coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ट्यांकर चालक हडतालमा


काठमाडौं - पेट्रोलियम पदार्थ ढुवानी गर्दा विभिन्न बहानामा भारतीय प्रहरीले कुटपिट गरेको भन्दै ट्यांकर चालक हडतालमा उत्रिएका छन् । सुरक्षा माग गर्दै करिब पाँच सय ट्यांकर चालकले आइतबार रक्सौल–अमलेखगन्ज, काठमाडौं, पोखरा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गरेनन्।

अमलेखगन्ज, थानकोट, पोखरा डिपोबाट पनि चालकले पेट्रोल, डिजेल, मट्टीतेल ढुवानी नगरेपछि त्यसको असर उपभोक्तामा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट इन्धन भरेर आएका चालकलाई भारतीय भूमीमा पटक–पटक हातपात गरेकाले सरकारको ध्यानाकर्षण गर्न ढुवानी रोकेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।आइओसीमा तेल लिन गाडी लिएर जान सक्ने अवस्था नभएर सरकारलाई दबाब दिन बिरोध गर्नुपरेको मजदुर संगठन रक्सौल एकाइका अध्यक्ष पशुपति पाठकले बताए ।

‘इन्धन लिएर आउँदा सीमापरि करिब २१ किलोमिटर जाममा बस्नुपर्छ,’ पाठकले भने, ‘जाममा परेका ट्यांकर चालकले ओभरटेक गरेको बहानामा भारतीय प्रहरीले पटक–पटक कुटपिट गरेकाले बाध्य भएर अप्रिय निर्णयमा पुगेका हौं ।’ भारतीय प्रहरीको ज्यादति रोक्न नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने पाठकले बताए । ‘सुरक्षाको ग्यारेन्टी नहुँदासम्म ट्यांकर चलाउन सक्दैनौं,’ पाठकले भने । मजदुरले भारतीय प्रहरीको ज्यादति रोक्न माग गरेका छन् ।शनिबार बिदा भएकाले निगमले पम्पलाई इन्धन दिएन । आइतबार चालकले हडताल गरेपछि आइतबार उपत्यकामा पेट्रोल, डिजेलको अभाव देखिएको छ । कतिपय पम्पले ‘डिजेल, पेट्रोल छैन’ लेखिएका बोर्ड झुन्डाएका थिए ।

स्टक रहेको पेट्रोल, डिजेल बिक्री गरिरहेका पम्पमा पनि तेल भर्ने उपभोक्ताको लामो लाइन थियो । शनिबार रातिबाट निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । मूल्य बढाएर पनि तेल भर्न नपाउँदा लाइनमा बसेका उपभोक्ता आक्रोशित थिए । ‘मनपरी ढंगले मूल्य बढाएर पनि सहज आपूर्ति नगर्नु सरकारको लापर्बाही हो,’ सुन्धाराको पेट्रोल पम्पमा बसेका मोटरसाइकल चालक प्रमोद रिजालले भने, ‘पेट्रोल भर्न पनि पम्प चाहार्नुपर्ने ?करिब दुई हजार किलोलिटर डिजेल, पेट्रोल लिएर थानकोट आइपुगेका ट्यांकरले पनि डिपोमा तेल खन्याएनन् । चालकले एक सातादेखि गुनासो गर्दै आएको निगमको थानकोट डिपोका प्रमुख नेत्र काफ्लेले बताए । ‘जीउ, धनको सुरक्षा गर्न चालकले माग गर्दै आएका थिए,’ काफ्लेले भने, ‘आइतबारबाट ढुवानी नै रोकर दबाब दिए ।’

ट्यांकर चालकले ढुवानी गर्न नमाने पनि निगमले उपत्यकामा नेपाली सेना, प्रहरी, साझाका पम्पलाई करिब ५० हजार लिटर पेट्रोल पठाएको थियो । ‘निगमका दुई ट्यांकरबाट उपत्यकाका विभिन्न पम्पमा इन्धन पठाएका छौं,’ काफ्लेले भने, ‘समस्या समाधानको लागि पहल भइरहेको उनले बताए ।’ थानकोट आएको इन्धन डिपोमा खन्याउन आग्रह गर्दा पनि चालकले अटेर गरेको उनले बताए । ‘चालकको सुरक्षा गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘इन्धन ढुवानी रोक्नु राम्रो भएन ।’
उपत्यकामा दैनिक करिब साढे पाँच लाख लिटर पेट्रोल र साढे सात लाख लिटर डिजेल खपत हुन्छ ।

बरौनीबाट रक्सौल हुँदै दैनिक करिब दुई हजार किलोलिटर पेट्रोलियम पदार्थ भित्रिन्छ । सुरक्षा ग्यारेन्टीको लागि भारतीय दूतावासमार्फत पहल भइरहेको निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदिप यादवले बताए । ‘सहज रुपमा ढुवानीको वातावरण बनाउन चालकसँग पनि वार्ता गरिरहेका छौं,’ यादवले भने, ‘समस्या समाधान नहुँदासम्म रक्सौलको विकल्पमा जनकपुरबाट ढुवानी गर्न चालकले माग गरेका छन्।’

चालकको हडताल निरन्तर रहे उपभोक्ताले थप सास्ती खेप्नु पर्नेछ । अति आवश्यक वस्तु इन्धनको हडतालमा उत्रिनु गलत भएको सरोकारवाला बताउँछन् । चालकको समस्या तुरुन्त समाधान गरेर ढुवानीको व्यवस्था गर्नुपर्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंका महासचिव विश्व अर्यालले बताए । ‘पेट्रोलियम पदार्थको अभाव हुन नदिन सरकारले पहल गर्नुपर्छ,’ अर्यालले भने ।

दुई पेट्रोल पम्पमा सिल
यसैबीच, नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोल पम्पको अनुगमन सुरु गरेको छ । अनुगमनको क्रममा उपभोक्तालाई कम परिणाम पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै राजधानीका दुई पम्पमा सिल गरेको छ । विभागले हरिसिद्धि आयल स्टोर र कनक ट्रेड सेन्टरमा सिल गरेको हो ।हरिसिद्धि आयल स्टोर–शान्तिनगर चोक, थ्री ब्रदर्स आयल स्टोर–बानेश्वर, सीता केयर प्रालि–कालिमाटी, कनक ट्रेड सेन्टर–टेकु र नेवाः टेड कन्सर्न–ढल्कोमा अनुगमन गरेको थियो।

हरिसिद्धि पाँच लिटरमा ३० मिलिलिटर र कनकमा पाँच लिटरमा ४५ मिलिलिटरसम्म कम भेटिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने सानो परिणाममा मानवीय र मेसिनरी त्रुटि हुन सक्ने बताए । ‘व्यवसायीको नियत खराब होइन,’ प्रधानले भने, ‘कहिलेकाँही उपकरणमा समस्या हुन सक्छ ।’

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App