८ वैशाख २०८१ शनिबार
कला

हवाइजहाजमा जुर्यो ‘उडान’

काठमाडौं – पोखरेली साहित्यकार बद्रीविनोद प्रतीक सन् २०१२ मा अमेरिकाबाट नेपाल हवाइजहाजमा एक्लै फर्किदै थिए । अमेरिका जाँदा श्रीमति सावित्री पराजुलीका साथ गएका प्रतीक फर्किदा एक्लिएपछि हवाई यात्रामा उनलाई ठूलै सकस प-यो। त्यही सकसको पीडालाई प्रस्तुत गर्न नयाँ पात्र सिर्जना गरेर उनले उपन्यास ‘उडान’ लेखे।

‘हवाइजहाजको त्यो एक्लो उडान मेरो लागि पुस्तकको उडानभन्दा कठिन थियो। आफ्नो सिटसँगै बसेको मान्छे अपरिचित परेपछि झन समस्या हुँदो रहेछ,’ प्रतीकले बुधबार पुस्तक सार्वजनिक गर्दै भने,‘हवाइजहाजमा एक्लो हुँदा मलाई उपन्यास लेख्ने सोच आएको थियो । किनकि एक्लै यात्रा गर्दा दिमागमा हवाइजहाजको गतिभन्दा बढी कुरा खेल्दा रहेछन्।’

उनलाई उपन्यास लेखेर बजारमा ल्याउनकै लागि ६ वर्ष लाग्यो। यो बीचमा उनले झण्डै तीन वर्ष सामाग्री संकलनमै बिताउँदा बाँकी एक वर्ष उपन्यासलाई फाइनल गर्नमै समय दिए। ‘हवाइजहाजमा उपन्यासको सोच बनेपनि पोखरा पुगेपछि त्यहाँको एक माहौलले मलाई उडान लेख्ने जाँगर दियो,’उनले बताए ,‘त्यहाँ देखेको एक वास्तविक पात्रको क्रियाकलापले मलाई काल्पनिक पात्र सिर्जना गरेर उपन्यासमा प्रस्तुत गराउने माहोल बनाइदियो।’

उपन्यासकार प्रतीकले उपन्यास महिला मनोविज्ञानमा आधारित रहेको बताए। आफूलाई पुरुष भएर महिलाको विषयमा कसरी लेख्न सकियो भन्ने प्रश्न पनि बारम्बार आउने गरेको खुलाए । ‘तर मैले यो उपन्यास लेख्नमा श्रीमतिको सहयोग लिएँ । उनीमार्फत एउटा महिलाको मनमा आउने भावनालाई समेट्ने प्रयास गरें,’प्रतीकले भने,‘मैले विदेशमा श्रम गरेर नेपाल फर्किएका केही महिलासँग पनि उपन्यासका लागि खुराक लिएको छु ।’ उनले पुस्तकमा महिला मनोविज्ञानसँगै सामाजिक, आर्थिक, राजनीतिक धरातलसँग जोडिएका विषयबस्तु पनि प्रस्तुत गरिएको बताए।

पुस्तकका टिप्पणीकार पत्रकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक गंगाधर पराजुलीले उपन्यासले एक अविवाहित शिक्षित महिलाको मनोविज्ञानलाई चित्रण गरेको बताए। ‘उपन्यासले अपूर्वा नामकी महिला पात्रको कथालाई प्राथमिकता दिएको छ। उनका सम्झनाका क्षण, पुरुष पात्र दिवाकरसँग फस्टाएको प्रेमलाई उपन्यासमा पाउन सकिन्छ,’ पराजुलीले भने, ‘उपन्यासमा युवापुस्ताको आधुनिक प्रेमलाई पनि जोडिएको छ। उपन्यास पढ्दा उपन्यासकार आफै प्रेम विछोडमा परेको हो कि भन्ने आभाष हुन्छ। उपन्यासमा सरल शब्द, छोटा वाक्य र मीठो लेखन शैली छ।’

पुस्तक प्रकाशक कोसेली प्रकाशनका प्रमुख गोपाल ध्वजुले आफूले पाँच वर्ष अघिदेखि नै उपन्यासकार प्रतीकलाई उपन्यास लेख्न अनुरोध गरेको स्मरण गरे। ‘नयाँ विषयबस्तुसहितको नयाँ उपन्यास प्रकाशन गरेर पाठकबीच ल्याउन पाएका छौं,’उनले भने,‘उपन्यासले वैदेशिक रोजगारीको पीडालाई प्रस्तुत गरेकाले पाठकका लागि अवश्य पनि पठनको विषय हुनेछ।’ पोखरामा सार्वजनिक भइसकेको २ सय ९६ पृष्ठको उपन्यासको मूल्य ३ सय रुपैंयाँ छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App