बागलुङ – एकहप्ते आइटिएफ तेक्वान्दो ट्रेनिङ सेमिनार बुर्तिबाङमा शनिबारबाट सुरु भएको छ। पश्चिमाञ्चल तेक्वान्दो संघ र नेपाल (आइटिएफ) राष्ट्रिय ब्ल्याक बेल्ट समितिको संयुक्त आयोजनामा भएको सेमिनारमा बागलुङसहित छिमेकी जिल्ला गुल्मी, कास्की र नवलपरासीका करिब एक सय खेलाडीको सहभागिता रहेको छ।
सेमिनारलाई कोरियाली सिनियर मास्टर जे चुङ होले प्रशिक्षण गरिरहेका छन्। तेक्वान्दोका आठाैं डान होले एक हप्तासम्म खेलाडीलाई स्पाइरिङ, प्याटर्न, टेक्निक्स तथा पावर ब्रेकिङलगायतको विषयमा प्रशिक्षण दिनेछन्।
पश्चिम बागलुङ आइटिएफ तेक्वान्दोको उर्वर भूमि भएकाले यो क्षेत्रमा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकको उपस्थितिमा सेमिनारको आयोजना गरिएको पश्चिमाञ्चल तेक्वान्दो संघका सचिव तथा नेपाल (आइटिएफ) राष्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष घमबहादर थापाले जानाकारी दिए।
बागलुङ जिल्लाबाट करिब ५ सय खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरेका छन्। बुर्तिबाङमा ३ पटक व्यवसायिक राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता र समय–समयमा जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिता सम्पन्न हुने गरेका छन्। सेमिनार २५ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: २१ जेष्ठ २०७५ ०५:०३ सोमबार