८ वैशाख २०८१ शनिबार
अन्य

भवन सम्पदामैत्री गराउन आग्रह

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको ‘बफर जोन’मा महर्जन विजनेस कम्प्लेक्सले ऐनलाई मिच्दै भवन बनायो । प्राचीन स्मारक ऐनले दिएको मापदण्डलाई मिच्दै बेसमेन्टको निर्माण र ३५ फिट अग्लो बनाएपछि सम्पदा बचाउ अभियान समूहले सरोकारवाला निकायलाई मापदण्ड कायम गराउन आग्रह गर्याे ।

तर, सरोकारवाला निकायले पनि पार लगाउन भूमिका खेलेन । जसले गर्दा यो विषय अहिले सर्वोच्च अदालतसम्म पुगेको छ । सम्पदा प्रेमीहरूले नै सम्पदालाई बचाउनुपर्ने भन्दै अदालतसम्म पुगेका हुन् । यसरी सम्पदा क्षेत्रलाई जोगाउन लागेका सम्पदाप्रेमीहरू अहिले विश्व सम्पदा क्षेत्रमा पर्ने कोर जोन र बफर जोनमा सम्पदामैत्री भवन बनाउनुपर्ने माग थालेका छन्।

वसन्तपुरसँगै जोडिएको महर्जन कम्प्लेक्सले मापदण्ड मिचेर बेसमेन्ट राखेको छ । यो बेसमेन्ट र हनुमानढोका राजदरबारको मल्लाकालीन भण्डारखाल राज ढुकुटीको दूरी नजिकै छ । पुरातात्वविद् सफाल्य अमात्यका अनुसार यसरी मापदण्ड मिचेर भवन गरिँदा कुनै दिन ढुकुटीमै समस्या नआउँला भन्न सकिन्न । ‘बेसमेन्टबाट सुरुङ खन्ने हो भने ढुकुटी सजिलै पुग्न सकिन्छ,’ अमात्यले भने, ‘यहाँ महŒवपूर्ण सामग्री रहेको हुँदा यस्तो नहोला पनि भन्न सकिन्न ।’ उनका अनुसार यो भवन सम्पदामैत्री बनाउन अहिले नै सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

मखनमा रहेको सुरज आर्केडले २०४८ सालतिर मापदण्ड विपरित बनाइएको भवन माथिल्लो तला भत्काइएको उदाहरण दिँदै संरक्षणविद् तेजरत्न ताम्राकार अहिले भइरहेको मापदण्ड विपरितका भवनहरू सम्पदामैत्रि बनाउनुपर्ने बताउँछन् ।
‘महर्जन कम्पलेक्सको बेसमेन्टका कारण हनुमान क्षेत्रमा रहेको नागपोखरीमा समेत पानी सुकेको छ,’ उनले भने, ‘यसरी बन्दै गरेका मात्रै नभएर अब बन्ने तथा पुनर्निर्माण हुने सम्पदा क्षेत्रका सबै भवन सम्पदामैत्रि हुनुपर्छ ।’ ऐनलाई मिचेर मनपरी ढंगबाट भवन निर्माण गर्नेलाई कारवाही समेत हुनुपर्ने ताम्राकारको भनाइ छ

सोसाइटी अफ नेपालिज आर्किटेकले पनि प्राचीन स्मारक संरक्षण ऐन २०१३ को मापदण्डलाई मिचेर महर्जन बिजनेस कम्प्लेक्स बनाउनुु गलत भएको भन्दै खेद प्रकट गरेको छ । ‘सम्पदा जोगाउनु सबैको दायित्व हो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐनलाई मिचेर नक्सा स्वीकृत गर्नेलाई पनि कारवाही गरिनुपर्छ ।’त्यसैगरी पुरातत्वविद् विष्णुराज कार्कीले कुमारी मन्दिरलाई मिचेर समेत भवन बनाएको भन्दै मापदण्ड कायम गराउन अनुरोध गरेका छन् ।

सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले भने महर्जन बिजनेस कम्प्लेक्सलाई मापदण्डमा ल्याएर त्यसलाई नजिर बनाउँदै मापदण्ड विपरित बन्दै गरेका तथा बन्ने भवनको सम्पदामैत्रि स्वरूप कायम गरिने बताएका छन् । ‘महर्जन कम्प्लेक्सको भवनले मिचेको मापदण्डलाई मापदण्डभित्र ल्याउनुपर्छ,’ उनले भने, ‘त्योसँगै कोर र बफर जोनमा सम्पदामैत्रि भवन बनाउने काम थालनी हुनेछ ।’ उनका अनुसार सम्पदा क्षेत्रमा बन्दै गरेका तथा अब बन्ने भवनमा पुरातात्व विभाग र स्थानीय तहले मापदण्डलाई पूर्ण रूपमा कार्यान्वयन गराउनुपर्ने बताएका छन्।

यता पुरातत्व विभाग भने महर्जन कम्प्लेक्सबारे केही बोल्न नमिल्ने बताउँछ । ‘यो भवनको अनुसन्धान अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ,’ विभागका प्रवक्ता राम कुँवरले भने, ‘यो विषय अदालतमा पनि बहसमा रहेकाले हामीले केही बोल्न मिल्दैन ।’ उनका अनुसार अदालतको फैसला अन्तिम हुनेछ ।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App