४ वैशाख २०८१ मंगलबार
विचार

यो विकास, खै के विकास!

सत्कर्म नभईकन चित्त शुद्ध हुँदैन
चित्त शुद्ध नभई सन्तोष हुँदैन
सन्तोष नभई मन स्थिर हुँदैन
मन स्थिर नभईकन शान्ति हुँदैन

लक्ष्मण लोहनीको शब्दमा भजन शिरोमणि भक्तराज आचार्यले गाएका यी हरफहरूमा जीवनको सार लुकेको छ। जीवनलाई नै विकास चाहिएको हुनाले हामीले खोजेको विकास पाउन पनि चित्त शुद्ध, मन स्थिर र आन्तरिक शान्ति हुनैपर्छ। हुनत बहिर्मुखी चेतनामा हुर्किरहेको समाज, राष्ट्र र व्यक्तिलाई विकास र चेतना अलग अलग लाग्न सक्छ। सोच र थोरै समझको विकास नभईकन चेतनाको स्तरलाई पनि जान्न सकिन्न । सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, सुशासन, अवसर र समृद्धि जे जे उपशीर्षक जोडेर आएको भएपनि सुखी र समृद्ध नेपाल र नेपाली मुख्य लक्ष्य रहेको छ । तर त्यसका लागि व्यक्तिभित्र रहेको सकारात्मक ऊर्जा र राज्यमा भएका प्राकृतिक सम्पदाको पूर्ण प्रयोग एवं संरक्षणविना विकास सम्भव छैन।

हाम्रा प्राकृतिक सम्पदाको भरपूर उपयोग गर्न नसक्नु, भएका संरचनालाई जीवन्तता दिन नसक्नु र स्वार्थी प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण नै आज व्यक्ति धनी र राष्ट्र गरिबका रूपमा चिनिएको छ। हाम्रो भूगोल, हावापानी, विविध संस्कृति, परम्परा र चलनले विश्वलाई चकित पार्छ । तर बत्तीमुनिको अन्धकार भनेझैँ यसको महत्व बुझ्न सकिएको छैन ।
चार तहका निर्वाचन र सरकार गठन, संघीयता र समावेशिता सबैको अपेक्षा हो, विकास । विकास र परिवर्तनका लागि तल्लीन छौँ हामी । तर कहाँबाट सुरु गर्ने, कसरी प्रभावकारी बनाउने र रूपान्तरण ल्याउने भन्ने कुरा सोच्न अब ढिला भइसकेको छ । सर्वप्रथम व्यक्तिगत जीवनको विकास नभईकन सामाजिक परिवर्तन र आर्थिक विकास जादूझैँ आउनेवाला छैन । व्यक्तिगत विकास होस् या आर्थिक, सामाजिक र राजनीतिक सर्वप्रथम धरातल थाहा पाउनु जरुरी छ । चेतनाको स्तरबाट कुन चरणमा छौँ, विकासको चरण कुन स्तरमा छ र विकासका अवरोध के हुन् त?

आर्थिक विकास एउटा पाटो हो, व्यक्तिगत जीवनका लागि, समाज र राष्ट्रका लागि तर आर्थिक विकासले मात्र समग्र जीवन विधायक विकासलाई समेट्न सक्दैन । अहिले वातावरण प्रदूषण र जलवायु परिवर्तन भयावह भएर आएको छ । यसले विश्वका सबै मानव जीवनमा असर पु-याउँदैछ, नजानिँदो र नदेखिँदो तरिकाले । विज्ञान र प्रविधिको विकाससँगै ती प्रविधिको अन्धाधुन्ध प्रयोगले शारीरिक, मानसिक र भावनात्मक रूपमा कस्तो असर पु¥याएको छ भन्ने कुराको हेक्का गर्न भ्याएकै छैन मानिसले । यसलाई नै होला विज्ञान वरदान नभएर अभिशाप सिद्ध भएको छ भन्ने गरिन्छ । विकास, विकासको नतिजा के हुनुपर्छ र चित्तसँग यसको सीधै सम्बन्ध के छ जान्न सकिएन भने त्यो विकासले शान्ति ल्याउँदैन।

