८ वैशाख २०८१ शनिबार
समाज

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

पाल्पा– सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी पवित्रमणी आचार्यले माथिबाट पहिरो झरिरहेका कारण समस्या भएर बाटो बन्द गरि पहिरो हटाउने काम गरिएको बताए। उनी भन्छन्, ‘पानी पर्नासाथ माटो र ढुङ्गा झरेको छ। काम आज लगभग सकिएको छ। भोलि केही समय सफा गर्ने काम हुन सक्छ।’

तिनाउ गाउँपालिका सिद्धबाबा–दोभानमा दैनिकजसो पहिरो जाने गरेको छ। वर्षा नलाग्दै दैनिक पहिरो खसेर बाटो बन्द हुन थालेपछि गाडी चालक र यात्रुहरुले सास्ती खेप्दै आएका छन्।

पहिरो हटाएर केहीबेर सडक खुलाएपनि माथिबाट खस्ने क्रम भने रोकिएको छैन। ठूला–ठूला ढुंगासहितको लेदो माटो खसेर यात्रु र सवारी साधनमा लाग्नसक्ने डरले बाटो बन्द गरेर काम थालिएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्मको पाँच किलोमिटर खण्ड ‘मृत्यु मार्ग’का नामले परिचित छ। वर्षायाममा मात्र होइन, हिउँदमा पनि ढुंगे पहिरो खसेर यस सडकखण्डमा थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन्। यो खण्डको ३ किलोमिटर क्षेत्र पहिरोको दृष्टिले अति जोखिमयुक्त मानिन्छ।

प्रकाशित: १९ जेष्ठ २०७५ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App