coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुकिलुम्बामा १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ गरिँदै

सोमबार परीक्षण उडान गर्न तयार पारिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल । तस्बिर : नागरिक

इलाम– विस २०५८ सालमा निर्माण प्रक्रिया सुरु भएको सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा १६ वर्षपछि ‘टेस्ट फ्लाइट’ गरिने भएको छ। सोमबार बिहान करिब साढे १० बजे तारा एयरको ट्वीनअटर विमान सुकिलुम्बा विमानस्थलमा ‘ल्यान्ड’ गर्ने भएको हो। 

सोमबारको परीक्षण उडानका लागि विमानस्थल तयार पारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान अवतरण र उडानका लागि विमानस्थलमा चुनको संकेतसमेत तयार पारिएको प्राधिकरणका इन्जिनियर पुष्प नेउपानेले बताए। ‘भोलि बिहानसम्म वर्षा भएन भने टेस्ट फ्लाइट सफल हुन्छ,’ उनले आइतबार साँझ भने, ‘पानी प¥यो भने सम्भव छैन।’ तारा एयरको १९ सिटे ट्वीनअटर विमानमा चालक दलका २ सदस्य, २ सिभिल इन्जिनियर र १ एयर ट्राफिक कन्ट्रोलर (एटिसी) आउने छन्। विमानस्थलसँगको सम्पर्कका लागि टावर नभएको अवस्थामा चालकले काठमाडौंसँगको सम्पर्कका लागि पोर्टेवल भिएचएफ (टावर नहुने स्थानमा प्रयोग गरिने सञ्चार यन्त्र) प्रयोग गर्ने उनले बताए। 

काठमाडौंबाट सुकिलुम्बासम्म विमान आउन १ घन्टा लाग्ने अनुमान छ। आएको विमान अवस्था हेरेर १० मिनेटदेखि बढीमा आधा घण्टासम्म रहन सक्ने र फर्किने उनले जनाए। ‘औपचारिक कार्यक्रम चाहिँ केही छैन, टेस्ट फ्लाइट प्राविधिक परीक्षण मात्रै हुनेछ,’ उनले भने। तर, निर्माणाधीन मैदान कच्ची भएकाले पानी पर्नेबित्तिकै हिलो हुने गरेको छ। यसअघि पनि पटक–पटक परीक्षण उडान गर्न खोज्दा मौसमले नै साथ दिएको थिएन।

६ सय ८० मिटर रनवे र ३० मिटर चौडाई रहेको यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त हुने इन्जिनियर नेउपानेले जनाए। ‘अहिले विमानस्थल ८ प्रतिशत स्लोभ (एकापट्टिबाट अर्कापट्टिको उचाई ४५ मिटर अग्लो) छ,’ उनले भने, ‘हुन त पूर्ण रूपले सीधा मैदान बनाउनुपर्ने हो तर यसलाई भौगोलिक अवस्थाअनुसारको बनाइएको छ।’ विमानस्थलको उडान र अवतरण हुने विन्दुलाई प्राविधिक भाषामा ‘०८÷२६’ नामाकरण गरिएको छ। पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गइ विमान मैदानमा बस्ने र विपरीत दिशाबाट उडान गर्ने तयारी भएको उनले जनाए। 

अहिले कच्ची अवस्थामा रहेको विमानस्थल आउँदो वर्ष ग्राभेल गर्ने योजना प्राधिकरणको छ। चालू आर्थिक वर्ष विमानस्थलको रनवेका लागि १० करोड र तल्लो भागमा सडक बनाउन ७ करोड रुपैयाँको काम भइरहेको छ। विमानस्थलका लागि अहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइरहेको प्राधिकरणले जनाएको छ। ‘रनवेलाई नालीसहित कालोपत्रेसम्मको अवस्थामा पु-याउन अब १५ करोड रुपैयाँ लाग्नसक्छ,’ इन्जिनियर नेउपानेले भने, ‘टर्मिनल भवन बनाउन र सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।’ 

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। २०५८ सालमा यहाँ विमानस्थल निर्माण प्रक्रिया शुरु भएको थियो। त्यसको ९ वर्षपछि शिलान्यास भएपनि बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ। विमानस्थल बनाउन स्थानीयस्तरबाट जग्गा उपलब्ध गराइएको हो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। 

जग्गा खरिद गर्न इलाममा घरलौरी चन्दासमेत उठाइएको थियो। जिल्लाबासीबाट पनि प्रतिव्यक्ति एक हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया“ खर्च भएको थियो। यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्।

प्रकाशित: २० जेष्ठ २०७५ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App