७ वैशाख २०८१ शुक्रबार
अन्य

कृत्रिम पोखरीमा माछा राखेर पूजा

रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिँदै आएको छ ।

यो यज्ञ लगनखेलको बटुक भैरव मन्दिर परिसरमा गरिन्छ । स्वर्गलोकमा सन्देश पठाउनको लागि एक जोडी परेवा आकाशमा उडाइन्छ भने पाताल लोकमा रहेका कर्कोटक नागराजलाई सन्देश दिनको लागि पोखरीमा एक जोडी माछा छोडिन्छ । परेवा छोड्न खासै समस्या छैन । तर, माछा पोखरीमा छोड्न भने ठूलै समस्या छ । किनभने जुन पोखरीमा माछा छोडिनुपर्ने हो त्यहाँ पानीको साटो फोहोर मात्रै छ।

त्यसैले यो धार्मिक काम सम्पन्न गर्न स्थानीय वासिन्दाले ट्यांकरमा पानी किनेर लगनखेलको सप्त पाताल पोखरी रहेको स्थानमा खाल्डो खनेर एक दिनको लागि भए पनि कृत्रिम पोखरी बनाएर माछा छोडेर कर्कोटक राजालाई सन्देश पठाउँदै आएका छन् । स्थानीय वासिन्दा १४ वर्षदेखि सप्त पाताल पोखरीलाई पोखरीको रूप कायम गर्न अदालत धाइरहेका छन् ।

यसैबीच, मांसाहुति यज्ञको अवसरमा सप्त पाताल पोखरी संरक्षण समितिको आयोजनामा बटुक भैरव परिसरमा भएको कार्यक्रममा सप्त पाताल पोखरीलाई पोखरीको रूपमा कायम गर्ने सम्बन्धमा विगतमा नगर पंचायत र उपमहानगरपालिका हुँदाका बखत भएका गल्तीलाई आफ्नो कार्यकालमा हुन नदिने भनेर ललितपुर महानगरपालिकामा प्रमुख चिरीबाबु महर्जनले वचन व्यक्त गरे । त्यस्तै, सासंद पम्फा भुसाल, ज्यापू समाज यलका अध्यक्ष प्रेम महर्जनलगायतले पनि सप्त पाताल पोखरीलाई पोखरीको रूपमा कायम गर्न आफूहरूको पनि सहयोग हुने बताए।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App