१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवर

काठमाडौं - नेपाली भाषासँग सरोकार राख्ने विभिन्न पक्षबाट विरोध हुँदाहुँदै पनि राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले कक्षा ११ र १२ मा नेपाली विषयलाई ३ क्रेडिट आवरको व्यवस्थासहित विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप शुक्रबार पारित गरेको छ । परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम प्रारुप पास गरेको हो।

शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाठ्यक्रमको प्रारुप सार्वजनिक गरे । नेपाली विषयलाई सातामा ३ क्रेडिट आवर, अंगेजी विषयलाई ४ क्रेडिट आवर, सामाजिक अध्ययनलाई ३ क्रेडिट आवर, जीवनोपयोगी शिक्षालाई ५ क्रेडिट आवर र ऐच्छिक प्रथम, द्वितीय र तृतीय तीन विषयलाई ५–५ क्रेडिट आवर छुट्याएको काप्रीले बताए ।

उनले कक्षा ११ र १२ मा तीन–तीन क्रेडिट आवर र सय–सय अंकभारको अनिवार्य नेपाली विषय राखिएको जानकारी दिए । ‘नेपालीलाई अंग्रेजी विषयसँग तुलना गर्नु ठीक होइन’, उनले भने, ‘नेपाली विषयलाई सरकारले महत्व दिँदै प्रयोजनमूलक बनाउन दुवै कक्षामा ३ क्रेडिटको व्यवस्था गरिएको हो । माथिल्लो तहको अध्ययनअध्यापन अंग्रेजी माध्यममा भइरहेको र विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न ४ क्रेडिटको अंग्रेजी विषयको व्यवस्था गरिएको हो । नेपालीलाई पछि पारिएको होइन ।’

माथिल्लो तहको अध्ययनअध्यापन अंग्रेजी माध्यममा भइरहेको र विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न ४ क्रेडिट आवरको अंग्रेजी विषयको व्यवस्था गरिएको हो । नेपालीलाई पछि पारिएको होइन ।
कृष्णप्रसाद काप्री, कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र

मन्त्री पोखरेलले सबै सरोकारवाला र विज्ञसँगको छलफलबाट देशलाई सुहाउँदो पाठ्यक्रम तयार पारेको दाबी गरे । उनले भने, ‘पाठ्यक्रमले व्यावहारिक प्रयोगात्मक शिक्षालाई जोड दिएको छ ।’ नयाँ पाठ्यक्रम प्रारुपमा पाँच तहमा बाँडेर विद्यालयस्तरको पठनपाठन गराइनेछ । यसअनुसार चार वर्षका बालबालिकाले प्रारम्भिक बालशिक्षामा अध्ययन गर्नेछन् भने ५–७ वर्ष उमेर समूहका बालबालिकाले कक्षा १–३ मा अध्ययन गर्नेछन् ।

यो समूहको सिकाइ क्षमतास्तर प्रथम तहको हुन्छ । यसैगरी ८–९ वर्ष उमेर समूहका बालबालिका कक्षा ४–५ भित्र पर्नेछन् । यिनीहरुको सिकाइ क्षमता स्तर दोस्रो तहको हुन्छ । १०–१२ वर्ष उमेर समूहका बालबालिका कक्षा ६–८ भित्र पर्नेछन् । यिनीहरुको ज्ञानको सिकाइ क्षमता स्तर तेस्रो तहको हुन्छ । प्रारम्भिक बालकक्षादेखि ८ कक्षासम्मलाई आधारभूत तह मानिएको छ।

यसैगरी १३–१४ वर्ष उमेर समूहका बालबालिकाले कक्षा ९–१० मा अध्ययन गर्नेछन् । यिनीहरुको सिकाइ क्षमता स्तर चौथो तहको हुनेछ । १५–१६ वर्ष उमेर समूहलाई कक्षा ११–१२ को योग्य तय गरिएको छ । यो तहका बालबालिकाले पाँचौं तहको सिकाइ क्षमता स्तर हासिल गर्नेछन् । कक्षा ९–१२ सम्मलाई माध्यमिक तहका रुपमा व्यवस्था गरिएको छ । कक्षा ९ र १० को क्रेडिट आवर ३२ र वार्षिक कार्यघण्टा एक हजार २४ व्यवस्था गरिएको छ । यसैगरी कक्षा ११ र १२ मा क्रेडिट आवर ३० र वार्षिक पढाइ घण्टा ९ सय ६० तोकिएको छ ।

कक्षा १ देखि ७ तथा कक्षा ९ र ११ को परीक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालयको हुने व्यवस्था छ । कक्षा ८ , १० र १२ को क्रमशः स्थानीय, प्रदेश र संघीय सरकारले परीक्षा सञ्चालन गर्नेछन् । कक्षा ८ को परीक्षा स्थानीय तहको शिक्षा एकाइले व्यवस्थापन गर्ने छ । कक्षा १० को परीक्षा प्रदेश परीक्षा बोर्ड-समितिले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App