अर्थतन्त्रको मेरुदण्ड मानिने नेपालको कृषि क्षेत्र र सबैतिर खाली र बाँझो जग्गा रहेको ठाउँमा कृषि विकास रणनीति, व्यवस्थापन र कार्यान्वयनको पक्ष के भइरहेछ ?गर्न सक्ने कृषि उत्पादनसमेत नगरी विदेशबाट आयात गर्नुपरेको अवस्था छ । छिमेकी मुलुकहरूले आर्जन गरिरहेको आर्थिक वैभवबाट फाइदा लिँदै हाम्रो अर्थतन्त्रलाई मद्दत पुग्ने व्यवसाय उदारीकरण र भूमण्डलीकरणमार्फत भित्रिन सक्ने आर्थिक विकासको सम्भावना, लगानीको आधार र समृद्धिका सपनाहरू सपनामै सीमित हुने हुन् त? योजना, नीति, संरचना र वितरणमा आपसमा समन्वय नमिलेको त छैन विकासका योजनामा  विरोधाभास आउनुको पछाडि? सरकारी स्तरदेखि निजी क्षेत्रका लगानीकर्ताहरू र व्यवसायमा पुँजीगत लगानीको वास्तविक लेखाजोखा गरेर लगानी गर्ने गरिएको छ या छैन? लगानी, वस्तु, सेवा, उत्पादन र आर्थिक विकासको मापदण्ड र दायरा कसरी फराकिलो बनाउने? अब साँघुरो घेराबाट माथि उठ्न धेरै ढिला भइसकेको होइन र ? हामी र हाम्रो राष्ट्र किन गरिब भनेर चिनिएको? यसका पछाडि आर्थिक विकासको प्रश्न मात्र नभएर  भौतिक  सुखका साथै  प्रेम, शान्ति  र आत्मीयता  पनि मानिसका आवश्यकता हुन् भन्ने बुझ्ने मनोविज्ञानको कमी। किनकि जबसम्म व्यक्तिले आफूभित्रका समस्याहरूबाट मुक्ति पाउँदैन, तबसम्म आर्थिक सम्पन्नताले भित्रको समृद्धि प्राप्त हुँदैन । आर्थिक सम्पन्नता एउटा पाटो हो, जीवन सुखी राख्ने भने अर्को पाटो । आफ्नो संस्कृति, प्रेम, आत्मीयता र आफूभित्रको खोज हो। मानिसको सृष्टि त प्रेमको अभिव्यक्ति हो । भित्रको वैभव, ऐश्वर्य, उदारता, संवेदना, अहिंसा, मस्तमा जिउनु मानव स्वभाव हुन् । यो नै हाम्रो पुरुषार्थ र प्रकृतिको आयोजना हो हामीमाथि।

हामी बाहिरको धुवाँधुलो र प्रदूषणले मात्र आक्रान्त छैनौँ । आफ्नो मनभित्रको धुलो, विचारको प्रदूषण र सोचाइको गरिबी त्यति नै विकराल भएर बसेका छन् । भित्रको विकास नभईकन बाहिरको विकास, स्वास्थ्य र सफासुग्घर चाहिन्छ भन्ने हेक्का आउँदैन । बाहिरी विकासको दिगोपन हुनुपर्ने कुरा आफ्नो ठाउँमा छँदै छ तर भित्रको शान्ति र आत्मसम्मानविनाको विकासलाई कसरी मापन गर्ने ? जीवनस्तर सुधार, गरिबी उन्मूलन, आर्थिक असमानता, पहुँचको प्रभाव आदि पक्षले असमानता सृजना गरेको छ। कर्मप्रतिको लगनशीलता, कर्तव्यपराणयता, इमानदारी र अनुशासनविनाको विकास कस्तो होला? स्वभाव, प्रभाव र अभाव आफैँद्वारा सृजित कुरा हुन्। जीवनका सबै आयामलाई सन्तुलन राख्ने कला वास्तविक विकास हो । नेतृत्व वर्गले यसलाई आत्मसात् नगर्दासम्म विकासको अनुभूति सम्भव छैन।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App