८ वैशाख २०८१ शनिबार
राजनीति

जमिन्दार कम्युनिस्ट

घरमा नपुग्दो केही थिएन । आमा÷बुवादेखि दाजुभाइ र भएभरका सबै नातागोता, आफन्त नेपाली कांग्रेस समर्थक । कतिपय त कम्युनिस्टको ‘क’ पनि सुन्न नचाहने । राजनीतिक दलको सदस्य बन्दा जोखिम उस्तै।

त्यस्तो बेला कम्युनिस्ट कार्यकर्ता बन्न कम्तिमा साहस र आँट चाहिन्थ्यो । अहिलेको जस्तो कम्युनिस्ट पार्टीको सदस्यता पाउन त्यति सजिलो पनि कहाँ थियो र ? पञ्चायतकालीन समयमा कम्युनिस्ट पार्टीको सदस्यता लिएकै कारण जेल जानुपर्ने मात्र नभई मारिन सक्ने खतरा त्यत्तिकै हुन्थ्यो।

कम्युनिस्ट बन्दा अनेक समस्या र जोखिमले चुनौतीको चाङ लाग्ने भए पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलाई यस्ता चुनौतीबारे कहिलै मतलब भएन । उनलाई केवल चासो थियो त सच्चा कम्युनिस्ट कार्यकर्ता कसरी बन्ने भन्नेबारे।

तत्कालीन शासकबाट हुने खतरा, डर र त्रासलाई बेवास्ता गर्दै निरन्तर सक्रिय भएका कारण यतिखेर महासेठ राजनीतिमा सफल व्यक्तिको रूपमा दरिएका मात्र छैनन् । विगतमा कम्युनिस्टसँग तर्कने र कम्युनिस्ट पार्टीको सदस्यता लिएकै कारण हेप्ने आफन्त र नातागोता यतिखेर उनले बोकेको विचारमा समाहित हुँदै लयबद्ध भइरहेका छन् ।

जोखिमपूर्ण मानिएको कम्युनिस्ट राजनीतिले महासेठलाई जीवनमा एकपछि अर्को सफलता र खुसी दिँदैछ । विगतमा उनले सही विचार बोकेका रहेछन् भन्ने आवाज ठूलो हुँदैछ । गाउँ÷सहरमा उनलाई सम्मान गर्नेको संख्या बढ्दो छ ।
धनुषाको मिथिलेश्वरमा जन्मेका महासेठका सबै आफन्तले जनकपुरमा शिक्षादिक्षा लिए । तर, सानैदेखि फरक सोच र फरक काम गर्ने उनको  रोजाइमा भने खजुरीको केएसएचएसबी माध्यमिक विद्यालय पर्यो । ‘के कारणले मैले त्यो विद्यालय छनोट गरेँ भन्नेबारे अझै पनि राम्रो याद छैन,’ उनले भने, ‘तर, त्यही विद्यालयमा अध्ययन गर्दा भने मलाई कम्युनिस्ट बन्न प्रेरित ग¥यो ।’ महासेठले कक्षा तीनदेखि एसएलसीसम्म खजुरीको सोही विद्यालयमा अध्ययन गरेका थिए ।

खजुरीमै भेट भएकी सुरनाथ रानी यादवको सम्पर्कले उनी कम्युनिस्ट भएका हुन् । सुरनाथ रानी त्यतिबेला खजुरी क्षेत्रको तत्कालीन कम्युनिस्ट समूह चौमको चल्तापुर्जा नेता थिइन् । सुरनाथ रानी त्यतिबेला कम्युनिस्ट विस्तारमा लागेकी मात्र नभई समाजमा रोलमोडल नारीसमेत भएकाले पनि महासेठ प्रभावित हुनु स्वाभाविक थियो ।
उनी भन्छन्, ‘खजुरीमा सुरनाथ रानीसँगको भेटले म जसरी प्रभावित थिएँ । त्यसरी नै त्यो क्षेत्र पनि कम्युनिस्ट गढको रूपमा चिनिन्थ्यो ।’ त्यसमा तत्कालीन पञ्चायती शासकले जनतालाई दिने पीडा तथा मजदुर, श्रमिकका समस्या देख्दा खाँटी कम्युनिस्ट बन्न सघाउ पुर्याएको महासेठको भनाइ छ । आजपर्यन्त महासेठ सुरनाथ रानीलाई नै आफ्नो राजनीतिक गुरु मान्छन् ।

