coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकीकृत माझी बस्ती बसाल्न निजी घर धरौटीमा

तस्बिर :श्वेताश्री फाउन्डेसनले साँगाचोक झ्याडीमा निर्माणाधीन एकीकृत नमुना माझी बस्ती र प्रस्तावित डिजाइन्।

सिन्धुपाल्चोक - इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई पूर्णत दिन रकम अभाव भएपछि नायिका श्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् । खड्काले स्थापना गरेको श्वेताश्री फाउन्डेसनको अगुवाइमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा एक वर्षदेखि ५३ घरधुरीसहितको एकीकृत नमसना बस्ती बनिरहेको छ ।

फाउन्डेसनको अगुवाइमा सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा निर्माणाधीन एकीकृत नमुना माझी बस्ती विकास परियोजनाले रकम अभाव भएपछि सहकारी संस्थाबाट ऋण निकालेर लगानी गरेको खड्काले बताइन् । भूकम्पीडित माझीका लागि यो बस्ती निर्माण गर्न लागिएको हो।‘काठमाडौंको बागबजारमा रहेको मेरो घर सहकारीमा धितो राखेर लिएको २० लाख रुपैयाँ बस्ती विकासमा लगाएकी छुँ । त्यसबापत सहकारीलाई मासिक व्याज मात्र २२ प्रतिशत तिरिरहेकी छुँ,’ परियोजनाबारे सरोकारवालालाई जानकारी दिन शुक्रबार सदरमुकाममा आयोजित अन्तक्र्रियामा फाउन्डेसनकी अध्यक्ष खड्काले भनिन् ।

सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाइ भएको र कानुनी जटिलताले बैंकबाट भूकम्पपीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम रोक्न नदिन निजी सम्पत्ति धितो राखेर लगानी जुटाउनुपरेको उनले बताइन् । पीडितले अनुदानको ३ लाखमा बैंकबाट ४ लाख ऋण थपेर ७ लाख रुपैयाँ जुटाउने र बस्तीको सम्पूर्ण भौतिक पूर्वाधार विकासमा फाउन्डेसनले सघाउने गरी खड्काले गत वर्षको जेठमा परियोजना शिलान्यास गरेकी थिइन्।

फाउन्डेसनका अनुसार १९ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको बस्तीमा तीन घर सम्पन्न भइसकेका छन् भने गारो लगाइसकिएका २२ घर निर्माण अन्तिम चरणमा छ । १० घरको भुइँतलाको संरचना (डिपिसी) तयार हुँदा अरु सात घरको जग खन्ने काम भइरहेको छ । बाँकी १३ घरको जग खन्ने काम सुरु हुनसकेको छैन । ‘निर्माण सामग्री, कामदार अभावलगायत धेरै कारणले बस्ती निर्माणमा ढिलाइ भइरहेको छ,’ खड्काले भनिन्, ‘मुख्य त लगानी अभावमै कामलाई तीव्रता दिन सकिएको छैन ।’ गएको बडादसैंमा स्थानीयलाई बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएको फाउन्डेसनले उक्त समयभित्र नसकेपछि यो जेठको भाका बनाएको थियो । सबैको सहयोग पाए साउन पहिलो साताभित्र स्थानीयलाई ‘गृह प्रवेश’ गराउन सकिने जानकारी अभिनेत्रीसमेत रहेकी खड्काले दिइन् ।

फाउन्डेसनकै अगुवाइमा निजी क्षेत्रको लक्ष्मी बैंक पीडितलाई सहुलियत ब्याजमा ४ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउन तयार छ । आवास बन्ने एकीकृत बस्तीको जग्गा कित्ताकाट नहुँदा उक्त ऋण पीडितले लिन नसकेको फाउन्डेसनका सचिव तथा परियोजना संयोजक यज्ञराज कार्कीले बताए । ‘बैंकले धितोमा जग्गा खोजेको छ । कित्ताकाट हुन नसक्दा धितो जुटाउन सकिएन,’ उनले भने ।फाउन्डेसनका अनुसार सबै पीडितले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् । बल्ल ३१ परिवारले दोस्रो किस्ता हात पारेका छन् । तेस्रो किस्ता १ लाख रुपैयाँका लागि प्रक्रिया नै सुरु भएको छैन । तेस्रो किस्ता लिन अनिवार्य शौचालय निर्माण वा सोलार बत्ती जडान गर्नुपर्ने व्यवस्था छ ।

