७ वैशाख २०८१ शुक्रबार
कला

‘बाकसमा आउने शवको गीत गाउन नपरोस्’

काठमाडौं – ‘परदेशीको हुँदैन भर हे बरै आउने आश मात्रै
जिन्दगी भन्नु के रैछ हे बरै दुई मुठी श्वास मात्रै’

उल्लेखित गीति अंश गत साताअघि सार्वजनिक भएको म्युजिक भिडियो ‘बोल माया’को हो। लोक गायक तथा कलाकार प्रकाश सपूतले रचेको यो गीत अहिले चर्चामा छ। गीतको रेकर्डिङ तथा म्युजिक भिडियोको निर्देशन स्वयं सपुतकै छ। गीतमा सपूत, नारायण रायमाझी र शान्ति श्री परियारको स्वर छ।

सार्वजनिक भएको दश दिनभित्रै युट्युबमा २७ लाख बढी दर्शकले हेरिसकेका छन्। यस अघि दुई दर्जन बढी गीत गाएका सपूतलाई यो गीतले सबै वर्गका स्रोता र दर्शकमाझ लोकप्रिय बनाइसकेको छ।

‘पहिला निश्चित क्षेत्र र उमेरका बीच परिचित थिएँ। अहिले सबैको मनमा पुगेको छु,’ उनले भने, ‘पहिला गीत गाएपछि आफैंले सञ्चारमाध्यम खोज्नुपथ्र्यो। तर यसपटक सञ्चारमाध्यमले मलार्ई नै खोजिरहेका छन्।’ ‘बोलमाया’ सार्वजनिक भए यता दर्शकको बाक्लै फोन आउन थालेको छ। प्रत्येक पाँच मिनेटमा उनको फेसबुकमा १५ सन्देश आइरहन्छन्। गीतमा आफ्नै गाउँको यथार्थ तस्बिर पस्केको हुनाले पनि गीतले सबैलाई छोएको प्रकाशको बुझाइ छ।

अहिले विदेसिएका युवाहरूले गीत हेरेपछि प्रकाशलाई दैनिक रुपमा आफू रोएको भिडियो तथा फोटो पठाउँछन्। ‘विदेशबाट आउने रोइरहेको भिडियो हेर्दा भावुक बन्छु’, उनले भने, ‘विदेशमा रहेको युवाको पीडाले मन पिरोल्ने गर्छ। जीविकाको लागि युवा विदेशिनु पर्ने बाध्यताको अन्त्य हुन सके मात्रै गीत सफल भएको ठान्नेछु।’

२५ वर्षे प्रकाशले यो गीत बनाउनुको कथा आफ्नै छ। दुई वर्षअघि रोजगारीमा मलेसिया पुगेका फुपाजुको शव आफैं बुझेर उनले घर पु-याएका थिए। अर्को एक आफन्तको शव पनि उनैले बुझेका थिए। यी दुवै घटना र पीडालाई नजिकैबाट अनुभूत गरेका प्रकाशले यिनै घटनाका कारण आफ्नो मन छोएपछि गीत लेखे। गीतमा पैसा कमाउन गएको पति एकाएक बाकसमा राखेर घर ल्याउँदा पत्नीले अनुभूत गरेको पीडाको कथा समेटिएको छ।

‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा
सँगै जाम स्वर्ग भनेको भए मै जाने थिइन र?
बोलन प्यारा एक बचन बोल बोल्दैनौ किन र?’
बोल माया ....

गीतमा उल्लेखित यो अंशले धेरै विदेश गएका घरमा पीडाबोध गराएको छ। गीतको सुटिङको क्रममा दर्शकलाई ‘भिडियो सुटिङ हो’ भनेर बुझाउनै कठिन परेको अनुभव सपूतसँग छ । ‘बोल मायाँ’गीतले धेरै वैदेशिक रोजगारीमा भएका युवालाई रुवाएको कुराले आफै स्तब्ध बनेका सपुत फेरि यस्तै गीत गाउन नपरोस् भन्ने पक्षमा छन्। उनी भन्छन् ,‘यस्तै गीत लेख्ने/नलेख्ने कुरा त्यही बेलाको स्थितिले निर्णय गर्छ। म चाहान्छु फेरि बाकसमा आउने शवको गीत गाउन नपरोस्’। 

बाग्लुङको धम्जामा जन्मिएका सपूतको सानैदेखि फिल्मको ‘हिरो’ बन्ने सपना थियो। तर उनको त्यो इच्छा पूरा भएन। उच्च शिक्षाको क्रममा गाउँदेखि बाग्लुङको सदरमुकाम पसे। बुवा वैदेशिक रोजागारीमै थिए। उनको घरमा आठ जनाको परिवार थियो। बुवाको आम्दानीले मात्र पर्याप्त थिएन। उनले सुरुमा फर्निचर कारखानामा जागिर खाँदै पढ्न थाले। त्यसपछि रेडियोमा काम गर्न थाले। पाँच वर्षअघि काठमाडौ पसेर गामवेशी दोहोरी साँझमा गाउने, म्युजिक भिडियोमा खेल्ने र आफ्ना गीत रेकर्ड गर्दैगए।

‘गीत मात्र गाएर जीविका चलाउन मुस्किल पर्छ। अभिनय नै मेरो नियमित आम्दानीको स्रोत हो’ उनी भन्छन्। तीन महिनामा एउटा गीत बाहिर ल्याउँदै बाँकी समय उनको म्युजिक भिडियोको अभिनयमै बित्छ। यस अघि उनका ‘चरर परर’, ‘माकुर माकुर घुर’, ‘दोहोरी व्याटल’, ‘कहानी परदेशीको’, ‘चोरी भएन’ लगायतका गीत चर्चित छन्।

प्रकाशित: १८ जेष्ठ २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App