२०२८ तिरै तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्य भइसकेपछि महासेठको राजनीतिमा झनै सक्रियता बढ्यो । ‘सुरनाथ रानीसँग भेट भइसकेपछि भूमिगत पार्टीका लागि विभिन्न नेताले लेखेका चिठी आदान–प्रदानमा सघाउन थालेँ,’ उनले पुराना दिन सम्झिए, ‘कक्षा ६ मा पढ्दै थिएँ । चिठी आदान–प्रदान गरेर कम्युनिस्ट पार्टीलाई सहयोग पु¥याइरहेकोबारे तत्कालीन शासकले थाहा पाएछन् । र, सोही कारण मलाई पक्रेर १३ दिन थुनामा राखियो ।’
११ वर्षको उमेरमा थुनामा पर्दा पनि महासेठ बिचलित भएनन् । ‘१३ दिनको पक्राउले बिचलित हुने कारणै थिएन,’ उनले भने, ‘किनकि कम्युनिस्ट बन्ने मेरो रोजाइ थियो । मेरो खुसी र चाहना थियो ।’ पञ्चायती शासकले थुनामा राखेर महासेठलाई डर देखाउने उद्देश्य राखे पनि उनलाई भने त्यो थुना अझै अघि बढ्ने ऊर्जा जस्तै सावित भयो ।
त्यसपछि उनी पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुँदै गए । जिम्मेवारी थपिँदै गयो । पार्टीमा लाग्दै जाँदा त्यो बेला थुनामा रहेका कम्युनिस्ट नेता माधवकुमार नेपालसँग उनको भेट भयो । नेता नेपालले उनलाई अर्का नेता ईश्वर पोखरेललाई भेट्न सल्लाह दिए । पोखरेललाई भेटेपछि भने उनको आबद्धता चौमबाट तत्कालीन कोअर्डिनेसन कमिटी (कोके) रूपान्तरण भयोे । त्यतिखेरको त्यही कोके हो, जसले पञ्चायती शासनविरुद्ध सशक्त आन्दोलन अघि बढाइरहेको थियो । महासेठका लागि पनि कोके राजनीति गतिविधि बढाउने थप सशक्त माध्यम बन्यो ।
एसएलसी उत्तीर्ण गरेलगत्तै कोकेको निर्णयअनुसार महासेठलाई महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्न पठाइयो । ‘अध्ययन एउटा बहाना थियो । पूर्वको संगठन विस्तारमा योगदान पुगोस् भनेरै मलाई महेन्द्र मोरङ क्याम्पस अध्ययनका लागि पठाइएको थियो,’ उनी भन्छन्, ‘क्याम्पसमा भर्ना भएदेखि नै अनेरास्ववियुको जिल्ला नेतृत्वको जिम्मेवारी लिएँ । र, संगठन विस्तार गर्दै गएँ ।’  

जुन व्यक्ति या संगठनले समय–समयमा आउने उतार–चढावको व्यवस्थापन गर्न सक्छ । उनीहरूलाई झनै अघि बढ्न सहज हुन्छ । जो उतारचढावको सही तरिकाले व्यस्थापन गर्न सक्दैनन्, ती समयको थिचाइमा पर्छन् र अस्तित्व नै गुमाउन बाध्य हुन्छन् ।

पढाइ र राजनीतिसँगै अगाडि बढाइरहेको बेला तत्कालीन को–अर्डिनेसन कमिटीमा आएको विवादले महासेठलाई केही फरक धारमा उभ्यायो । भनिन्छ– हरेक व्यक्ति र गतिशील संगठनमा समयक्रममा केही न केही उतार–चढाव आइरहेको हुन्छ । जुन व्यक्ति या संगठनले समयकालमा आउने उतार–चढावको व्यवस्थापन गर्न सक्छन् । उनीहरूलाई झनै अघि बढ्न सहज हुन्छ । जो उतारचढावको सही तरिकाले व्यस्थापन गर्न सक्दैनन्, ती समयको थिचाइमा पर्छन् । र, अस्तित्व नै गुमाउन बाध् हुन्छन् ।

