८ वैशाख २०८१ शनिबार
अन्य

लाङटाङ काव्य यात्रा

लाङटाङ पुगेर आँखाभरि लाङटाङ हिमालको सौन्दर्य सजाउने धोको थियो मनमा। म धादिङमा जन्मेको मान्छे भए पनि नजिकैको रसुवा पुग्ने साइत यस अघि किन जुरेको थिएन? आफैँसँग चित्तबुझ्दो उत्तर छैन। जब रसुवाका मित्र फुर्पा तामाङबाट रसुवाको सुन्दर पर्यटकीय गन्तव्य लाङटाङसम्मको पदयात्रामा सहभागी हुन निम्तो पाएँ, तत्कालै निम्तो स्वीकार्नु मेरा लागि खुसीको क्षण बन्यो।

लाग्यो, समय र स्वास्थ्यले साथ दिउन्जेल न हो घुम्ने। अनुकूल अवस्थामा थिएँ म। ६ दिनको समय छुट्याएर २०७५ वैशाख २७ गते बिहान सबेरै माछापोखरी पुगेँ, जहाँ धुन्चे, स्याफ्रुबेसीतिर जाने सार्वजनिक सवारी भेट्टाउन सकिन्छ । बिहान साढे सात बजे काठमाडौँबाट छुट्ने गोसाईकुण्ड यातायातको टाटासुमो गाडीमा म पुग्दा एउटा मात्र सिट बाँकी रहेछ। धन्न, मेरै लागि छुट्याएर राखेजस्तो । मैले टिकट लिएर चढ्ने बित्तिकै गाडी गुडिहाल्यो।

गाडी गुडेको आधा घण्टामै शिवपुरी डाँडा पुगेपछि मात्र प्रभाती घामले मन चङ्गा भएको आभास भयो। स्वच्छ हरियाली पाखापखेरामा आँखाहरू डुल्न थाले । भिरालो र नागबेली बाटोले गुर्जेभञ्ज्याङ, छहरेतिरको ग्रामीण परिवेश जोडेको थियो। नजिकै लहलह हुर्कदै गरेका कृषिबालीमा किसानी कर्मको प्रतिबिम्ब देखेँ । नुवाकोटको ढिकुरे, गँगटे, बट्टार, बिदुर हुँदै त्रिशूली बजार नजिकै रहेको बान्द्रेमा गाडी रोकियो। यात्रुतिर फर्किएर गाडीचालकले भने, ’ल, खाना खान ओर्लनुहोस्।’

लाङटाङमा एक सय पचहत्तर जनाले भूकम्पमा परी ज्यान गुमाएका घटना कम हृदयविदारक छैन । अझै सबैले घर बनाइसकेका रहेनछन्। हिउँपहिरोमा पुरिने कतिको शव अझै निकाल्न सकिएको छैन भन्ने सुन्दा कसको मन अँध्यारो नहोला?

खानपिनपछि हुइँकिएको हामी चढेको गाडी बेत्रावती बजार कटेर उकालोतिर लाग्दै गर्दा एक घण्टा बाटोमै रोकियो। सडक मर्मत हुँदै रहेछ । यात्रुहरू गाडी रोकिउन्जेल त्यतै टहलिन बाध्य भए।

रसुवाको राम्चे, सोलेतिर पुग्दा ठाउँठाउँमा देखन्थे ठूलाठूला पहिरो र भिर । पहिलो चोटि पुग्ने कसलाई पो कहाली नलाग्ला र!

म पनि कहालिएँ। अझ अचम्म्म त के भने त्यस्ता विनाशकारी पहिरोका बीचबीचका केही भूभागमा रहेका सानासाना गाउँहरू अन्त नसरी कसरी बसेका? न उर्वर भूमि न त सुरक्षित संरचना नै। ढुक्कले बस्न सक्ने अवस्था नै देखिनँ। सोच्छु, यी गाउँलेका बाध्यता बुझेर किन विकल्प दिन सक्दैन सरकार?

