८ वैशाख २०८१ शनिबार
समाज

खोप लगाएको ५ घण्टामै बालकको मृत्यु

जुम्ला – तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो। सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।

बुवा बालकृष्ण भट्टराईले खोप लगाएकै कारण बच्चाको मृत्यु भएको आरोप लगाए। उनले भने, मेरो छोरा खोप नलगाउनु अगाडि कुनै खालको बिरामी लागेको थिएन तर खोप लगाइसकेपछि बिरामी परेर मृत्यु भयो। उनले खोपकै कारण छोराको मृत्यु भएको दाबी गरे। 

बालकको मृत्यु खोप लगाएकै कारणले भएको भन्दै सत्यतथ्य छानविन गर्न स्थानीयले माग गरेका छन्। बालकका आफन्त दिपेन्द्र हमालले खोप लगाएर बालकको मृत्यु हुनु निकै दुख भएको बताउँदै तत्काल घटनाको छानबिन गर्न माग गरे। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले घटनाको विषयमा छानविन गर्न स्वास्थ्य कार्यालयको खोप सुपरभाईजर महेश बुढा सहितको स्वास्थ्य कर्मीहरुको खटाइएको छ। छानविन टोलीले प्रतिवेदन तयार गरेर सम्बन्धित निकायमा  पठाउने भएको छ।  

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घटना लगतै जानकारी आएपछि टोली खटाएर बालकको मृत्यु भएको विषयमा जानकारी लिएर थप अनुसन्धानको लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, बाल स्वास्थ्य महाशाखा लगायतका निकायहरुमा मौखिक तथा लिखित जानकारी गराइएको बताए।  

 उनका अनुसार यसअघि खोप लगाइएका र विहीबार खोप लगाएका बालबालिकाको स्वास्थ्य अवस्था बुझेर जानकारी गराउनको लागि  स्वास्थ्य  कार्यालयलाई निर्देशन दिइएको छ।

कुडारी स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्र उपाध्यायले  खोप लगाइएको कुनै पनि बालबालिकाका समस्या नदेखिएको बताए। उनले भने, एक मात्रै बालकमा कसरी समस्या आएको हो भन्ने बारेमा छानविन हुने छ । बालकको मृत्यु भएको विषयमा प्राविधक प्रतिवेदन पछि मात्र भन्न सकिने उनको भनाई छ । बच्चालाई खोप लगाएको ५ घण्टा २५ मिनेट पछि मृत्यु भएको उनले बताए। 

प्रकाशित: १८ जेष्ठ २०७५ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App