७ वैशाख २०८१ शुक्रबार
कला

‘फिल्ममाथि ठूलो जिम्मेवारी छ’

काठमाडौं  – एक दिने फिल्मसम्बन्धी कार्यशालाका लागि बलिउड निर्देशक तथा निर्माता सुभास घई नेपाल आइपुगेका छन्। आइतबार अन्नपूर्ण होटलमा चल्ने कार्यशालाका लागि घई आफ्नो फिल्म इन्स्टिच्युट विसलिङ उड्स्को टिमसहित नेपाल झरेका हुन्।  घईसँगै बलिउड फिल्म लेखक अञ्जुम राजाबली, फिल्ममेकर रबिया राज्बी र फेसन शिक्षक निशा नन्दा रहेका छन्। नेपालको कान्तिपुर फिल्म एकेडेमी र घईको विसलिङ उड्सको संयुक्त आयोजनामा एक दिने कार्यशालाको आयोजना गरिन लागेको हो।

शनिबारै पत्रकारसँग साक्षात्कार हुँदै सुभास घईले  फिल्म कलाको गम्भीर विधाको रुपमा स्थापित भएको बताउँदै फिल्ममाथि ठूलो जिम्मेवारी रहेकाले यसको समुचित प्रयोगमा ध्यान दिनु पर्ने बताए।

‘आधुनिकीकरणसँगै फिल्म कलाको गम्भीर विधाको रुपमा स्थापित भइरहेको छ। कथा भन्ने सवालमा र देशको संस्कार, संस्कृति जगेर्नाको सवालमा पनि फिल्म कोसढुंगा साबित भइरहेको छ,’ घईले भने, ‘ आफूले आर्जन गरेको ज्ञान छिमेकी देशमा पनि बाढुँ भन्ने उद्देश्यले हामी नेपाल आएका हौं।’

दोस्रो पल्ट नेपाल आएका लेखक अन्जुम राजाबलीले अघिल्लो पटक आउँदो फिल्ममा केही गर्न चाहाने युवाको जमात देखेपछि उनीहरूलाई थप प्रेरणा दिन सके नेपालले पनि राम्रा फिल्मकर्मी पाउँछ भन्ने लागेर आफूले विसलिङ उड्स् र कान्तिपुर फिल्म एकेडेमीबीच सहकार्य गरेकोे बताए।

‘अघिल्लो पटक नेपालमा आउँदा मैले थुप्र्रै युवापुस्ता भेटे जोसँग कथा पनि छ र जोश जाँगर पनि छ। तर उनीहरूमा कमी छ, यी कथालाई प्रस्तुत गर्ने शैलीको । यसका लागि नेपालले सुभास घई र विशलिङ उड्सजस्तो संस्थासँग सहकार्य गरेर फाइदा लिन सक्छ,’ राजाबलीले भने, ‘आइतबारको कार्यशाला यो लक्ष्यतर्फको पहिलो पाइला हो। एक दिनमा आमूल परिवर्तन त आउने होइन, तर इरादा बन्न सक्छ र परिवर्तनका लागि इरादा नै काफी हुन्छ।  

कर्यक्रममा कान्तिपुर फिल्मएकेडेमीका अध्यक्ष छविराज ओझा र एक्टिभ डिपार्टमेन्टका प्रमुख बिमल सुवेदीले पनि कार्याशालाको उद्देश्यका बारेमा जानकारी गराएका थिए।

बिहान दसबजेबाट सुरु हुने कार्यशालामा अन्जुम राजाबलीले पटकथा लेखन सम्बन्धी प्रशिक्षण दिने छन् राबिया नाज्कीले मोबाइल फिल्ममेकिङ सम्बन्धी जानकारी बाँडनेछिन्।  कार्यशालाको अन्तिम प्रस्तुति निशा चन्दाको रहनेछ जसले फेसन डिजाइन र स्टायलिङको बारेमा ज्ञान बाँडनेछिन्। यही बीचमा सुभास घईले पनि आफ्नो समूहका साथमा फिल्ममेकिङका विविध विधाको बारेमा जानकारी गराउनेछन्।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App