रसुवाको सदरमुकाम धुन्चे पुगे पछि पनि केहीबेर ओरालोतिरको यात्रा गर्नु पर्ने रहेछ स्याफ्रुबेसी पुग्न। त्यहाँ म ओर्लिदा घडीले तीन बजाइसकेको थियो। साथीहरू स्याफ्रुबेसामा जम्मा हुनुभएर मलाई नै पर्खँदै हुनुहुन्थ्यो । लाङटाङ पदयात्रामा सहभागी हुने एघार जना भइयो । ’यहीबाट लाङटाङ पुग्ने पैदल बाटो सुरु हुन्छ।’ पदयात्राको अगुवाइ गर्दै फुर्पाजीले भन्नुभयो, ’बीचमा दुई ठाउँमा बास बसेर पर्सि पुग्ने छौँ लाङटाङ।’

 उकोलोतिरको गोरेटो पक्रेर स्याफ्रुबेसीबाट हाम्रो पदयात्रा सुरु भयो। साथीहरूसँग आपसमा गफिँदैगफिँदै जङ्गलको बाटो हिँड्दा छुट्टै अनुभूति हुनु स्वाभाविक नै थियो।

वनैवन, भिरैभिर । बाटो रमाइलो र चुनौतीपूर्ण। झमक्क साँझ पर्न लाग्दा हामी पहिरो भन्ने ठाउँमा पुग्यौँ । नजिकै निकै ठूलो पहिरो गएको कारण यस ठाउँको नाम नै पहिरो रहन गएछ। लाङटाङ खोलाको किनारको यो एकलास ठाउँमा जम्मा दुई वटा गेस्ट हाउस मात्र देखिए। हाम्रो पदयात्राको पहिलो बास यहीँको नमस्ते गेस्ट हाउसमा भयो।

अट्ठाइस गते बिहान ब्युँझदा नजिकै बगेको वेगवान् लाङटाङ खोला आफ्नै लयमा सुसाइरहेको सुन्यौँ । यहाँका वनबुट्यानसँग साक्षात्कार गर्दै सबेरै हाम्रा पाइलाहरू पुनः गतिशील बने। ’बाटो छेउ चर्दै गरेको मृगसँग आँखा जुध्यो, खुसी प्रकट गर्न चाहेँ र मुसुक्क हासेँ।’, अघिअघि हिँड्नुभएका अभिषेकजीले टक्क अडिएर भन्नुभयो– उसले सायद मेरो भाषा बुझ्न सकेन र आफ्नो बाटो लाग्यो।’

बाटो नजिकै खोला। पारिपट्टि कतैकतै पहाडजत्रा काला चट्टानहरू । भीमकाय ती चट्टानका भीरमा भिरमौरीका ठूलाठूला चाकाहरू नाङ्ला झुन्डिएझैँ झुन्डिरहेका टाढैबाट हामीले देख्यौँ । खोलाको किनार नछोडी उकालो लाग्नु पर्ने बाटोमा केहीबेर हिँडेपछि बम्बो भन्ने ठाउँ आइपुग्यो । बिहानको खाजा त्यहीँ खाइयो।

बम्बोबाट करिब तीन घण्टा हिँडेर रिम्छे पुग्दा हिमालले डाँडाबीचबाट चियाएर हाम्रै बाटो हेर्दै थियो । हिमाली सौन्दर्यको सम्मोहनले पाइला अझै छिटो चल।

चाङ्दाममा रहेको लामा होटेल यता बाटोतिर भेटिने होटलहरूमध्ये सबैभन्दा पुरानो रे । हो, हामी पनि त्यही होटेलमा केही बेर रोकियौँ । खाना पनि यहीँ नै खायौँ । यहाँबाट हिँड्नुअघि हाम्रा कलाकार साथी शशीकुमारले नजिकैको ढुङ्गामा आफ्नो कलाकारिता देखाउँन भ्याए । उनले लामा होटलमा समेत आकर्षक अक्षरले साइनबोर्ड लेखिदिए । होटलवाला लामा दाइले मुसुक्क हाँसेर खुसी प्रकट गरे।

मध्यदिनमा लामा होटलबाट हामी हिँड्दा बाटोमा खच्चडका लस्कर भेटिन्थे । सडकसन्जाल नजोडिएका यस्ता विकट बस्तीमा सामग्री ढुवानीका लागि खच्चडको प्रयोग अत्यधिक हुनु स्वाभाविकै हो । तर खच्चडका दिसापिसाबले बाटो दूषित तुल्याएको देख्दा चाहिँ नमज्जा लाग्ने । अन्य यात्रीले पनि बाटोमा जताततै फोहोर देख्दा यस्तै महसुस गर्दा हुन्।

