७ वैशाख २०८१ शुक्रबार
अर्थ

जिडिपीमा पर्यटनको हिस्सा २५% पु-याउने लक्ष्य

काठमाडौं – सरकारले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटक संख्या वृद्धि गरी २० लाख पु-याउने र यसैबाट जिडिपीमा हिस्सा बढाउँदै लाने सरकारको भनाइ छ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरले गत शुक्रबारबाट राजधानीको पाँचतारे होटल सोल्टीमा आयोजना गरिरहेको ‘हिमालयन ट्राभल मार्ट २०१८’ मा संस्कृति, पर्यटन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले पर्यटन एकमात्र त्यस्तो उद्योग हो जसले मुलुकको अर्थतन्त्रलाई पूर्णरूपमा कायापलट गर्नसक्ने हैसियत राखेको धारणा राखे।

जिडिपीमा पर्यटनको हिस्सा ह्वात्तै वृद्धि गर्न सरकारले दुई वर्षभित्र २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सार्वजनिक गरिसकेको मन्त्री अधिकारीले जानकारी दिए । यो अभियानलाई अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट (आयव्यय) विवरणमा उल्लेख छ।

सरकारले २०२० मा २० लाख घोषणा गरेको छ भने त्यसभन्दा अघि नै निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै सन् २०३० भित्र ५० लाख अन्तर्राष्ट्रिय पर्यटन नेपाल ल्याउने घोषणा गरिसकेको छ । यसमा पाटा–नेपाल च्याप्टरले नेतृत्वदायी भूमिका खेल्ने बताउँदै आएको छ।

‘सरकारको उद्देश्य पूरा गर्न हामी निजी क्षेत्रलाई पर्यटन उद्योगमा लगानी गर्न आह्वान गर्दछौं,’ पर्यटन मन्त्री अधिकारीले हिमालयन ट्राभल मार्ट उद्घाटन गर्दै भने, ‘निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता सरकारले लिन्छ, ढुक्क भएर लगानी गर्नुहोस्।’

२० लाख पर्यटक ल्याउने अभियान सफल बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्दै जाने र त्यसमा काम सुरु भइसकेको उनले जानकारी दिए । पर्यटन क्षेत्रलाई दिगो बनाई बढिभन्दा बढी रोजगारी सिर्जना गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।

‘हामीसँग विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीमात्र नभई विविध प्राकृतिक, भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र गन्तव्य सयौं छन् जसलाई एक पटक हेर्न र अनुभव लिन संसारका लाखौं पर्यटक लालायित छन्,’ मन्त्री अधिकारीले भने, ‘त्यसकारण हाम्रा उद्देश्य पूरा गर्न हिमालय ट्राभल मार्ट असाध्यै महत्वपूर्ण मञ्च हुने विश्वास छ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल दक्षिण एसियाकै पर्यटन राजधानी भएको बताए । ‘हामीसँग के छैन ? संसारकै सबैभन्दा गहिरो गल्छी कालिगण्डकीदेखि अग्लो हिमाल सगरमाथासम्म सबै यहीँ छन्,’ उनले भने, ‘यिनै पर्यटन विशेषतालाई अन्तर्राष्ट्रिय बजारमा प्रचार–प्रसार र प्रवद्र्धन गर्न दिलोज्यानले लागेका छौं । अझ पनि सोचेजति भने गर्न सकिएको छैन । हामीलाई सम्बद्ध सबैको सहयोग प्राप्त भइरहेको छ र भविष्यमा पनि यस्तो सहयोग जारी रहने विश्वास छ।’

हिमालयन ट्राभल मार्टको आयोजक संस्था पाटा–नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले एसिया प्रशान्त क्षेत्रका सबै पर्यटन गन्तव्यबीच आपसी हित र व्यापारिक सहकार्य गर्न मार्ट आयोजना गरिएको जानकारी दिए । त्यसबाहेक नेपाललाई संसारकै उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा चिनाउने अर्को उद्देश्य मार्टका रहेको उनको भनाइ छ ।
उनका अनुसार सन् १९७५ मा स्थापना भएको पाटा–नेपाल च्याप्टरले मुलुकको पर्यटन उद्योगमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ । च्याप्टरले यो मार्ट दोस्रो पटक आयोजना गरेको हो । आइतबारसम्म सञ्चालन हुने मार्टमा युरोप, अमेरिका, अस्ट्रलिया, एसियाका गरी ३७ देशका १ सय ६१ प्रतिनिधि सहभागी छन् । पर्यटनसम्बद्ध विभिन्न कम्पनीका ५५ वटा स्टल राखिएका छन्।

त्यसैगरी पाटाका अन्तर्राष्ट्रिय अध्यक्ष क्रिस बट्रिलले नेपाली पर्यटन क्षेत्रले सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा २० लाख र २०३० मा ५० लाख पर्यटक ल्याउने अभियान घोषणा गरेकोमा बधाइ दिए।

‘विनाशकारी भूकम्पपछि नेपालको पर्यटनले विस्तारै गति लिँदै गएको छ र यसमा सह्रानीय काम पनि भइरहेका छन्,’ उनले भने, ‘यो गतिलाई कायम राखिरहनुस् अनि २० लाख र ५० लाख अन्तर्राष्ट्रिय पर्यटन ल्याउने लक्ष्यमा नेपाल अवश्य सफल हुने पाटाको विश्वास छ।’

प्रकाशित: २० जेष्ठ २०७५ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App