महाभूकम्पपछि...

शनिबार, १९ जेठ २०७५, १० : ०६ उपेन्द्र लामिछाने

55


९० सालको भूकम्पजस्तै राजधानी सहरको करिब २५ किलोमिटरमा केन्द्रविन्दु बनाएर महाभूकम्प गयो। चारैतिर धुवाँ र धुलोको मुस्लो उठ्यो, गल्ली–गल्लीमा एकाएक रुवाबासी चल्यो। बाटोघाटो सबैतिर भत्केका छन्। कतै आगो लागेको छ। बम पड्केजसरी ग्यास सिलिन्डर पड्किरहेका छन्।

कतै पानीको पाइप फुटेर बस्न नहुने गरी सबैलाई चिसो रातमा भिजाएको छ। कतै घर भत्किने क्रममा चरचर आवाज आइरहेको छ त कतै घरले पुरिएका पीडितलाई निकाल्न घर भत्काउने साधनको खोजी भइरहेको छ। सरकारले करिब दुई लाख ५० हजार साना घर र ३० हजार व्यापारिक घरहरू भत्केको जनाएको छ। औषधि, खानेपानी र खानेकुरा छैन । कोही पुरिएका आफन्तलाई बिर्सेर बसाइँ सर्ने तरखरमा छन्, कोही आफन्तको चित्कार र पीडा सुन्न नसकेर आफैं बेहोसझैं भत्केको घरको आडमा रात गुजारिरहेका छन्।
०००
यो कल्पनातीत घटनाको समाचार ‘महाभूकम्पपछि...’को अंश हो, जुन महाभूकम्पभन्दा तीन महिनाअघि २०७१ माघ २४ गते नागरिक दैनिकमा छापिएको थियो। भूकम्प आउनुभन्दा तीन महिनाअगाडि ९० सालको जस्तै भूकम्प आए के–कस्ता समस्या आउन सक्छन् र तिनको निराकरणको लागि सरकारको तयारी के छ भनेर बुझ्नको लागि यो समाचार लेखिएको थियो।

भूकम्प गएपछि समाचारमा कल्पना गरिएका घटना घटे। संरचना ढले, थुप्रैले ज्यान गुमाए। तर, समाचारमा उल्लेख गरिएको जस्तो सरकारी तयारी पूरा देखिएन। विपद्बारे समयमै ध्यान नपुर्याउँदा भूकम्पमा ठूलो क्षति भयो।

भूकम्पको तीन वर्षपछि हामीले यहि समाचारलाई आधार मानेर भूकम्प चर्चा गरेका छौं।

२०७२ सालको भूकम्पअघि २०७१ माघ २४ गते ठूलो भूकम्पछिको अवस्थालाई कल्पना गर्दै नागरिक दैनिकमा पंतिकारले लेखेको एउटा समाचार छापियो। समाचारको शीर्षक थियो– ‘महाभूकम्पपछि...’।

त्यति बेलाको समाचारमा भूकम्प प्रविधि राष्ट्रिय समाजका प्रमुख आमोदमणि दीक्षित नेपालमा महाभूकम्प गएमा उपत्यकामा मात्रै तत्काल एक लाख मानिसको मृत्यु हुने अनुमान गरेका थिए। ‘तीन लाखजति अस्पताल भर्ना हुन्छन् भने १० देखि १५ लाख  सर्वसाधारण घाइते हुन सक्छन्,’ उनले  त्यतिबेला अनुमान गरेका थिए, ‘बिजुली र खानेपानीसमेत अवरुद्ध हुँदा सोचेभन्दा धेरै अप्ठ्यारा आउनेछन्।’

०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा करिब १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो । अनुमान गरेजस्तो मानवीय क्षति नभएकोमा दिक्षित खुसी देखिए । ‘एक हिसावले त्यो ‘भाग्यमानी भूकम्प’  थियो,’ उनले भने, ‘त्यसले सोचेजति नोक्सान गराएन् ।’  एकपटक हामीलाई समय र भाग्यले साथ दिए पनि  सधै त्यस्तै नहुने उनको चेतावनी दिए।

