६ वैशाख २०८१ बिहीबार
राजनीति

‘प्रदेशको विकासका लागि ऋण ल्याउँछौं’

सुर्खेत– नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि संघीय सरकार र अन्तर्राष्ट्रिय निकायबाट ऋण ल्याउने तयारी भइरहेको बताएका छन्। उनले कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेट्ने ठूला आयोजना निर्माणका लागि संघीय सरकारले उपलब्ध गराएको बजेट अपर्याप्त भएकाले ऋण ल्याउने गरेर छलफल चलिरहेको बताए।

‘कर्णालीको आर्थिक समृद्धिका लागि द्रुतमार्ग, सुरुङमार्गलगायतका ठूला आयोजना निर्माण गर्नु आवश्यक छ’ शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसका लागि संघीय सरकारको बजेटले नपुग्ने भएकाले ऋण ल्याउने तयारीमा हामी छौं।’

पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले १० वर्षभित्र देशकै धनी प्रदेश बनाउने उद्देश्य अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैलाई साथ दिन आग्रह गरे। कर्णालीको समृद्धि र विकासका लागि यहाँको प्राकृतिक स्रोतको उचित उपयोग गर्नुपर्ने आवश्यकता उनले औल्याए। ‘हामीसँग पर्याप्त प्राकृतिक स्रोत छ, परिश्रमी जनता छन्’ उनले भने, ‘भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम ग¥यौं भने १० वर्षभित्र देशकै धनी प्रदेश बनाउन सक्छौं।’

उनले प्रदेश सरकारले आउने आर्थिक वर्षको बजेटमा कर्णालीको समृद्धिका आधारका रुपमा रहेका ठूला आयोजनाको विस्तृत संभाव्यता अध्ययन गर्न आग्रह गरे। संघीय सरकारले सार्वजनिक गरेको बजेटमा उत्तरी छिमेकी चीनसँग जोड्ने कर्णाली र भेरी करिडोर सडक समेटिएको भन्दै त्यस्तै प्रकारका ठूला आयोजना निर्माणका लागि प्रदेश सरकारले पहिले डिपिआर तयार गर्नुपर्ने बताए।

एक प्रश्नको जवाफमा नेता शर्माले प्रदेशका अहिलेका मुख्यमन्त्री नै नयाँ पार्टीको संसदीय दलको नेता चुनिने संकेत गरे। ‘केन्द्रमा पनि प्रधानमन्त्री नै संसदीय दलको नेता चयन हुनु भएको छ’ उनले भने, ‘प्रदेशको हकमा पनि केन्द्रले चाँडै निर्णय गरेर पठाउँदैछ, यहाँ नेता छान्ने काम हुँदैन्।’

उनले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नयाँ पार्टी बनिसकेकाले भागबण्डाका आधारमा भन्दा पनि पार्टीको आवश्यकता र औचित्यताका आधारमा प्रदेश, जिल्ला र मातहतका कमिटीहरु गठन हुने बताए। ‘अब भागबण्डाका आधारमा कमिटीहरु गठन हुँदैनन्, आवश्यकता र औचित्यताका आधारमा हुन्छ’ उनले भने, ‘यो नै अहिलेको आवश्यकता हो।’ शर्माले सचिवालयको संख्या पनि नबढ्ने बताए।

प्रकाशित: १९ जेष्ठ २०७५ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App