coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

गाउँको सूर्योदय आधारभूत विद्यालयमा हुने अलैंची महोत्सवमा सहभागी हुन स्थानीयबासीलाई खबर गर्दै घाम्राङका कटुवाल बिनबहादुर गुरुङ। तस्बिरः किसान संगीत/नागरिक

लमजुङ – लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्। चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सुचना वा खबर सुनाउँछन्। उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल।

गाउँका बासिन्दालाई सामुहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था रहेको छ। गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन्। गाउँको रितिस्थिति अनुसार असिना बार्ने, विउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक बनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन्। गाउँभरीको खबर गर्ने आधिकारीक व्यक्ति नै गाउँको कटुवाल भएको उनले बताए। वडा कार्यालयबाट गर्ने कार्यक्रम देखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बताए।

वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफुले ३ वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताए। घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्‍याउने गर्दछन्। ‘गाउँमा जे जस्तो खबर गर्नु परेपनि मै दौडिने हो,’ गुरुङले भने, ‘गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छ।’ गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष नै लागेको उनको भनाई छ। गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरूले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन्। कटुवालले एकै पटकमा सबैलाई खबर पुर्‍याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नरहने उनको भनाई छ।

कटुवाल कराए बापत् उनले गाउँलेहरूबाट सामुहिकरुपमा वार्षीक ४ मुरी धान, १ मुरी कोदो पाउँछन्। वर्षेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ। काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन्। कटुवालको जिम्मेवारीमा आउने अन्न, आफुले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन निर्वाह भइरहेको छ। गाउँ–गाउँ चहार्दै चर्को स्वरमा कराउनुपर्ने भएकाले काम कठिन नै भएको उनले बताए। प्रविधिको विकास भएसँगै गाउँले वा वडा कार्यालयबाट हाते माईकको व्यवस्था गरेर माईक मार्फत् नै खबर सुनाउन सकिने तर्फ कसैको ध्यान गएको छैन्।

अहिलेसम्म दुईहात जोडेर चर्को आवाजमा कराउँदै आएको तर आफुले पनि कसैसँग माईक माग नै नगरेको उनी बताउँछन्। माईक प्रयोग गर्ने कुरा आफुले नयाँ ‘आइडिया’ थाहा पाएको र अब वडाध्यक्ष सँग सल्लाह गर्ने पनि उनले बताए। कटुवाललाई माईक उपलब्ध गराएर त्यसबाट सुचना सुनाउँदा झनै प्रभावकारी हुने भएकाले सजिलै सो व्यवस्था गर्न सकिने वडाध्यक्ष गुरुङ बताउँछन्। गाउँपालिका अन्र्तगत थुप्रै गाउँमा अझैपनि कटुवालको चलन रहेकाले सम्भव हुँदासम्म सबैलाई हाते माईकको व्यवस्था गर्ने प्रस्ताव पालिकाको बैठकमा राख्ने समेत उनले बताए।

क्व्होलासोथर मात्रै नभई जिल्लाका सदरमुकाम समेत रहेको बेसीसहर देखि सुन्दरबजार, राईनास नगरपालिका, दोर्दी, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिका अन्र्तगतका ७५ वडा मध्येका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सुचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था रहेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे बताउँछन्। प्रभावकारी सुचना संप्रेषणका लागि उनीहरूलाई प्रविधिमैत्री बनाउनु पर्ने उनले बताए। कम्तीमा सबैलाई बिजुलीबाट चार्ज गर्न मिल्ने हातेमाईकको व्यवस्था गर्ने तर्फ नगरपालिका, गाउँपालिका र वडा कार्यालयले सोच्नुपर्ने उनको भनाई छ।

प्रकाशित: १८ जेष्ठ २०७५ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App