खच्चड धपाउनेमध्ये एक जना ६० वर्षका जस्ता देखिने सल्यानका हर्क बुढाथोकीलाई उमेर सोध्दा थाहा पाइयो उनी त भर्खर ३२ वर्षका पो रहेछन् । छक्क पर्यौं । उनले भने, ’पेट पाल्नु त परिगो, पेशा गर्न यता आया।’

हिमाली सौन्दर्यमा रमाउँन आएका विदेशी पर्यटकहरू बाटोमा छिनछिनमै भेटिन्थे । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, कोरिया, इजरायल, जापानजस्ता धेरै देशका पर्यटकहरू तान्न सक्ने रूपलावण्य र आकर्षण लाङटाङ हिमालसँग रहेको उनीहरूको बाक्लो आगमनले नै पुष्टि गथ्र्यो ।

वरिपरि सेता गुरास फुलेका रूखहरू, जताततै चौँरीगाई चर्दै गरेको दृश्य । ठाउँठाउँमा गाईगोठहरू । यही ठाउँलाई भन्दा रहेछन् घोडातबला । यतै गाईगोठ बनाएर बसेका मध्ये एक तेन्जिङ लामा पनि बाटोमा भेटिए । उनका १६ वटा गाई पनि यहीँको खर्कमा चर्दै थिए । खर्क वरपर २१ वटा गोठ बनाएर गोठालाहरू चौरी गाई चराउन बसेका रहेछन् । पुस,माघ र फागुन महिनामा चाहिँ जाडो छल्न चौँरीलाई तल होङ्कल भन्ने ठाउँमा लैजाने गरिँदो रहेछ।

भूकम्पले भत्किएको क्याङ्जिनको दूध फ्याक्ट्री अझै नबन्दा दूध बेच्न नपाइएको गुनासो गरे चौँरीधनीले । उनीहरू अहिले घिउ मात्र विक्री गर्दारहेछन् । दूध नै बेच्दा बढी लाभ हुने हुँदा चिजफ्याक्ट्री छिटो पुनर्निर्माण र सञ्चालन होस् भन्ने चाहना उनीहरूले व्यक्त गरे ।

चौँरीको चरन क्षेत्र नजिकै रहेको घोडातबलाकै लभ्ली गेस्ट हाउसमा पदयात्राको दोस्रो रातको बासका लागि हामी पुग्यौँ । त्यस दिन गेस्ट हाउसका अन्य कामदार र मालिक काम विशेषले बाहिर रहनुपरेकाले कुक राम श्रेष्ठ एक्लै थिए त्यहाँ । यी पच्चीस वर्षका लक्का जवान कुकले बास माग्न पुगेका हामीलाई फर्काउन चाहेनन् । हाम्रो समूहका एघार जना सहित हामीभन्दा केही बेर अघि पुगेका दुई फ्रेन्च पाहुनालाई उनी एक्लैले आतिथ्यका सबै सुविधा उपलब्ध गराए । स्यावास राम!

तेस्रो दिन सखारै लाङटाङतिर लम्कियौँ । अनेक थरी अनाम भिरफूल, भुइँफूल, वनफूलका साथै सेता गुराँसहरूले जताततै हामीलाई स्वागत गरेझैँ लाग्थ्यो । भीमसेन पाण्डेजी यी मनमोहक फूलहरूलाई सूक्ष्म तबरले अवलोकन गर्थे र क्यामरा सोझ्याइहाल्थे । उनले घरबाट ल्याएका भुटेका मकैभटमास चपाउँदै पाइला लम्काउदा आनन्द र ऊर्जा नथपिने कुरै थिएन । बजारबाट किनेर लगेका अन्य खाजाभन्दा घरको मकैभटमास निकै मीठो।