‘शनिबारको दिन, दिउँसोको समय भएकाले जनधनको क्षति कम देखियो,’ उनले भने, ‘यसो नभएकोमा यो भन्दा ठूलो संख्यामा नोक्सानी व्यहुर्नु पर्थ्यो ।’ भत्किएका विद्यालयका अवस्था नियाल्दा मात्र बिदाको दिन नपरेको भए २० हजारभन्दा बढी स्कुले नानीहरूको जीवन जोखिममा पर्न सक्ने उनले सुनाए।

२०७२ सालको भूकम्पले दिएको सबैभन्दा ठूलो कुरा भने सर्वसाधारणलाई सजग बनाएको छ । ‘कहिले आउने हो, आउँछ कि आउँदैन भन्ने मान्यता रहेका सर्वसाधारणलाई भूकम्प आउनसक्छ भन्ने शिक्षा दिएर गएको छ,’ दिक्षितले  थपे, ‘केन्द्रदेखि गाउँतहसम्म पुगेको यही सन्देशले काम गर्न विगतको तुलनामा सजिलो भएको छ।’

२०७२ सालको भूकम्पअगाडि विज्ञहरूले हाइटीलाई आधार मानेर भूकम्पको अनुमान गर्थे । ‘हाइटी र नेपालको अवस्थामा फरक हुँदैन,’ त्यति बेला भूगर्भविद् प्रा.डा. विशालनाथ उप्रेती भन्छन्, ‘त्यस्तै वा त्योभन्दा केही ठूलो भूकम्प नेपालमा गए हाइटीभन्दा नाजुक अवस्था हामीले भोग्नुपर्छ।’

अमेरिका नजिकको देश र समुद्री पहुँच भएकाले हाइटीमा पीडितहरूको चाँडै उद्धार भयो । र, मानवीय क्षति उति धेरै हुन पाएन । तर, नेपालजस्तो देशका लागि सम्भावित जोखिम महँगो पर्नेछ । ‘महाभूकम्पको केही दिन त यहाँ टाउकोमा हात राखेर बस्नुबाहेक विकल्प रहँदैन,’ उप्रेतीले उतिबेलै सुनाएका थिए।

दिक्षित यो कुरामा सहमत छन्। भूकम्पको समयमा  विदेशबाट आएका उद्धारकर्ताले १९, नेपालमा रहेका सुरक्षाकर्मीले चार हजार र समुदायका मानिसले २२ हजारको उद्धार गरेको उनले सुनाए । ‘भूकम्पपछि सबैभन्दा पहिलो उद्धार समुदायले गर्ने हो,’ उनले भने, ‘अरु आउन्जेल धेरै  ढिलो भइसकेको हुन्छ।’   

भूकम्पले हामीलाई ठूलो शिक्षा दिएर गएको दिक्षित सुनाउँछन्। ‘व्यक्तिका घरसँगै अस्पताल, सरकारी कार्यलय, विद्यालय सबै बलिया बनाउनुपर्छ भन्ने चेतना दिएर गएको छ,’ उनले भने, ‘सर्वसाधारणमात्र हैन, प्रधानमन्त्री समेत पालमा आएर बस्नुपर्ने अवस्थाको अब अन्त हुन्छ भन्ने आशा गरौं।’

संयुक्त राष्ट्रसंघले मानवीय क्षतिको हिसाबले विश्वमा सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको सहरमध्ये काठमाडौं उपत्यकालाई एक नम्बरमा राखेको छ । सिंगो नेपालचाहिँ भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औं स्थानमा पर्छ । उपत्यका केन्द्रविन्दु भएर नेपालमा भूकम्प गएको त छैन । तर, सबैभन्दा जोखिम काठमाडौं उपत्यका रहेको छ । नेपालमा दैनिक चारदेखि पाँच वटा भूकम्प जाने गर्छ । त्यसको थर्कन सबैभन्दा धेरै काठमाडौंले महसुस गर्छ।

