७ वैशाख २०८१ शुक्रबार
अर्थ

कर्जा लिनुअघि वित्तीय साक्षरता कक्षा

दोलखा – बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुअघि संस्थाका कर्मचारी नियमानुसार कागजात जुटाउन लगाउँछन्। ऋण स्वीकृति, धितो रोक्का, दृष्टिबन्धक लगायत प्रक्रिया पूरा गरेर ऋणीलाई कर्जा लगानी गर्छन्।

तर यहाँको एउटा चलेको सहकारी संस्थामा ऋण लिनुअघि नियमानुसारको प्रक्रिया पु-याएर मात्र हुँदैन । आफूले लिन खोजेको ऋणको व्यवस्थापन र वित्तीय साक्षरताबारे दुई घन्टा कक्षा लिन अनिवार्य गरिएको छ।

जिल्लाकै ठूलो मिलिजुली सहकारी समिटेडमा कर्जा माग फारम भर्नेहरुलाई सञ्चालक समितिले वित्तीय साक्षरता र ऋण व्यवस्थापनबारे अनिवार्य कक्षाको व्यवस्था गरेको छ। ऋण लगानी गरेपछि वित्तीय व्यवस्थापनबारे जानकारीसहित आफूले गर्न लागेको लगानीबारे सचेत गराउन यस्तो कक्षा सुरु गरिएको संस्थाले जनाएको छ।

संस्थाका व्यवस्थापन ईश्वर न्यौपानेका अनुसार प्रत्येक महिनाको तीन पटक कार्यालयमा यस्तो कक्षा सञ्चालन हुन्छ । कक्षामा ऋण माग गर्नेएहरु सबैलाई अनिवार्य सहभागी गराइन्छ। प्रोजेक्टरमा देखाएर सञ्चालन हुने कक्षामा वित्तीय साक्षरता, फजुल खर्च नियन्त्रण, घरमा बजेट बनाउने तरिका, बचत गर्ने तरिका, उद्यमशीलता लगायत विषयमा प्रशिक्षण दिइन्छ।

‘कर्जा लिने सेयर सदस्यलाई सचेत गराउनका लागि यस्तो कक्षा सुरु गरेका हौं,’ न्यौपानेले भने । उनका अनुसार कक्षामा ऋण मागदेखि असुली प्रक्रियाबारे पनि जानकारी गराइन्छ।

कक्षामा बस्नेहरुलाई घरमा वार्षिक बजेट बनाउन र फजुल खर्च रोक्न समेत सिकाइन्छ । ‘जथाभावी फजुल खर्च नियन्त्रण गर्नेबारे डकुमेन्ट्री र स्केचहरु पनि देखाउछौं,’ न्यौपानेले भने । उनका अनुसार आम्दानी बढाउने र उद्यमशीलता बन्ने खालका टिप्सहरुबारे पनि साक्षरता कक्षामा जानकारी दिइन्छ । ‘हामी आम्दानी र खर्चको हिसाब नराख्दा आर्थिक अवस्था डामाडोल पार्दै गइरहेका हुन्छौं,’ उनले भने, ‘त्यसैले कक्षामार्फत आम्दानी र खर्चको हिसाब नियमित राख्नेदेखि ऋणको साँवा र ब्याज समयमै बुझाउनेसम्मका विषय समेटेर प्रशिक्षण दिने गरेका छौं।’

कतिपय ऋणीहरुले ऋण लगेर त्यसको उचित व्यवस्थापन गर्न नजानेका कारण आर्थिक रुपमा समस्या परेको गुनासो आएपछि सहकारीले यस्तो अभियान सुरु गरेको हो । ऋणीहरुलाई दिइने प्रशिक्षणमा सहकारीका तालिम प्राप्त कर्मचारीले ऋण माग गर्नु पहिले र लगानीपछिका कामहरु, उत्पादक ऋण र अनुत्पादक ऋण, उद्यमशील व्यक्तिमा हुनुपर्ने गुण, ऋणको सही सदुपयोग लगायत विषयमा प्रशिक्षण दिन्छन्।

त्यस्तै ऋणको नियमित किस्ता बुझाउने प्रक्रिया, किस्ता नबुझाउँदा लाग्ने हर्जना र भाखा नागेपछिको अवस्थासहित असुली प्रक्रियाका विषयमा समेत जानकारी गराइन्छ । सहकारीले दिने कक्षामा साक्षरता बाहेक सहकारी शिक्षा, सञ्चालक समितिदेखि साधारण सदस्य र सेयर सदस्यसम्मको काम, कर्तव्य र अधिकारका साथै सहकारी क्षेत्रमा नेतृत्व विकासबारे समेत प्रशिक्षण दिइन्छ।

कक्षा सुरु गरेपछि आफूले लैजाने कर्जाबारे साधारण सदस्यमा सचेतना बढेको व्यवस्थापक न्यौपानेले सुनाए । ‘थुप्रै सदस्यले सहकारी र वित्तीय साक्षरताबारे सचेतना बढेको अनुभव सुनाएका छन्,’ उनले भने, ‘कक्षामा प्रायः सबै ऋणी सहभागी हुने गरेपनि केही कर्जाधनी भने हाजिर गरेर हिँडिहाल्छन्।’

प्रकाशित: २० जेष्ठ २०७५ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App