coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

जिल्ला समन्वय समिति ताप्लेजुङको दोस्रो सभाको उद्घाटन सत्रमा अतिथिको रुपमा आएका भट्टराईले अहिलेसम्म ताप्लेजुङको जलस्रोतबाट मात्रै साढे १४ सय मेघावाट क्षमताको जलबिद्युत् उत्पादनका लागि अनुमति लिइसकेको जानकारी दिए। ३१ वटा जलबिद्युत् कम्पनीले जलबिद्युत् आयोजना निर्माणका लागि लिएको अनुमतिमध्ये केहि निर्माणको चरण, केहि सम्भाव्यता अध्ययन र केहि उत्पादनको अन्तिम चरणमा पुगेकोले निकट भबिष्यमै ताप्लेजुङ एक्लैले पूरै प्रदेश उज्यालो बनाउन सक्ने क्षमता राख्ने उनले बताए।

तमोर, काबेली, मेवा, मैवा र ईँवाखोला जस्ता प्रशस्त जलस्रोतका क्षेत्रहरूको अधिकतम उपयोग गर्दै बिद्युत उत्पादनलाई प्राथमिकतामा राख्ने हो प्रदेश नम्बर १ को पूरै क्षेत्रलाई एउटै जिल्लाले उज्यालो बनाउन सक्ने भट्टराईको भनाई थियो। उनले साथमै रहेका गृहमन्त्री रामबहादुर थापा बादल मार्फत नेपाल सरकारलाई ७६३ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजना अघि बढाउने कार्यमा तत्काल प्रकृया चाल्न अनुरोध पनि गरेका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट एवं नीति तथा कार्यक्रम भित्र पनि तमोर जलाशययुक्त आयोजनालाई विशेष प्राथामिकता दिएकोले यसलाई सरकारले राष्ट्रिय महत्व दिएर कार्यक्रम सञ्चालन गर्न सक्नुपर्ने भट्टराईले बताए।

गृहमन्त्री थापा समक्ष भट्टराईले उत्तर दक्षिण जोड्ने टिपतालापास–ओलाङचुङगोला सडक खण्डलाई विशेष प्राथमिकतामा राखी कार्य अघि बढाउन तथा अलैंची उत्पादनलाई थप महत्व र गरिमाको स्थल बनाउने गरी सरकारको तर्फबाट विशेष पहल गर्न अनुरोध गरे।

टिपतालापास–ओलाङचुङगोला सडक व्यापारिक लिंकका हिसावले नेपालकै सबैभन्दा छोटो दुरी मार्फत भारत र चीन दुबैसँग कारोवार गर्न सकिने क्षेत्र भएकोले यसलाई महत्व दिएमा नेपाल, चीन र भारतबीच छोटो दुरी मार्फतनै त्रिदेशिय कारोवार हुन सक्ने भट्टराईको भनाई थियो । उनका अनुसार टिपतालापास–ओलाङचुङगोला सडक नाका बाट साढे दुईसय किलोमिटर भन्दा कम दुरीबाटै नेपाल, भारत र चीनको व्यापारीक करिडोर स्थापित हुन्छ। यो नाका मार्फत चीनको सबैभन्दा प्रमुख व्यापरिक नाका सिगात्च्छे हुँदै नेपाल र भारतको जोगवनी सम्म व्यापारिक करिडोर बनाउन सकिन्छ।

प्रकाशित: १९ जेष्ठ २०७५ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App