विशेषज्ञहरूका अनुसार नेपाल युरेसियन प्लेट तथा भारतीय प्लेटको जोर्नीमाथि अवस्थित छ । यी दुवै प्लेट भने बर्सेनि २५ मिलिमिटरका दरले एक–अर्कातिर सरिरहेका छन् । यसले गर्दा पृथ्वीभित्र चट्टानमा चाप उत्पन्न हुन्छ र त्यही चाप बढ्दै गएपछि भूकम्पका रूपमा प्रकट हुन्छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले २०७२ को भूकम्पअगावै भूकम्पको सम्भावित जोखिमलाई राजधानीवासीले बेवास्ता गरेको सुनाएका थिए । ‘सानातिना त सधैं आउँछन् । तर, महाभूकम्प पनि आउन सक्छ भनेर सधैं सचेत भइरहनुपर्छ,’ उनले त्यतिबेला सुझाएका थिए, ‘भूकम्प आएपछि भाग्ने भन्दा पनि बलियो घर बनाउनुपर्छ।’

मापन केन्द्रका सिस्मोलोजिस्ट चिन्तन  तिमल्सिनाको बुझाई अहिले पनि यस्तै छ । उनी भूकम्प आएको तर नसकिएको बताउँछन् । ‘हो, जोखिम केही टरेको छ,’ उनले भने, ‘तर, हामीले सम्भावित भूकम्पलाई बेवास्ता गर्न सकिन्न।’

भूकम्पले काठमाडौंलाई सोचेभन्दा धेरै कम हल्लाएको भन्दै त्यसले क्षतिमा कमी आएको उनले सुनाए । ‘गोर्खादेखि दोलखासम्म साना–ठूला सबै घर प्रभावित बने,’ उनले भने, ‘उपत्यकाले थर्कन त्यति ठूलो महसुस नगरेकाले घरको क्षति कम भयो ।’  पहाडी जिल्लामा दुई तलाको घरसमेत ढलेको समयमा राजधानीमा चार तलेघर बचेको उनले बताए । ‘म यसलाई पनि राजधानीवासीको भाग्य नै मान्छु,’ उनले भने, ‘हामीले तितो विगतबाट शिक्षा लिएरअगाडि बढ्नु छ ।’    भाग्यले मात्र सधै साथ नदिने उनी सुझाउँछन्।

भूकम्प ब्याक टु नर्मल नभइसकेको अवस्था रहेको भन्दै उनले डराउनु नपर्ने तर सचेत हुनुपर्ने सुझाए । ‘फागुन १८ गते दोलखा केन्द्रबिन्दु बनाएर गएको ४ दशमलब ६ रेक्टरको भूकम्पयता ४ भन्दा माथिको भूकम्प गएको छैन,’ उनले भने, ‘सानातिना धक्का भने निरन्तर आइरहेको छ ।’

भवन निर्माण गर्दा मात्र १० प्रतिशत अतिरिक्त खर्चले भूकम्प प्रतिरोधी भवन बनाउन सकिन्छ । भूकम्पको धक्काले भन्दा भत्केका भवन तथा अन्य संरचनाले मर्नेको संख्या धेरै हुन्छ । भूकम्प जाँदा मानवीय क्षतिमध्ये ८० प्रतिशत त घरहरूले नै गराउने गरेका छन् । ‘पुरानो घरलाई विशेष प्रक्रियाद्वारा बलियो बनाउनुपर्ने र नयाँ घर निर्माण गर्दा भूकम्प प्रतिरोधी नै बनाउनुपर्ने विज्ञको बुझाइ छ।

