७ वैशाख २०८१ शुक्रबार
समाज

चार ठेकेदारलाई लिखत गराएर छाडियो

इटहरी – जिल्ला प्रशासन कार्यालयले ठेक्का सम्झौताअनुसार काम नगर्ने सुनसरीका १८ जना ठेकेदारको नाम र उनीहरूले जिम्मा लिएका योजनाको सूची गृहमन्त्रालय पठाइएको छ। त्यस्तै केही काम गरेपछि सम्पर्कमा नआएका चार ठेकेदारलाई पक्राउ गरी असार मसान्तभित्र योजना पूरा गर्ने लिखित प्रतिबद्धता गराएर छाडिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्ला हुलाक कार्यालय सुनसरीको भवन निर्माण गर्ने जिम्मा पाएको एचएम बिल्डर्स प्रालि इनरुवाका हसबुल मियालाई असार मसान्तसम्म काम सक्ने सर्तमा लिखित प्रतिबद्धता गराएर छाडिएको हो। मियाले लिखित प्रतिबद्धतामा उल्लेख छ, ‘असार मसान्तभित्र काम सक्नेछु, नत्र सरकारको आदेशबमोजिम हुने कारबाही भोग्न तयार छु।’ उनले अहिलेसम्म ६० प्रतिशत काममात्र पूरा गरेका छन्।

धरान–१२ को वडा कार्यालय निर्माण जिम्मा लिएका भूमि ओम पञ्चकन्या जेभी विराटनगरका ठेकेदार अनोज भट्टराई र बर्जु गाउँपालिकाको चिमडी स्वास्थ्यचौकी भवन निर्माण जिम्मा लिएका जय बाबा/बिटी/सराजुदिन जेभीका ठेकेदार सराजुद्दिन मिया पनि असार मसान्तभित्र काम सक्ने लिखित प्रतिबद्धता गरेपछि छुटेका छन्। भट्टराईले अहिलेसम्म ३५ प्रतिशत र सराजुद्दिनले ८० प्रतिशत काम गरेका छन्। त्यस्तै रामगञ्ज सिनुवारीकै हेल्थपोस्ट भवन निर्माणको जिम्मा लिएका टौदह/सराजुदिन जेभीका ठेकेदार पनि असार मसन्तभित्र काम सक्ने लिखित प्रतिबद्धतापछि छुटेका छन्। यो भवनको काम ८० प्रतिशत पूरा भएको छ।

यस्तै, धरानको सडक, ढल निर्माणको जिम्मा पाएको देव एन्ड सेयर÷भूमि जेभीका ठेकेदार सुभम बोहोराको पनि खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। उनका अुनसार, बोहोराले ८० प्रतिशत काम पूरा गरेका छन्। बाँकी काम गर्न छाडेर सम्पर्कमा नआएको उनेको खोजी थालिएको भण्डारीले बताए।

जिल्लाभर सञ्चालित विकास–निर्माणका योजनामा ठेकेदारको लापरबाही देखिएको छ। स्थानीय तह, सहरी विकास तथा डिभीजन कार्यालय र जिल्ला हुलाकले सम्झौता अवधिमा काम सम्पन्न नगर्ने १८ जना ठेकेदारको सूची प्रशासन कार्यालयमा बुझाएका छन्। ती नाम गृहमा पठाइएको छ । पटकपटक ताकेता गर्दा सडक डिभिजन कार्यालयबाट ठेक्का लागेका योजनाको सूची र ठेकेदारको नाम प्रशासन कार्यालयले पनि नपाएको सहायक प्रजिअ भण्डारीले बताए। ‘सूची प्राप्त ठेकेदारमध्ये पाँचजनाको कार्य प्रगति कमजोर छ। चार जनालाई असार मसान्तसम्म काम सक्ने लिखित प्रतिबद्धता गराइएको छ, एकजना फरार छन, अरुलाई बेलैमा सक्नेगरी काम गर्न मौखिक निर्देशन दिइएको छ,’ उनले भने।

प्रकाशित: २१ जेष्ठ २०७५ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App