सुर्खेत- प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाबाट लाखौंको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार चौकुने–७ जुनारीतालस्थित बुद्धि विकको घरबाट दुई सय ५० क्यूफिट सालको चिरान काठ बरामद गरिएको हो। पाँच दिन अगाडि मात्रै बराहताल गाउँपालिकाबाट प्रहरीले पाँच सय क्यूफिट काठ बरामद गरेको थियो।
‘विशेष सुराकीको आधारमा घर खानतलासी गर्दा उक्त परिणामको काठ बरामद गर्न सफल भयौं’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘पक्राउ परेको काठलाई आवश्यक कारवाहीका लागि इलाका बन कार्यालय गुठुमा बुझाएका छौं ।’ प्रहरीका अनुसार अनुसन्धानका क्रममा सो क्षेत्रमा विगत लामो समयदेखि अबैध काठको कारोबार हुने गरेको पत्ता लागेको छ।
प्रहरीले पाँच दिन अघाडि पश्चिमकै बराहताल गाउँपालिका–५ बाट पाँच सय क्यूफिट काठसहित दुई जनालाई पक्राउ गरेको थियो । साजपानी टोलका भूपेन्द्र विक र शेरबहादुर विकको घरबाट राखिएका सालका चिरान काठसहित प्रहरीले जिल्ला वन कार्यालयलाई बुझाएको थियो।
प्रकाशित: १९ जेष्ठ २०७५ १३:२१ शनिबार