कोकेभित्र राजनीतिक स्वतन्त्रता या पार्टी स्वतन्त्रतामध्ये कुन धारलाई अघि बढाउने भन्ने विवाद तीव्ररूपमा अघि बढेको बेला महासेठले राजनीतिक स्वतन्त्रतालाई साथ दिए । विवाद यत्तिमै सकिएन । राजनीतिक स्वतन्त्रतता या पार्टी स्वतन्त्रतामध्ये कसलाई अघि बढाउने भन्ने विवादको मारले अन्ततः कोके एक किसिमले छिन्नभिन्न जस्तै भयो । कोकेमा आबद्ध नेताहरू विभाजित भए । धेरै नेताहरू लाखापाखा लागे । त्यहीबेला महासेठले भने अध्ययनलाई अघि बढाउने निर्णय गरे ।

‘तीव्ररूपमा बढेको विवादले कोकेमा रहेर काम गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘थप अध्ययन गर्न पढाइको पृष्ठभूमि राम्रो भएकाले छात्रवृत्ति चाहारेँ ।’ कोेकेमा विवाद बढेपछि कोलोम्बो प्लानअन्तर्गत महासेठले दरखास्त दिए । अध्ययनको पृष्ठभूमि राम्रो भएकाले उनी भारतको इलाहावादमा अध्ययन गर्नका लागि छनोट भए । तर, कम्युनिस्ट पृष्ठभूमिका कारण उनलाई पञ्चायती शासकको दबाबमा भारतीय राजदूतावासले छात्रवृति रद्द गरिदियो । तैपनि उनले हार खाएनन् । दोस्रोपटक थप मिहिनेत र सम्पर्क बढाएर गरेको प्रयासमा भने उनी अर्को छात्रवृत्ति पाउन सफल भए । भारतको चर्चित विरला इन्स्च्यिुुट अफ टेक्नोलोजीमा बिटेक अध्ययनका लागि महासेठ छानिए ।

सरकारी जागिर र राजनीति सँगसँगै
भारतमा बिटेकको अध्ययन सकेर नेपाल फर्केपछि महासेठका अगाडि राजनीतिमा पूर्णकालीनरूपमा होमिने या जागिर खाने बाटा खुला थिए । तर, उनले दुवै बाटाको यात्रा सँगसँगै सुरु गरे । पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्नुभन्दा जागिरसँगसँगै राजनीतिलाई अघि बढाउँदा बढी उपलब्धिमूलक हुने उनको बुझाइ थियो ।

त्यही भएर महासेठ भारतको अध्ययनपछि  जिल्ला सिँचाइ प्रमुखको जिम्मेवारी बोकेर इलाम पुगे । आफूले सोचेअनुसार कसको परिस्थिति मिल्थ्यो र ! महासेठको पनि मिलोस् । महासेठ इलाम पुगेको तीन दिनमै तत्कालीन डिएसपी शारदाप्रसाद पराजुलीले सिंचाइ कार्यालयमा कम्युनिस्ट समर्थक प्रमुख भएर आएको छ भन्दै छापा मार्न थालिहाले । उनको कम्युनिस्ट सोच विचारधारामा पो थियो । समाजमा हिंसा फैलाउने क्रियाकलाप त उनले गरेका थिएनन् । त्यही भएर प्रहरीले जति छापा मारे पनि महासेठबाट आंतक फैलाएको वा फैलाउन सक्ने कुनै पनि प्रमाण फेला पार्न सकेन ।
कहिले प्रहरीको हप्कीदप्की त कहिले छापा अनि कहिले अनेक अवरोध झेल्दै गर्दा २०४६ आइपुग्यो । देशमा बहुदलीय व्यवस्था आइसकेपछि महासेठको इलामबाट पूर्वी चितवनमा सरुवा भयो । कर्मचारी भए पनि तत्कालीन कम्युनिस्ट पार्टीलाई राम्रोसँग सहयोग गरेका कारण नेकपा एमालेका नेता झलनाथ खनालले महासेठको आवश्यकता पूर्वमै छ भन्दै त्यो सरुवा बदर गरिदिए । सरुवा बदर भए पनि प्रहरी, प्रशासनबाट आउने दबाब भने रोकिएन ।

‘खासगरी तत्कालीन सिडिओले कर्मचारी भइकन पनि किन राजनीतिमा लागेको भन्दै पटक–पटक प्रस्टीकरण सोधेर हैरान पारे,’ उनले भने, ‘बहुदलीय व्यवस्थापछिको त्यो दबाब खेप्न नसकेपछि जागिर छोडेर पूर्णकालीन राजनीतिमा होमिने निर्णय गरेँ ।’ राजनीतिमा लागेपछि भने उनले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन ।

