८ वैशाख २०८१ शनिबार
समाज

कटारी बजारमा खानेपानी अभाव

उदयपुर – गर्मी बढेसँगै सुख्खा याममा पानीको स्रोत सुकेपछि उदयपुरको कटारी नगरपालिका– ३ र ४ को सबभन्दा बढी जनघनत्व भएको कटारी बजारमै खानेपानीको अभाव भएको छ। लगभग १० किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान सुक्दै गएका कारण कटारीमा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्।

उयदपुरगढी गाउँपालिकाको सिन्कौले मुहानबाट ल्याइएको पानी कटारी बजारका २ हजार ८ सय ५० बढी घरधुरीले उपभोग गर्दै आएका छन्। सिन्कौले आसपासको जंगलमा वर्षेनी डढेलो लागेर वन मासिनुका साथै गर्मीयाम बढेपछि मुहान सुक्दै गएर पानी आउन छाडेको स्थानीयको भनाई छ। सिन्कौले खानेपानी तथा सरसफाई आयोजनाका अनुसार गत चैत अन्तिमसातायताा खानेपानी अभाव हुँदै गएको हो।

चैत अन्तिमदेखि पानी नआउने, आउँदा पनि कम आउने गरेको स्थानीय गृहीणी बेनुका राईले बताइन्। उनका अनुसार धारामा पानी आउन छाडेपछि बजारबासी हाते कल र नजिकैको तावा खोलाको दुषित पानी खान बाध्य हुनु परेको छ। खोलाको पानी दुषित भए पनि कतिपयले शुद्धिकरण नगरी खाने गरेको उनले बताइन्।

सिन्कौलेबाट ल्याएको पानी सिधै मुहानबाट सोझै रिजर्भ ट्यांकीमा जम्मा गरी घर घरै वितरण गरिने गरेको छ। सोझै ल्याइने भएकाले वर्षायाममा धमिलो र लेदो मिसिएको पानी आउने गरको उनीहरू बताउँछन्। निकै पुरानो आयोजना भएकाले कम क्षमताको पाईपलाईन र ट्यांकी भएर पनि पानी पर्याप्त आउन नसकेको समितिको भनाई छ।

कटारी नगरपालिकाका अुनसार सोही ठाउँलाई लक्षित गरी तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधिन अवस्थामा छ। एसियाली विकास बैंक (एडिबी) र नगर विकास कोषको ऋण सहयोग तथा नगरपालिका र उपभोक्ताको साझेदारीमा निर्माणाधिन आयोजना सम्पन्न भएमा २० वर्षसम्मका लागि खानेपानीको समस्या टर्ने मेयर ज्ञानेन्द्र श्रेष्ठ बताउँछन्।

तर, नयाँ आयोजना सञ्चालनमा आउन समय लाग्ने भएकाले त्यतिबेलासम्म सिन्कौलेकै मुहानको भर पर्नुपर्ने स्थिति रहेको श्रेष्ठ बताउँछन्। आयोजना सञ्चालन नभएसम्म कसरी उपभाक्तालाई सहज बनाउन सकिन्छ भनेर नगरपालिकाले बैकल्पिक उपायको खोजी गरिरहेको मेयर श्रेष्ठले बताए। ‘खानेपानीको दीर्घकालीन समाधान तेस्रो साना सहरी खानेपानी आयोजना नै हो’ उनले भने ‘तर, त्यो नसकिएसम्म बिकल्प के अपनाउने विषयमा हामी अध्ययन थालेका छौं। पानी त नभई हुँदैन नै।’

अहिलेलाई हाते कल र खोलाको पानी प्युरिफाई गरेर वितरण गर्ने या अन्य उपाय निकाल्ने भन्ने विषयमा नगरपालिकाले छिट्टै समाधान निकाल्ने तयारी गरेको छ। जिल्ला समन्वय समितिले कटारी बजारबासीका लागि तावा र मरुवा खोलाको पानी प्रयोग गर्न सके दीर्घकालीन समाधान निस्कने जनाएको छ। बगिरहेको खोलाको पानी त्यत्तिकै खाँदा दुषित हुने भए पनि सुद्धिकरण गरेर खाएमा खानेपानीको समस्या नहुने समन्वय समिति प्रमुख खड्ग परियारले बताए।

प्रमुख परियारले बजारमा जनघनत्व बढ्दो अवस्थामा रहेको कटारीबासीलाई पानीको अभाव टार्न दुवै खोलाको पानीलाई वैज्ञानिक प्रविधि अपनाएर दीर्घकालीन समाधान निकाल्न सकिने उपाय सुझाए। नगरपालिकाले खोलाको पानी सौर्यउर्जा वा विद्युत जडान गरेर लिप्mटङ प्रविधि अपनाउन सके कटारीबासी सबैलाई खानेपानीको कुनै समस्या नहुने प्रमुख परियारको सुझाव छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App