तत्कालै सहज रुपमा पीडितले यो किस्ता पाउने देखिँदैन । ‘अनुदान वितरणमा विलम्ब हुँदा र ऋण पाउन सहज नदेखिँदा काम नरोकियोस् भनेर नायिका खड्काले आफ्नो घर नै धितोमा राख्नुपर्यो,’ परियोजना संयोजक कार्कीले स्पष्ट पारे । लामो र झञ्झटिलो सरकारी प्रक्रियाकै कारण समयमै पीडितले अनुदान नपाउँदा बस्ती निर्माण धकेलिँदै गएको उनले बताए । उनका अनुसार हालसम्म १४ परिवारको घडेरीमात्र कित्ताकाट भएको छ ।

पीडितले आवास निर्माणका लागि ३ लाख सरकारी अनुदान र ४ लाख बैंक ऋण गरी ३ करोड ७१ लाख रुपैयाँ जुटाउने र समग्र भौतिक संरचना निर्माणमा फाउन्डेसनले २ करोड ९ लाख रुपैयाँ सहयोग गर्नेगरी एकीकृत बस्ती विकासको काम थालिएको थियो।

भौतिक संरचना निर्माणका लागि धेरै सहयोग जुटिसके पनि रकम अभावमा पहिला पीडितकै घर ठड्याउन नसकेको फाउन्डेसनको भनाइ छ । ‘निर्माण नरोक्न पछि पीडितले पाउने अनुदानबाट शोधभर्ना गर्नेगरी भौतिक पूर्वाधार विकासका लागि संकलित सहयोग परिचालन गरिरहेका छौं,’ कार्कीले भने ।प्रस्तावित एकीकृत बस्ती तीन रोपनीमा बनिरहेको छ । ‘इन्टर लक’ इँटा प्रयोग गरी आरसिसी पिलरजडित घर तीनकोठे छन् । रंगिन जस्ताले छाइने घरमा एकै रङरोगनको साजसज्जाले एकरुपता ल्याइने फाउन्डेसनले जनाएको छ ।

गाउँका युवा सम्मिलित झ्याडी टोल सुधार समितिले स्थानीय स्तरमा बस्ती निर्माणको नेतृत्व लिइरहेको छ। फाउन्डेसनले भौतिक पूर्वाधार विकासअन्तर्गत बस्तीसम्म पुग्ने सडक, खुला रंगमञ्च, बाल बगैंचा, पानीको फोहोरा, सामुदायिक भवन, चौतारी, मन्दिर, ढल, नाला, साझा सेफ्टी ट्यांकी, व्यक्तिगत र सार्वजनिक खानेपानी धारा, शौचालय, विद्युत् व्यवस्थापनलगायतमा सघाउने प्रस्ताव छ । ‘माझी बस्तीलाई होमस्टे गाउँ बनाउँछौँ । गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउँदैछौं,’ खड्काले भनिन्।

ठूलो अभियान लिएर हिँडेको फाउन्डेसनका अभियन्ताको गुनासो र दुःखेसो सुनेपछि कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि र सरोकारवालाले परियोजनालाई सघाउने प्रतिबद्धता जनाएका छन् । परियोजनाको उद्देश्य, प्रगति र समस्या सुनेपछि उनीहरुले एकै स्वरमा भने, ‘अब यो परियोजना शवेता वा फाउन्डेसनको मात्र रहेन । हामी सबैको भयो । हरेक समस्यामा सघाउन तयार छौं ।’

जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले बस्तीसम्म पुग्ने सडक तत्काल सुधारका लागि काम हुने बताए । ‘यसबाट बर्खामा पनि निर्माणसामग्री ढुवानी गर्न सहज हुन्छ,’ उनले भने । उनले अनुदान वितरणलाई सहज बनाउँदै स्थानीयको जग्गा कित्ताकाटमा सघाउने वचन दिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले एक÷दुई दिनमै कित्ताकाटका लागि अमिन खटाउने वचन दिए । ‘सहज र तत्काल अनुदान निकासाका लागि सम्बन्धित बैंक र अन्य सम्बद्ध निकायसँग समन्वय गर्छौं,’ उनले भने।सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंक गौतमले अनुदान किस्ता तत्काल निकासा हुने वातावरण बनाउने प्रण गरे । लक्ष्मी बैंक चौतारा शाखाकी प्रबन्धक जमुना मोक्तानले बस्तीको जग्गा कित्ताकाट गरी आए ऋण प्रवाह नरोकिने बताइन् ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App