशप्रसाद तिम्लिसिनाले सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए । उनले यो शैक्षिक सत्रमा दुई करोड पाठ्यपुस्तक छापेको र त्यसमध्ये डेढ करोड बितरण भइसकेको बताए । ‘हामीकहाँ यति धेरै पुस्तक हुँदाहुँदै पनि विद्यालयमा पुस्तक नपुग्नु दुःखको कुरा हो,’ उनले भने, ‘यसमा विद्यालयले नै पहल नगरेको हुनसक्छ, उपत्यका नजिकै विद्यालयमा यस्तो समस्या हो भने हामी त्यसबारे बुझ्छौं ।’ उनका अनुसार गत वर्ष पाठ्यपुस्तक छपाइमा केही ढिलो भए पनि यो वर्ष भने समयमै पाठ््यपुस्तक छपाईको काम सकिएको थियो ।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App