२०५१ मा बनेको एमालेको सरकारमा उदयपुर सिमेन्टको कार्यकारी निर्देशक बन्ने अवसर पाएका महासेठ त्यसयता पार्टीको उपल्लो कमिटीमा मात्र नभई पटक–पटक सांसद, मन्त्री बन्न सफल भएका छन् । पछिल्लोपटक उनले जिम्मेवारी पाएको मन्त्रालय त झन् देशको अनुहार फेर्ने पूर्वाधारसँग जोडिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुलाई उनले पार्टीले सही मूल्यांकन गरेको भनेका छन् । ‘केही समय मेरो योगदानअनुसार पार्टीले सही मूल्यांकन गरेको थिएन,’ उनले भने, ‘पछिल्लो समयमा दिइएको जिम्मेवारीप्रति भने म सन्तुष्ट छु ।’ आफू सिभिल इञ्जिनियरसमेत भएकाले पूर्वाधारको विकासमा काम गर्न सहज हुने उनको भनाइ छ ।

पत्नी पनि राजनीतिमै
पारिवारिक पृष्ठभूमि जमिनदारको छोरा भए पनि महासेठले त्यो परिचयलाई परिवर्तन गर्न सफल भएका छन् । २०५२ मा जुलीकुमारी महतोसँग बिहे गरेका महासेठले पत्नीलाई घरायसी काममा मात्र सीमित गरेका छैनन् । बिहे गर्ने बेला नै अध्ययन गर्ने विद्यालयमा अनेरास्ववियुको सचिवको जिम्मेवारी बोकेकी जुलीकुमारी बिहेपछि  पनि राजनीतिमा सक्रिय छिन् । महासेठले पत्नीलाई जे चाहन्छिन् । त्यसरी नै स्वतन्त्र रहन सहयोग गरेका छन् ।

हाल नेकपा एमालेकी केन्द्रीय सदस्य रहेकी जुलीकुमारी दुईपटक संसदको सदस्य भइसकेकी छिन् । दुवैजना राजनीतिमा लाग्दा एकले अर्कोलाई सहयोग हुने गरेको महासेठ दम्पतीको अनुभव छ । महासेठ भन्छन्, ‘पत्नीको सहयोगले नै आज म राजनीतिमा सफल भइरहेको हुँ । देशभरि जान सकेको छु ।’ महासेठको नजरमा जुली पार्टीभित्रको कुशल संगठक मात्र नभई घरभित्रकी कुशल पत्नी पनि हुन् ।

जुलीकुमारी पनि पतिसँग पूर्ण सन्तुष्ट छिन् । उनी भन्छिन्, ‘उहाँको प्ररेणा र सहयोगले  मेरो राजनीतिक यात्रा अघि बढेको हो । आज म जहाँ पुगेकी छु । उहाँकै सहयोग र प्रेरणाले हो ।’ १९ वर्षको उमेरमा महासेठ पत्नी बनेकी जुलीकुमारी पतिसँग आजपर्यन्त गुनासो गर्ने कुनै बानी नभएको बताउँछिन् । ‘कहिलेकाहीँ समय प्राप्त नहुनु सामान्य समस्या हो,’ उनले भनिन्, ‘त्योबाहेक अन्य गुनासो गर्ने ठाउँ छैन ।’ छोराछोरी हुर्किसकेका र पतिबाट समेत राम्रो सहयोग पाएका कारण जुलीकुमारीले आजीवन नै राजनीति र समाजसेवा गर्ने योजना बनाएको बताइन् । ‘जनताले पनि मलाई विश्वास गरिरहेको पाएकी छु,’ उनले भनिन् । हाल उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाकी समानुपातिक सदस्य छिन् । २०६४ मा पनि उनी संविधान सभाकी सदस्य थिइन् ।  

उनका दुई सन्तान अध्ययनको क्रममा विदेशमा छन् । भर्खरै १२ कक्षा सकेका छोरा जेनिशले अमेरिकामा स्नातक र छोरी बोदिकाले ११ कक्षामा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । छोराछोरीको प्रगतिबाट दुवै जना सन्तुष्ट छन् ।

