८ वैशाख २०८१ शनिबार
अर्थ

धनुषाको कुर्थामा वैकल्पिक सुक्खा बन्दरगाहको सम्भावना

सुक्खा बन्दरगाह बनाउन भनिएको जनकपुर नजिकको निर्माणाधीन कुर्था रेल्वे स्टेसन । तस्बिर : रितेश- नागरिक

वीरगन्ज - वीरगन्जस्थित सुक्खा बन्दरगाहको संरचनाले अबको बढ्दो आयातलाई धान्न नसक्ने देखिएपछि धनुषाको कुर्थामा नयाँ सुक्खा बन्दरगाह बनाउने विषय अगाडि बढाइएको छ।

जयनगर–बर्दिवास निर्माणाधीन रेल्वेलाइनमा जनकपुरको रामानन्द चोकदेखि तीन किलोमिटर पश्चिममा पर्छ कुर्था रेल्वे स्टेसन । स्टेसनसँगै जोडिएर पर्याप्त मात्रामा खाली जग्गामा उक्त सुक्खा बन्दरगाह बनाउने कुरा अघि सारिएको हो । त्यहाँ सुक्खा बन्दरगाह बनेपछि बागमति पारीका पूर्वका जिल्लाहरुमा व्यापार तथा उद्योगलाई सहज मात्र हुने छैन त्यहाँ नयाँ औद्योगिक लगानीको आधार पनि तयार हुने बताइएको छ।

‘कुर्थामा सुक्खा बन्दरगाह बनाउन सकिने राम्रो सम्भावना हामीले देखेका छौं, चर्चा अगाडि बढिसकेको छ, यसलाई औपचारिक रुपमा नेपाल सरकार, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र प्रदेश सर्mत यसलाई प्रस्तावको रुपमा अगाडि लैजाने तयारीमा छौं,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले भने, ‘संघीय सरकारले यसलाई सकारात्मक रुपमा ग्रहण गरिदिनु पर्छ, भारतीय पक्षको सहमति र प्रदेश सरकारको सहजीकरण यसमा चाहिएको छ ।’ प्रदेश २ को उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले आफूहरुले विभिन्न तहमा यसलाई मागको रुपमा अघि सारेको बताए ।

‘नेपाली आयातको आकार ठूलो हुँदै गएको छ । तेस्रो मुलुकबाट नेपाल आउने कार्गो र भारतबाट आउने बल्क कार्गो तथा ब्रेक बल्क कार्गो रेल्वेमार्फत ढुवानी बढ्नु स्वभाविक रुपमा व्यापारमा लागत र समय बचतका दृष्टिकोणले महŒवपूर्ण छ,’ भारतीय रेल्वेको ढुवानी प्रणाली सञ्चालन गर्ने उसको भगिनी संस्था भारतीय कन्टेनर निगम (कन्कोर)का पूर्वक्षेत्रीय महाप्रबन्धक रथेन्द्र रमनले नागरिकसित भने, ‘नेपालमा रेल्वे जोडिको अर्को सुक्खा बन्दरगाहको रुपमा कुर्था स्टेसनबारे विचार भइरहेको हामीले पनि जानकारी पाएका छौं । सो ठाउँमा ‘आइसिडी’ (इन ल्यान्ड कन्टेनर डिपो) अर्थात सुक्खा बन्दरगाह बनाउन मिल्ने जग्गा र सम्भाव्यता रहेको बुझिएको छ।’

नेपालमा यसअघि वीरगन्जमा सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएर आर्थिक वर्ष ०६१-६२ देखि सञ्चालनमा आएको छ । क्षमताको अधिकतम प्रयोग हुने गरी वीरगन्ज सुक्खा बन्दरगाहबाट अहिले कारोबर भइरहेको छ । यसपछि बिराटनगर, भैरहवामा र नेपालगन्जमा यस्तै सुक्खा बन्दरगाह निर्माणको योजना कार्यान्यवन भइरहेको वाणिज्य मन्त्रालयका सहसचिव रवि सैंजुले बताए । ‘सुक्खा बन्दरगाह बनाउनका लागि सबभन्दा पहिले त्यसको उपयोग कतिको हुन्छ भन्ने कुरा हेर्नु पर्ने हुन्छ,’ सैंजुले भने, ‘कुर्थाको विषयमा सुनेका छौं, औपाचारिक रुपमा प्रस्ताव आइसकेको छैन ।’

कुर्था पूर्व पश्चिम राजमार्गको ढल्केबारदेखि करिब ३० किलोमिटर दक्षिणमा पर्छ । त्यहाँ जयनगर–बर्दिवास रेल्वे लाइन निर्माणको काम अगाडि बढिसकेको छ । उक्त ठाउँमा नजिकमा बस्ती नभएकाले अहिलेसम्म समस्याको रुपमा रहेको ‘डस्टी कार्गो’का लागि पनि यार्ड बनाउन मिल्ने देखिन्छ । त्यस्तै अन्य कार्गो आयातमा पनि त्यहाँ सुक्खा बन्दरगाह बन्यो भने सहज हुने व्यापारी बताउँछन् । वीरगन्ज सुक्खा बन्दरगाहको भार कम गर्न तथा बागमतिदेखी कोशीसम्मको भूभागमा नयाँ औद्योगिक लगानीको वातावरण तयार गर्न र व्यापार व्यवसाय बढाउन उक्त ठाउँमा सुक्खा बन्दरगाह बन्दा सघाउ पुग्ने उनीहरुको धारणा छ।

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App