coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गोसाइँकुण्डमा केबलकारको सम्भाव्यता अध्ययन गरिने

रसुवा – रसुवामा रहेको पर्यटकीय तथा धार्मिकस्थल गोसाइँकुण्डमा केबलकार स्थापना गर्र्न सम्भाव्यता अध्ययन गरिने भएको छ।

बर्सेनि हजारौं तिर्थयात्री आउने गोसाइँकुण्डमा पर्यटकको आगमन बढाएर स्थानीयको जीविकोपार्जनमा टेवा पु¥याउन केबलकार स्थापना गर्न लागिएको हो। प्रदेश–३ ले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा गोसाइँकुण्डमा केबलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।

विगत लामो समयदेखि गोसाइँकुण्डमा केबलकार स्थापना गर्न पहल भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन। मन्त्रालयमा प्रस्ताव लैजादा पटकपटक अस्वीकृत भए पनि योपटक प्रदेशको नीति तथा कार्यक्रममा परेका कारण अध्ययन सुरु हुने प्रदेश नम्बर ३ की प्रदेश सदस्य शान्ति थिङले बताइन।

समृद्ध रसुवा निर्माणका लागि केबलकार आवश्यक भएकाले नीति तथा कार्यक्रममा समावेश गर्न गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ र उनले विशेष पहल गरेका थिए। ‘धुन्चेबाट गोसाइँकुण्ड लैजान पहल गरिएको हो,’ उनले भनिन्, ‘अध्ययनपछि कुन ठाउँबाट लैजाने पुष्टि हुन्छ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीबाट गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्न नुवाकोटबाट पनि पहल भएकाले कहाँबाट लैजाने भन्ने अध्ययनपछि मात्रै थाहा हुने उनले बताइन् । रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि तीन स्थान चर्चामा छ।

जिल्लाको धुन्चे हुँदै गोसाइँकुण्ड, लोकिल छोदाङ हुँदै गोसाइँकुण्ड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीबाट गोसाइँकुण्डसम्म केबलकार निर्माण गर्ने चर्चा छ।

हरेक वर्षको जनैपूर्णिमा र जेठमा मेला भर्न हजारौंको संख्यामा भक्तजन र पर्यटक सिन्धुपाल्चोक, रसुवा र नुवाकोटको बाटो भएर गोसाइँकुण्ड पुग्छन्।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने विश्वासका साथ बर्सेनि हजारौैं भक्तजन कुण्डमा स्नान गर्न जाने गर्छन्।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई भगवान शिवले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पत्ति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुईपटक तिर्थयात्रीले मेला भर्ने गरेका छन्।

प्रकाशित: २० जेष्ठ २०७५ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App