८ वैशाख २०८१ शनिबार
समाज

पूर्व प्रधानमन्त्री अोलीले जग हालेको घर अलपत्र

वैशाख १२ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यो घरको शिलान्यास गरेका थिए । तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक–डिपिसी (भुँईँ संरचना) तयार भइसकेको छ । १२ वटा पिलर ठडिइसकेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका घरधनी निर्मित संरचनाले घरको आकार लिनै लाग्दा खुशी हुनुपर्ने हो । मंगलबार नागरिककर्मी घरमा पुग्दा उनी खुईय गरिरहेका थिए । अनुहारमा उमंगको गुञ्जायस थिएन । ईटा किन्न नसक्दा निर्माण रोकिएको रहेछ । अलपत्र संरचना अघि बढाउने चिन्ताले मात्र होइन निर्माण थालेयता लागेको लाखौं ऋणको बोझ पनि छँदैछ ।

उनी अर्थात सर्वे तामाङ । तस्बिरमा देखिएको उनको यो घरको संरचनाको जग गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हाल्दिएका थिए । हातमा अनुदान सम्झौतापत्र थमाउँदै चौतारा–३ स्याङवा टोलस्थित सर्वेको घरको शिलान्यास गरेर तत्कालीन प्रधानमन्त्री ओलीद्वारा भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण अभियान थालनी भएको घोषणा गरेका थिए ।
‘१२ लाख रुपैयाँभन्दा बढी रकम खन्याईँ सकेँ,’ उनले भने, ‘ईँटा किन्न नसक्दा निर्माण रोकेको हुँ ।’

सरकारले पहिलो किस्ता अनुदानमा दिएको ५० हजार, आफूसँग रहेको ३ लाख नगद र ९ लाख रुपैयाँ ऋण खर्च भइसकेको उनले सुनाए । २० प्रतिशत ब्याज बुझाउने शर्तमा उनलाई आफन्तले ऋण पत्याएका थिए । मजदुरी गरेर परिवार पाल्दै आएका सर्वे भुँईँ तला सम्पन्न गर्न मात्रै थप १० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान लगाउँछन् । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’ उनी कहालिए ।

प्रधानमन्त्रीले शिलान्यास गरे पनि घर बनाउन पुग्ने पैसा नहुँदा दुई महिना उनले अन्योलमै बिताए । ऋण दिन आफन्त तयार हुँदा सरकारले असार पहिलो साता पहिलो किस्ता अनुदान दियो । घर बनाउनै पर्ने बाध्यताले उनी उत्साह साथ असार १७ बाट पुनर्निर्माणमा जुटे । निर्माण गर्दै जाँदा पैसा सकिएपछि बैंकबाट ऋण लिएर काम अघि बढाउने उनको दाउ थियो । अन्तिम भरोसा मानिएको त्यही बैंकले नपत्याए पछि उनी दुःखी छन् ।

‘प्रधानमन्त्रीले जग त हाल्दिए नि,’ खिन्न हुँदै सर्वेले गुनासो गरे, ‘बैंकले नपत्याएपछि के गर्नु ?’ आधा दर्जनको संख्यामा सदरमुकाममा रहेका बैंक चाहरे । जमिन धितोमा राखेर ऋण लिन खोजेका उनलाई कुनै बैंकले पत्याएनन् । १० फिटे मोटर बाटो नपुगेको भन्दै फर्काएको सर्वे सुनाउँछन् । पछिल्लो पटक उनी ऋणका लागि चौतारास्थित कृषि विकास बैंक शाखामा धाइरहेका छन् । ‘ऋण दिन बैंक सकरात्मक छ,’ आश गर्दै उनले भने, ‘दिए घर बनाउँछु । अरु बिकल्प छैन ।’

डिपिसी गरिसके पनि उनले दास्रो किस्ता पाउन सकेका छैनन् । भुई संरचना तयार भएपछि दोस्रो किस्तामा ८० हजार दिने सरकारको शर्त थियो । जिल्लामा सबै भूकम्प पीडितले पहिलो किस्ता नै नपाएकाले उनी थप किस्ता पाउनबाट बञ्चित छन् । ‘दोस्रो किस्ता मात्रै दिए पनि काम रोकिने थिएन । त्यही पनि आएन,’ अलपत्र संरचना हेर्दै उनले भने ।
४५ वर्षीय सर्वे अरनिको रुटमा १७ वर्षदेखि बस चलाएर परिवार पाल्दै आएका छन् । प्रधानमन्त्रीले जग हाल्दिएपछि उनी काममा निस्कन सकेका छैनन् । ‘महिनाका ३५–४० हजार रुपैयाँ कमाइ हुन्थ्यो । त्यो पनि गुमिरहेको छ,’ ऋणमा डुबेका उनले भने ।

जिल्लामा सबैभन्दा पहिला सर्वेले नै अनुदान सम्झौता गरेका थिए । पहिलो किस्ता अनुदान पनि पहिला पाएका उनलाई त्यो हात पर्नै दुई महिना लाग्यो । प्रधानमन्त्रीले शिलान्यास गरेको घर निर्माण अघि नबढेपछि उनको ‘नाक’ राखिदिन जिविसले नियमित अनुदानबाट शोधभर्ना हुनेगरी सर्वेलाई पहिलो किस्ता ५० हजार दिएको थियो । जिविसले दिएको रकम सर्वेको किस्ताबाट पछि शोधभर्ना गरिसकेको छ ।

प्रकाशित: १७ भाद्र २०७३ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App