१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा – जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ।

मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थायी करार र राहत दरबन्दी वितरण गरी धेरैको नियुक्तिसमेत गरिएको शिक्षा कार्यालयकै कर्मचारीहरूले खुलासा गरेका छन्।

साविक जिल्ला शिक्षा कार्यालयका धेरै अधिकार स्थानीय तहमा गएकाले शिक्षा कार्यालयबाट गरिँदै आएको शिक्षक सरुवा, नियुक्ति लगायतका काममा सरकारले गत चैत २१ गतेदेखि रोक लगाएको थियो।

शिक्षा मन्त्रालयको निर्देशनविपरीत वैशाख अन्तिम हप्तामात्रै बारामा अस्थायी करार र राहत दरबन्दी वितरण गरी धेरैको नियुक्तिसमेत गरिएको शिक्षा कार्यालयकै कर्मचारीहरूले खुलासा गरेका छन्।

तर यसविपरीत शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाराले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा रहेका अस्थायी करार तथा राहत दरबन्दी एक विद्यालयबाट अर्काे विद्यालयमा वितरण गरी शिक्षकहरू नियुक्तिसमेत गरेको शिक्षा कार्यालयकै असन्तुष्ट कर्मचारीहरूको आरोप छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा कार्यालयका पदाधिकारीहरूले आर्थिक लाभ लिएर पुरानो मिति कायम गरी शिक्षक दरबन्दी वितरण तथा शिक्षक नियुक्ति गरेको उनीहरूको आरोप छ।

आदर्शकोतवाल गाउँपालिकाको बेलवामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अस्थायी करार दरबन्दीमा हालै अबु अन्सारीलाई नियुक्ति गरिएको शिक्षा विकास तथा समन्वय एकाइको विद्यालय प्रशासन शाखाले जनाएको छ। नियुक्ति गरिएका अन्सारीका सबै कागजातमा पहिलाको शिक्षा कार्यालयले पुरानो मिति राखेको पाइएको छ।

यस्तै पुरानै मिति राखेर अस्थायी करारमा नियुक्ति दिइएका प्रावि शिक्षक चन्देश्वरप्रसाद केशरीलाई कलैया उपमहानगरपालिका–१२ मा रहेको नेपाल निम्न माध्यमिक विद्यालयमा हाजिर गराइएको बताइएको छ। उनको कागजपत्र गुपचुप राखिएको आरोप छ।

पचरौता नगरपालिकाको श्रीनगर बैरियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय राहत दरबन्दी एक महिना अघि कट्टा गरी अर्काे विद्यालयलाई दिइएको विद्यालय व्यवस्थापन समितिका निवर्तमा अध्यक्ष रामबाबु यादवको आरोप छ। आफ्नो विद्यालयको दरबन्दी बिना सहमति भित्रभित्रै सिम्रौनगढ नगरपालिकाको खजानीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई दिइएको पाइएकाले विरोध गरिएको उनको भनाइ छ।

यस्तै सिम्रौनगढ नगरपालिकको देवापुरटेटामा रहेको हनुमान प्राथमिक विद्यालयमा पनि हालै दरबन्दी वितरण गरिएको बताइएको छ। त्यसैगरी महागढीमाई नगरपालिकाको तेलगाईमा रहेको नेपाल राष्ट्रिय निम्न विद्यालयलाई प्राप्त भएको दरबन्दीमा पनि हालै एक जनालाई नियुक्ति गरिएको विद्यालयका प्रधानाध्यापक अवधकिशोर साहले जानकारी दिए।

शिक्षा विकास तथा समन्वय एकाइका विद्यालय प्रशासन शाखा प्रमुख विद्यानन्द यादवले धेरै सामुदायिक विद्यालयमा पहिलादेखि रहेका अस्थायी करार र राहत दरबन्दी कट्टा गरी अर्काेमा वितरण गरिएको जानकारी आएको बताएका छन् । यसरी दरबन्दीमा नियुक्ति गरिएका शिक्षकहरूको कागजपत्र शिक्षा अधिकारी लालबाबु साह आफैले राख्ने गरेको उनको आरोप छ । यस्तै हालै अनौपचारिक शिक्षाका ४० कोटा पनि गुपचुप तरिकाले वितरण गरिएको नाम नबताउने सर्तमा एक विद्यालयका पं्रधानाध्यापकले दाबी गरेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लालबाबु साहले भने जिल्ला समन्वय समितिबाटै निर्णय गराएर केही अस्थायी करार र राहत दरबन्दी कोटा अर्काे विद्यालयमा वितरण गरिएको बताएका छन्। दरबन्दी धेरै रहेका तर विद्यार्थी थोरै भएका केही विद्यालयको मात्रै दरबन्दी कट्टा गरिएको उनको भनाइ छ। कतिपय विद्यालयले शिक्षा विकास तथा समन्वय एकाइको नक्कली लेटरप्याड प्रयोग गरेर शिक्षक नियुक्ति गरेको थाहा हुन आएकाले त्यसबारे अनुसन्धान भइरहेको एकाइ प्रमुख साहले बताए।

शिक्षा मन्त्रालयले रोक्का गरेको शिक्षक दरबन्दी वितरण, नियुक्ति र अभिलेख कायम लगायतका काम पुरानो मिति राखेर गरिएको बारे प्रश्न गर्दा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले आफू वैशाख अन्तिम साता विदामा रहेकाले यसबारे आफूलाई थाहा नभएको बताएका छन्।

प्रकाशित: २१ जेष्ठ २०७५ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App