जमिन कति छ ? थाहा छैन
नेपाली राजनीतिमा आर्थिक अवस्था राम्रो नभएका नेताको वर्चस्व कायम रहेको बेला महासेठ भने त्यस्ता व्यक्ति हुन् । जो  धेरै सम्पत्ति भएका नेतामध्येमा पर्छन् ।  उनका अनुसार विसं १९८९ मा तत्कालीन सरकारबाट महासेठ परिवारले धनुषा र महोत्तरीमा एक सय पाँच बिघा जमिन बाँचुञ्जेल उपयोग गर्ने गरी ‘बक्सिस’ पाएको थियो ।

‘तत्कालीन सरकारले दिएकोबाहेक पैतृक सम्पत्ति छुट्टै छ,’ उनले भने, ‘त्यो सम्पत्ति आज कहाँ, कसले प्रयोग गर्दैछन् । याद छैन । केही जमिन त सर्वसाधारणले उपभोग गरिरहेका छन् ।’ गाउँको जमिनदारको छोरा भएकाले नै कम्युनिस्ट पार्टीको नेता बन्न सघाउ पु¥याएको उनको भनाइ छ । ‘विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हेर्ने हो भने माओत्सेतुङ, एंगेल्स धनी किसानबाटै आएका थिए,’ उनले भने, ‘परिवार सम्पन्न भएका कारण आजपर्यन्त मैले भ्रष्टाचार लगायतका गलत काम गर्नु परेको छैन ।’ यद्यपि सानो उमेरमा आमाको इच्छा भने उनलाई इञ्जिनियर बनाउने भन्ने थियो । इञ्जिनियर अध्ययन गरेर उनले आमाको सपना पूरा गरेरै छाडे ।

भौतिक पूर्वाधारको विकास हुन नसक्नुमा नीतिगत समस्या छ
विकसित मुलुकको अगाडि नेपालले प्रगति गर्न नसक्नुमा धेरैले भौतिक पूर्वाधारको विकास हुन नसक्नुलाई लिन्छन् । महासेठ भने भौतिक पूर्वाधारको विकासले गति लिन नसक्नुमा नीतिगत समस्या रहेको बताउँछन् । विकास निर्माणसम्बन्धी काम गर्न एकद्वार पद्धतिको संरचना तयार हुन नसकेका कारण छरपस्टरूपमा काम भइरहेको उनको भनाइ छ । ‘नेपालमा जुन काम भौतिक मन्त्रालयले गर्छ ती काम सहरी विकास र स्थानीय विकास मन्त्रालयले समेत गर्छन्,’ उनले भने, ‘अब यही पाराले हुँदैन । विकास निर्माणको काम एउटै छातामुनिबाट हुनुपर्छ ।’ उनले आफूले एउटै छानामुनिबाट विकास निर्माणको काम गर्नका लागि कोसिस गर्ने बताए ।

पाँच वर्षभित्र काठमाडौं जाममुक्त
महासेठले अबको पाँच वर्षभित्र काठमाडौंलाई जाममुक्त गर्ने बताएका छन् । जाममुक्त बनाउनका लागि काठमाडौंका विभिन्न स्थानमा सडकलाई ठूलो पार्नेदेखि लिएर कतै आकाशे पुल निर्माण त कतै सुरुङ मार्ग बनाउनेसम्म उनका योजना छन् । त्यस्तै उनले सिन्डिकेटलाई पनि अन्त्य गर्ने दाबी गरे । ‘यातायातको क्षेत्रको सिन्डिकेट अन्त्यका लागि पहल थालिसकेको छु,’ उनले भने, ‘सिन्डिकेट यातायातमा मात्र छैन । तरकारी बेच्ने व्यापारीसम्म छ । अब यी सबै सिन्डिकेट अन्त्य हुन्छन् ।’

जेठ १६ गतेसम्म मुग्लिङ–नारायणगढ सडक पूरा हुने
उनले आउँदो जेठ १६ गतेसम्म मुग्लिङ–नारायणगढ सडक पूरा हुने दाबी गरेका छन् । निर्माण थालेको वर्षौैं भइसक्दा पनि उक्त सडक पूरा नहुँदा सर्वसाधारण पीडित भइरहेका छन् । ‘जेठ १६ गतेसम्म उक्त सडक पूरा गर्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘सोही सडकलाई सुधार गर्न १४ वटा नयाँ पुल पनि निर्माण हुँदैछन् ।’

प्रकाशित: २० जेष्ठ २०७५ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App