लाङटाङ प्रवेश गर्दा दिउँसोको खाना खाने समय भएको थियो । यहीँको मेमोरियल गेस्ट हाउसमा खाना खाने बन्दोबस्त भयो । वि.सं.२०७२ को विनाशकारी भूकम्पमा पन्ध्र जना आफन्त गुमाएकी याङ्की लामा यस गेस्ट गाउसकी मालिक । उनका दुखद अनुभव सुन्दा कसको मन नपग्लिएला ! भूकम्पपछि कहिले गुम्बामा त कहिले आफन्तकहाँ बसेकी उनले भर्खरै घर बनाएर यो गेस्ट हाउस सञ्चालनमा ल्याएकी रहिछन्।

लाङटाङमा एक सय पचहत्तर जनाले भूकम्पमा परी एकै दिन ज्यान गुमाएका घटना कम हृदयविदारक छैन। अझै यहाँका सबैले घर बनाइसकेका रहेनछन्। भूकम्पको धक्काले बस्तीमा खसेको हिउँपहिरोमा पुरिने कतिको शव अझै निकाल्न सकिएको छैन भन्ने सुन्दा कसको मन अँध्यारो नहोला?

हामी पुगेको दिन लाङटाङ हिमाललाई साक्षी राखेर भूकम्पमा परी ज्यान गुमाउने लाङटाङबासीको सम्झनामा कविता वाचन कार्यक्रम गरियो । अभिषेक अधिकारी, भीमसेन पाण्डे, सन्जोग डङ्गोल, सुजिता लवट, विजया तिवारी, दीपेन्द्रसिंह थापा र फुर्पा तामाङ कविता वाचनमा सहभागी बने । मृतकका आत्मालाई मुक्ति मिलोस्।
 
भूकम्पमा सबै घर भत्किएको लाङटाङमा नयाँ बनेका र बन्दै गरेका घरहरूमा लाङटाङ क्षेत्रको प्राचीनता, संस्कृति र मौलिकता देख्न नपाउँदा चाहिँ नमज्जा लाग्यो । दुखद कुरा, त्यस्ता कलात्मक घरहरू बनाउन सक्ने सबै कालिगडहरूको भूकम्पमा परी मृत्यु भएको रहेछ । त्यसैले अहिले यहाँ आधुनिक शैलीका घरहरू मात्रै देखिन र थपिन थालेका छन्।

लाङटाङ हिमालको अझै नजिक रहेको क्याङ्जिन पुग्ने योजनामा  हामी लाङटाङबाट पनि हिँड्यौ । तब त पदयात्रा, एकै ठाउ मात्र बस्ने कुरै भएन । बाटो नजिकैको सानो बस्ती मुन्डुमा साम्भेल लामाको घरमा चौँरीको एक गिलास तातो दूध पिएर सरासर हिँडियो । जतिजति हिँडियो उतिउति रमाइलो, उतिउति हिमाल नजिक । हिमाली सौन्दर्यको सम्मोहन बयान गरेर के साध्य!

अहा, क्या शीतल हावा ! क्याङ्जिनतिर उक्लिँदै गर्दा विजया तिवारीको प्रतिक्रिया थियो– यहाँको हावाले त शरीर मात्र होइन मन नै छुने रहेछ । उहाँले आँखा अघिल्तिर देखिएका प्राकृतिक छटालाई आफ्नै आवाजमा वर्णन गर्दै भिडियो रेकर्ड समेत गर्नुभएको छ । पछिपछि हेर्दा पक्कै मज्जा आउला।

लगातारको हिँडाइले थकित त सबै थियौँ नै तर पनि उत्साहको कमी कसैमा देखिएन । यसैबाट बुझ्न सकिन्थ्यो यात्राको सुखद परिणाम । तस्बिर खिच्ने र खिचाइ माग्ने होडमा कोही पछि पर्न चाहँदैन थिए । प्रकृतिको काखमा लुटपुटिँदाको आनन्द नलुटपुटिएकालाई के थाहा ! आखिर प्रकृतिमा जति सौन्दर्य र आनन्दको स्रोत अन्त कतै छँदा पनि छैन।