गाविसहरू नगरपालिका बनेका छन् । सहर बन्ने क्रम बढ्दो छ । तर, भवन निर्माण भने जथाभावी ढंगले भइरहेको छ । भवन निर्माण संहिताको बेवास्ता गरिँदा आइलाग्ने प्रलयले धेरै क्षति पु-याउनेतर्फ कमैको ध्यान गएको देखिन्छ।

महाभूकम्प अगाडिको रिपोर्टमा भवन विभागका उपमहानिर्देशक शिवहरि शर्मा सुरक्षित भवन निर्माणका लागि २०६१ सालबाटै भवन संहिता लागू गरिएको भए पनि जनचेतनाको अभावमा सोचे जति प्रभावकारी बन्न नसकेको स्विकार्छन् । ‘जबसम्म घर बनाउनेले आफ्नो घरको सुरक्षाबारे चासो दिँदैनन्, त्यति बेलासम्म यसको प्रभावकारिता सोचेजस्तो रहँदैन,’ उनले सुनाएका थिए।

उपमहानिर्देशकबाट शर्मा महानिर्देशक भएका छन् । तर, अझै पनि सोचे जति परिवर्तन नभएकोमा उनी चिन्तित छन् । ‘भूकम्पपछि बनेका अधिकांश घर प्रतिरोधी त बनेका छन्,’ उनले भने, ‘अझै पनि कतिपयले खर्च लाग्ने भनेर झारा टार्ने गरेको भेटिएको छ ।’

अब स्थानीय तहमा सरकार पुगेको भन्दै यसमा स्थानीय निकायले अनुगमन गर्नुपर्ने उनी बताउँछन्। विगतमा सहरी क्षेत्रमा लागू भएको भवन संहिता अब देशभर लाग्नुपर्ने जरुरी देखिएको छ।

‘जोखिमयुक्त घर बनाउनु भनेको आत्महत्या गर्नुसरह हो,’ उनी  भन्छन्, ‘जीवन नै जोखिममा रहने यस्ता घर निर्माणमा रोक लगाउन स्थानीय निकाय सक्रिय रहनु पर्छ ।’  भूकम्प आएमा भाग्नेभन्दा पनि आत्मविश्वासका साथ आफ्नै घरमा रहन सक्ने भवन निर्माण गर्न जरुरी रहेको उनी सुझाउँछन्।

पुनर्निर्माण सोचेजस्तो भएन
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण सोचेजस्तो नभएको विज्ञ बताउँछन्। पुनर्निर्माणमा दूरगामी सोच नभएका कारण समस्या आएको उनीहरूको भनाइ छ । ‘भएका सबै डकर्मीलाई तालिम दिँदा पनि घर बनाउनेको कमी भएको छ,’ दिक्षितले  भने, ‘अब हामीले प्रभावित क्षेत्रकालाई मात्र हैन देशभरका डकर्मीलाई तालिम दिनु जरुरी छ ।’  सरकारले भवन संहिता बनाएर गाउँपालिकादेखि नगरपालिका सबैतिर यसलाई लागू गर्न बाध्यात्मक बनाएको खुसीको खबर रहेको उनले बताए।

झटपट झोला
भूकम्पअगावै झटपट झोलाको कुरा उडे पनि त्यसको अझै तयारी पूरा भएको छैन । काठमाडौं उपत्यकामा ठूलो भूकम्प आयो भने सरकारी तबरबाट यहाँका बासिन्दालाई न्यूनतम आवश्यक राहत सामग्री वितरण गर्न केही दिनदेखि हप्ता दिनसम्म लाग्न सक्छ । त्यसैले प्रत्येक परिवारले एउटाका दरले झटपट झोला तयार पारी २–४ दिनको लागि आत्मनिर्भर हुन सकेको खण्डमा भूकम्पपछिको जीवन सहज हुन जानेमात्र नभई चिसोले कठ्यांग्रिएर वा खान नपाएर मर्नेहरूको संख्यामा कमी आउँछ । झटपट झोलामा एक जोर लुगा–जुत्ता, सानो कम्बल राख्दा अझ सुविधाजनक हुन्छ । तर, यसो गर्नका लागि परिवारका प्रत्येक वयस्क सदस्यले झटपट एउटा झोला तयार पार्नुपर्ने हुन्छ । झोलामा राखिएका खानेकुरा र औषधिहरू प्रत्येक ६ महिनामा बदलिरहनुपर्छ।

