८ वैशाख २०८१ शनिबार
अन्य

प्रेम र ध्यानलाई फैलाउँदै अशोक

सेतो लामो कपाललाई कोरेर पछाडि बाँधेका छन् । त्यस्तै सेतै लामो दाह्री । झट्ट हेर्दा नै सन्तजस्तै देखिने उनी एक महान सद्गुरुका शिष्य हुन् । उज्यालो र हँसिलो अनुहार मानौं उनलाई कहिल्यै कुनै पीडाले नछोएजस्तो । कसैले प्रश्न गरिहाले पनि शालिन र भद्रशैलीमा हासेरै जवाफ दिने उनको बानी ।

उनको साहत्यीक लवजको वाणीमा जो कोही पनि मोहित हुन्छन् । उनले लगाउने एकै खालको कपडा चाहे त्यो जुनसुकै रङमा होस्, गलामा सद्गुरु ओशोको फोटोसहितको माला । उनै व्यक्ति जसलाई स्वामी अशोक भारती (पुना) भनेर धेरैले चिन्छन् । भारतको अमरापुरी पुनामा सन् १९४७ मा जन्मिएका उनी पहिलो पटक २०७४ फागुनमा परेको महाशिवरात्रिका अवसरमा नेपाल आएका थिए । त्यो बेलाको नेपाल बसाईका क्रममा नेपालीहरूबाट पाएको माया र सद्भावले उनलाई डोर्याएर फेरि नेपाल ल्याएको छ । उनी नेपाललाई औधी माया गर्छन्।

स्वामी भारतीको नेपालप्रतिको प्रेमलाई देख्दा शिवपुरीबाबाको प्रसंग पनि लेख्न मन लाग्यो । शिवपुरीबाबा सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट नेपाल आएका  थिए । शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका उनलाई नेपालमा रहेको आध्यात्मिक ऊर्जाले नेपाल छोडेर जान दिएन । र, कालान्तरमा उनी पशुपतीस्थित ध्रुवस्थलीमा बसे । शिवपुरीबाबाले नेपाल एउटा तपोभूमि भएको बताएका थिए । स्वामी आनन्द अरूणले ओशो तपोवनमा उनै शिवपुरीबाबाको मन्दिर निर्माण गरेका छन् । नेपालमा कोही आध्यात्मिक व्यक्तित्व आउँछन् भने उनीहरूलाई यहाँको ऊर्जाले फर्किएर जान नदिने कुराहरूको उल्लेख गर्छन्, एक ओशो सन्यासी।

स्वामी अशोक भारती भन्छन्, ‘नेपालको माटो यति धेरै उर्वर छ की यहाँ बीउ रोप्न सके मात्रै पनि उब्जाउ सम्भव छ ।’ उनले नेपाली भूमि उर्बर र उब्जाउ गर्न सहज छ भनिरहँदा कतिलाई लाग्दो हो– कृषिप्रधान देश नेपालको बारेमा उनले भनिरहेका छन् । तर, उनले कृषि उपजलाई होइन, ध्यानको उपार्जनमा नेपाली माटो मलिलो छ भन्न खोजेका हुन् ।

स्वामी अशोक भारती भन्छन्, ‘नेपालको माटो यति धेरै उर्वर छ की यहाँ बीउ रोप्न सके मात्रै पनि उब्जाउ सम्भव छ ।’ उनले नेपाली भूमि उर्बर र उब्जाउ गर्न सहज छ भनिरहँदा कतिलाई लाग्दो हो– कृषिप्रधान देश नेपालको बारेमा उनले भनिरहेका छन् । तर, उनले कृषि उपजलाई होइन, ध्यानको उपार्जनमा नेपाली माटो मलिलो छ भन्न खोजेका हुन् । ‘नेपालीभित्र अथाह प्रेमको सागर छ,’ उनी भन्छन् । उनको आँखाले नेपाल ध्यान र अध्यात्मको क्षेत्रमा हराभरा हुने देख्छन् । पहिलो पटक नेपाल आएका बेला मैले उनलाई भेट्ने मौका पाएँ । आफ्नो गुरुप्रतिको प्रेमलाई देखेर म भावविह्वल भएको थिएँ।