सूर्यास्तका किरण लामटाङ हिमालमा छरिँदै गर्दा स्वर्गको टुक्राजस्तो क्याङ्जिनमा हामीले पाइला टेकिसकेका थियौँ । यहीको तिब्बत गेस्ट हाउसमा हामीलाई उक्त गेस्ट हाउसका ग्याल्बो तामाङले स्वागत गर्नुभयो । हिमालको काँखमै रहेको यहाँ राम्राराम्रा गेस्टहाउसहरू र होटलहरूसहितको चिटिक्क परेको बस्ती रहेछ । पर्यटकहरूका लागि निकै नै आकर्षक गन्तव्य।

पुगेको भोलिपल्ट दिनभर क्याङ्जिनमा रम्यौँ हामी । हिमाललाई नजिकैबाट साक्षात्कार गर्दै वरपर डुल्यौँ । त्यहाँको जनजीवन, संस्कृति र सभ्यता बुझ्ने प्रयास पनि जारी रह्यो ।

सात सय वर्ष पुरानो क्याङ्जिन गुम्बा यस क्षेत्रको महत्त्वपूर्ण सम्पदा रहेछ । जापानका शुभचिन्तकहरूले ’लाङटाङ प्लान’ नामक संस्था स्थापना गरेर भूकम्पले भत्काएको यस गुम्बालाई पुरानै स्वरूपमा पुनर्निर्माण गरेको देख्दा खुसी लाग्यो । यहाँको प्रसिद्ध चिज फ्याक्ट्री पनि २०७२ को भूकम्पले क्षति पु-याए पछि पुनर्निर्माणकै चरणमा रहेको देखियो । पर्यटकहरूले अति नै मन पराउने गरेको यहाँको चौँरीको दूधबाट बन्ने चिज छिट्टै नै पुनःउत्पादनमा आओस !

कलाकार साथी शशीजीले यहाँका केही गेस्ट हाउसहरूमा निशुल्क साइनबोर्ड लेखेर सहयोग गर्दा क्याङ्जिनबासी दङ्ग परे। भूकम्पमा पति गुमाएकी स्नो लियोपार्ड गेस्ट हाउसकी सञ्चालिका सुम्ज्यो तामाङलाई साइनबोर्ड लेखिदिएपछि शशीजी भन्नुभयो,’तपाईँलाई सहयोग गर्न पाएँ,खुसी छु।’

करु, आलु, फापर, साग, मुलाजस्ता कृषि उत्पादन हुने यहाँको जमिन भूकम्पले बिगारिदिएपछि यहाँका बासिन्दा खेतीपातीबाट टाढिएका रहेछन्। चौँरी पालन र होटल व्यवसाय नै यहाँको आम्दानीको प्रमुख स्रोत बन्दै आएको बुझियो।

लाङटाङ क्षेत्र जैविक विविधता र प्राकृतिक स्रोतसाधनका दृष्टिले पनि सम्पन्न रहेको तथ्य आँखैले देख्न र बुझ्न पाइयो। यहाँका जङ्गलमा घोरल, झारल, बँदेल, कस्तुरी मृग, नाउर, रेडपान्डाजस्ता जीवजन्तुका साथै ढुकुर, मलेवा, डाँफे मुनालजस्ता चराचुरुङ्गीको निवासस्थान रहेछ । यार्सागुम्बा, कुर्की, पाँचऔँले, डालेचुक, घ्याम्जेनका जस्ता मूल्यवान जडीबुटीले यस क्षेत्रको महत्त्व बढाएको बुझियो।

 बौद्ध धर्मावलम्बीको बसोबास रहेको यस क्षेत्रका बासिन्दा आफ्नो धर्म र संस्कृतिप्रति पनि अगाध आस्था राख्दा रहेछन् । स्थानीयकै पहलमा यो क्षेत्रलाई वशुवध निषेधित क्षेत्र घोषणा गरिएको रहेछ । वनमा शिकार गर्न नपाइने, जंगलमा डढेलो लगाउन नपाइने र मासुको प्रयोजनका लागि पशुको काटमार र व्यापार गर्न नपाउँने कुरा थाहा पाउँदा यहाँका बासिन्दा अनुकरणीय र प्रशंसनीय लागे।