के छ तयारी ?
 त्यति बेला पनि सरकारले विपद्सँग लड्ने नीति सार्वजनिक गरिसकेकाले सोहीअनुसार सम्भावित प्रकोप व्यवस्थापनको तयारीमा रहेको बताउँछन्, गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन शाखाका प्रमुख प्रदीप कोइरालाले सुनाएका थिए । ‘कुनै पनि विपद्को समयमा कसले के काम कसरी गर्ने भन्नेबारे हामीले पहिल्यै तयारी गरेका छौं,’ कोइरालाले त्यति बेला सुनाएका थिए, ‘त्यही नियमअनुसार राज्यका संयन्त्र सञ्चालन हुनेछन्।’

विपद व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपाने  भूकम्पपछि के गर्ने भन्नेमा बढी ध्यान गए पनि भूकम्पअगाडि कसरी तयारी गर्नेतर्फ पर्याप्त ध्यान जान नसकेको सुनाउँछन् । ‘हामीलाई पछिल्लो भूकम्पले ठूलो शिक्षा दिएर गएको छ,’ उनले  भने, ‘तर, त्यो शिक्षा अझै व्यहवारमा लागू हुन सकेको छैन ।’  विपद्को तयारी १२ महिना भए मात्रै जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए।

जोखिम अझै छ
हिमाली क्षेत्र भूकम्पका दृष्टिकोणले जोखिमयुक्त हो । पश्चिमको गोर्खादेखि देहरादुनसम्मको क्षेत्रमा ५ सय वर्षदेखि एउटा पनि महाभूकम्प नआएकाले यो क्षेत्रमा कुनै पनि समय महाभूकम्प जान सक्ने अनुमान  २०७१ माघमा प्रमुख लोकविजय अधिकारीले गरेका थिए । उनले त्यति बेला त्यो क्षेत्रमा भूकम्प आए त्यसको थर्कनले राजधानी तहसनहस हुन सक्ने अनुमान गरेका थिए।

हालसम्मका अध्ययनअनुसार यस क्षेत्रमा भूगर्भीय चट्टानमा रहेको गतिशीलताकै कारण भूकम्प जाने गरेको छ। नेपालको दक्षिणतर्फ रहेको भारतीय प्लेट हरेक वर्ष उत्तरतर्फ रहेको तिब्बतीयन प्लेटभित्र घुस्ने गरेको छ। यही क्रममा अहिले यो क्षेत्रको जमिनमुनि तनाव सिर्जना भएको छ। भूकम्पको आँखाबाट हेर्दा हामी घरमा होइन, एम्बुसमा बसेको अवस्थामा छाैं।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसाल मंगलबारबाट ९१ वर्ष लागेका छन् । केही वर्षयता हरेक जन्मदिनको अवसरमा पुस्तक प्रकाशित...

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

नेपालमा वर्षेनी भइरहने दर्जन हाराहारीको फिल्म अवार्डमा अर्को नयाँ अवार्ड ‘सोसियल मिडिया अवार्ड’ थपिने भएको छ। ...

खोटाङमा तीज महोत्सवको तयारी

खोटाङमा तीज महोत्सवको तयारी

संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले...

मंसिरमा पुग्यो ‘सुश्री सम्पत्ति’

मंसिरमा पुग्यो ‘सुश्री सम्पत्ति’

आगामी भाद्र २२ मा रिलिज मिति तोकिएको फिल्म ‘सुश्री सम्पति’ अब मंसिर २८ मा रिलिज हुने भएको छ। ...