उनै स्वामी भारतीलाई मैले दोस्रो पटक बुद्धभूमि लुम्बिनीस्थित ओशो जेतवनमा भेट्ने मौका पाएँ । ध्यान सिविर सञ्चालनार्थ उनी फेरि पनि नेपाल आएका हुन् । र, उनको अबको बसाई भनेको करिब दुई महिनाको हुनेछ । महाशिवरात्रिको अवसरमा ओशो तपोवन काठमाडौंमा र बुद्धपूर्णिमाको अवसरमा बुुद्धजन्मस्थल लुम्बिनीमा उनले तीन–तीन दिनको ध्यान सिविर सञ्चालन गरिसकेका छन् । ध्यान सिविर सञ्चालनार्थ नेपाल आएका स्वामी अशोक भारती मात्र गुरुप्रतिको भक्ति, प्रेम र ध्यानको माध्यमलाई विश्वरभर फैलाउन चाहन्छन् ।

जब गुरुको प्रेमको कुरा आउँछ, तब उनको आँखामा हरक्षण श्रद्धा र प्रेमका आँसु छचल्किन्छ । स्वामी अशोक भारती भन्छन्, ‘विश्वमा ध्यान र प्रेमको संगीत फैलाउनु छ । प्रेम र ध्यानबिना संसार अन्धकारमय छ ।’ स्वामी भारती आफ्ना गुरुलाई आनन्द र प्रेमको अश्रुगुच्छाले पुजेर मात्रै शिविरको सुभारम्भ गर्छन्।

ध्यानलाई फैलाउन स्वामी भारती भारतदेखि नेपालसम्म आएका छन् । उनी नेपालका विभिन्न स्थानमा ध्यान शिविर सञ्चालमा सक्रिय छन् ।

नेपालमा करिब एक लाख ओशो सन्यासी छन् भने करिव ९५ ओशो कम्युन र ओशो आश्रम छन् । बोधिसत्व स्वामी आनन्द अरूणले नेपालमा ओशो ध्यान र प्रेमलाई यति विकसित रूपमा फैलाउने काम गरेका छन् कि यो एउटा क्रान्ति जसरी फैलिँदै गएको छ । उनै स्वामी आनन्द अरूणको कामलाई अझ फैलाउने काममा साथ दिन स्वामी भारती नेपाल आएका हुन्।

२० औं शताब्दीका महान आध्यात्मिक गुरु ओशोले आफू जीवित रहुन्जेल ध्यान र प्रेमलाई फैलाउन विशेष जोड दिएका थिए । ओशोले भनेका छन्, ‘ध्यान छ त धन छ ।’ ध्यान भन्नेबित्तिकै मानिसहरू कि त केको ध्यान गर्ने भन्नेमा अलमल्ल पर्छन् कि त आँखा चिम्लेर आधा÷एक घन्टा आसन जमाएर बस्ने भन्ने बुझ्छन् ।

तर, सदगुरु ओशोले भनेका छन्, ‘ध्यान भनेको एक मात्र एउटा यस्तो कार्य हो, जो हरेकपल होसका साथ गरिने क्रियामा पर्छ, जस्तै ः होसपूर्वक खाना खाने, होसपूर्व हिँड्नेलगायत हर कार्य जो होशपूर्वक गरिन्छ ।’ सद्गुरु ओशोको यही ज्ञानलाई स्वामी अशोक भारती विश्वभर फैलाउन चाहान्छन् । सद्गुरु ओशोका प्रिय शिष्यमध्ये एक स्वामी अशोक भारती एक मात्र यस्ता शिष्य थिए, जो ओशोको हरेक प्रवचनभन्दा पहिला उनलाई गीत गाउन अनुमति थियो । स्वयं ओशो आफ्ना शिष्य भारतीलाई गीत गाउन लगाउँथें । स्वामी भारतीलाई सद्गुरु ओशोबाट अभूतपूर्व सौभाग्य प्राप्त छ । ओशोसँग १९६६ मा जोडिन पुगेका उनी एउटा गरिब परिवारबाट आएका थिए ।

जसलाई ओशोको प्रवचन भएको ठाउँसम्म जान पनि समस्या थियो । तर, उनको आफ्नो गुरुप्रतिको समर्पणले गर्दा उनी आज ओशोको ज्ञानलाई फैलाउने बाटोमा छन् । जति म स्वामी भारतीको प्रवचन सुन्छु त्यति उनमा आफ्नो गुरुप्रतिको समर्पण भावलाई देखेर मेरो आँखाबाट आँसु रसाउँछ । हामीले प्रेम एक शरीरले अर्काे शरीरलाई गरिरहेका छौं । तर, जब स्वामी भारतीको प्रवचन सुन्छु म उनीमा आफ्नो गुरुप्रतिको प्रेम प्रगाढ रूपमा पाउँछु । ओशो अब शरीरमा छैनन् । तर, एउटा शिष्यले आफ्नो गुरुलाई गर्ने प्रेम झन् बढ्दै गएको भान स्वामी भारतीमा भेटिन्छ।