हामी दुई रात बास बसेको क्याङ्जिनमा फर्कने दिन बिहान जताततै हिउँ खस्दै थियो । सिमलका सेता भुवा खसेजस्तो गरी आकाशबाट बुर्रबुर्र हिउँ खस्दै गर्दा हाम्रो हिउँ छुने धोको पनि पूरा भयो । बिहान खाजा खाएर तिबेट होटलबाट बिदा हुँदा आकाशबाट खसेको सिमसिमे पानी रोकिएको थिएन। छाता र बर्सादीको सहायता लिएर ओरालो बाटोतिर हाम्रा पाइलाहरू यन्त्रवत् चले । त्यहाँ बिहान हिउँ परेका कारण लाङटाङ हिमाल वरिपरिका काला पत्थरहरू पनि सबै सेताम्मे भएर हामीलाई बिदाइ गर्दै थिए।

लाङटाङकै मेमोरियल होटलमा दिउँसोको खाना खाएर लौरोको सहायताले ओरालोभिरालो छिचोल्दै शेर्पा गाउँ पुग्न लाग्दा चराचुरुङ्गीहरूले चिर्बिराउँदै साँझको गीत गाउँन थालिसकेका थिए। शेर्पा गाउँको सुपर भ्यु गेस्ट हाउसमा पुगेर हामीले बल्ल झोला बिसायौँ । एक चोटि लामो सास फ्याक्यौ । अहो, थकाइ पनि गज्जबकै!

एकै छिनको कुराकानी पछि होटलका मालिक हाम्रा आत्मीय तारा दाइ बनिसक्नु भएको थियो । उहाँको व्यवहारमा व्यावसायिकताको राग मात्र थिएन, पारिवारिकता र आत्मीयताको आभास पनि मिसिएको थियो। बेलुका खानपिन पछि केही बेर कुराकानी गर्दा थाहा भयो, उहाँ पहिलेपहिले हिमाल आरोहीको सहयोगीका रूपमा हिमाल चढ्ने गर्नुहुँदो रहेछ । त्यसै क्रममा एउटा खुट्टा नै गुमाउनु परे पछि अहिले होटल व्यवसायतिर लाग्नु भएको रहेछ । उहाँका कुराले मेरो मन द्रवीभूत भयो । कथाव्यथा सबका आफ्नाआफ्ना।

शेर्पा गाउँमा बिहान हामी उठ्दा झुल्केको घाम हाम्रो यात्राको छैटौँ दिनको थियो । हामी जतिसक्दो छिटो स्याफ्रुबेसी पुग्न चाहन्थ्याैं। बाटो लाग्यौ ओरालैओरालो । अलि तल पुगेपछि सल्लाघारीको बाटो। सल्लेरी वनको शीतल हावामा साथीसाथी गुनगुन गफ गर्दै हिँडेको बेला बाटो कटेको पत्तै नहुने। सँगैसँगै जतिजति हिँडियो र अनुभूति आदानप्रदान गरियो उतिउति मित्रताको रङ गाढा हुने। सबैका जीवनदर्शन एकै ठाउँ घोलिएर जीवनजगतलाई हेर्ने दृष्टिकोण अझै फराकिलो बनेजस्तो लाग्यो। यो पनि एउटा मिठो उपज जस्तो लाग्यो सामूहक यात्राको।

ठ्याक्कै दिउँसोको खाना बेला स्याफ्रुबेसी नै पुग्यौँ । खाना खाएर साथीहरूसँग छुट्दा दिन मध्याह्नतिर ढल्किसकेको थियो। काठमाडौँ पुग्नु पर्ने म र अभिषेकजी मात्र। विश्वासजीको घर ओखलढुङ्गा भए पनि हाल कार्यक्षेत्र रसुवा। अरू साथीहरू रसुवा र नुवाकोटका । फेरि भेट्ने आशासहित साथीहरूसँग बिदाबरी भइयो।

वश्वासजीले उहाँको परिचित मान्छेको निजी गाडीमा अभिषेकजी र मलाई काठमाडौँ पुग्ने प्रबन्ध मिलाइदिनु भएर गुन लगाउनुभयो। उहाँप्रति आभारी छौँ। संयोगले त्यस दिन कतै पनि जाम वा सडक अवरोधमा अड्किनु परेन। बेलुका सोचेभन्दा सहज तरिकाले घर पुगियो।

यात्रा निकै सुखद, निकै रोचक रह्य।

प्रकाशित: १९ जेष्ठ २०७५ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App