आफ्ना शिष्य भारतीलाई ओशोले १९७२ मा माउण्टआबुमा दीक्षित गरेका थिए । जब स्वामी भारती ओशोबाट दिक्षित भए, त्यसपछि उनी पूरै भारतमा आफ्नो गुरुको ज्ञान र ध्यानलाई बाँड्न हिँडे, त्यो क्रम अहिले पनि जारी छ । स्वामी अशोक भारती ती दिन सम्झँदै साहित्यिक लबजमा भन्छन्, ‘त्यो क्षण मेरा लागि अद्भूत थियो जुन बेला मेरो गुरुको सामु मैले गीत गाउने सौभाग्य पाएँ । त्यो १९८६ को कुरा हो । जब दिनको ३ बजेको थियो, मेरो गुरुको सुत्ने कोठामा मलाई बोलाउनु भयो र त्यही समयमा मैले एउटा गीत गाए त्यसै बेलामा ज्योतिको हस्तान्तरण भयो।

त्यही क्षण मेरो अनन्तकालदेखि निभेको दियो बल्यो । त्यसपछि मलाई उहाँले महिना दिनसम्म आफ्नै सामीप्यमा रहेर गीत गाउने अवसर प्रदान गर्नुभयो । सद्गुरु ओशोले गुरु शिष्यको यो मिलनलाई आफ्नो धेरै प्रवचनमा उल्लेख गर्नुभएको छ ।’ स्वामी भारती गद्यमा मात्रै होइन, पद्यमा पनि प्रवचन दिन माहिर छन् । उनका हरेक प्रवचन गद्य र पद्यको शैलीमा हुन्छ । जसले श्रावकहरूमाझ पनि रस पैदा गर्छ।

ओशोले आफ्ना परमप्रिय शिष्य अशोक भारतीका बारेमा ओशो उपनिषद, वियोन्ड इन्लाटेनमेन्टलगायत प्रवचनमा पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अशोक भारती म तिम्रो प्रेमलाई देखिरहेको छु, तिमीभित्रको प्रेम बढ्दै गइरहेको छ ।’ साथै ओशोले स्वामी भारतीलाई सही बाटोमा हिँडेको उद्घोष पनि गरेका छन् । यो एउटा यस्तो सौभाग्य हो, एउटा शिष्यको लागि, जहाँ परमात्माको चर्चा भइरहेको हुन्छ, त्यहाँ आफ्ना शिष्यका बारेमा कुनै गुरुले यसरी प्रेमका फूल बर्साउँछन्।

यिनै अशोक भारती विश्वभर प्रेम र ध्यानलाई फैलाउन चाहान्छन् । ‘ध्यान यो जीवनको सबैभन्दा मूल्यवान वस्तु हो,’ उनी भन्छन्, ‘ध्यान छ त धन छ । र, ध्यानले धनलाई सही उपयोग गर्न सिकाउँछ ।’ उनको लक्ष्य भनेको हर कोही दुःखको पीडाबाट मुक्त होउन् । त्यसको लागि ध्यान अपरिहार्य छ भन्ने मान्छन् उनी । प्रेम र ध्यान नै त्यो मार्ग हो जो कोही पनि यो संसारिक पीडाबाट मुक्त हुनसक्छ । शरीरको पीडा ठिक पार्ने कयौं उपाय हुन सक्छन् । तर, मनको पीडा ठिक पार्ने ध्यानभन्दा अरु कुनै औषधि छैन।

त्यसैले अहिले शरीरभन्दा मनलाई निरोगी राख्न अनिवार्य भइसकेको छ । अहंकारले गर्दा हामी एक–अर्काको दुश्मन छौं । अहिले अहंकारले गर्दा परिवारमा मेलसम्म छैन । र, त्यो अहंकारलाई परास्त गर्ने एउटै उपाय हो ध्यान । त्यही औषधिरूपी ध्यानलाई फैलाउन स्वामी भारती भारतदेखि नेपालसम्म आएका छन् । र, नेपालका विभिन्न स्थानमा ध्यान सिविर सञ्चालनार्थ सक्रिय छन्।

प्रकाशित: १९ जेष्ठ २०७५ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App