८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

बुधबार न्युयोर्कमा भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ (बीचमा) र उत्तर कोरियाली उच्च अधिकारी जनरल किम योङ–चोल (बायाँ)। तस्बिर : एजेन्सी

न्युयोर्क – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका विश्वासपात्र एवं नजिकका सहयोगी जनरल किम योङ–चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग आसन्न ऐतिहासिक अमेरिका–उत्तर कोरिया बैठकको विषयमा बुधबार न्युयोर्कमा भेटवार्ता गरेका छन्।

चीनबाट अमेरिका पुगेका जनरल किमले अमेरिकी विदेशमन्त्री पोम्पेओसँगै डिनरसमेत गरेका छन्। उत्तर कोरियाली उच्च अधिकारी जनरल किम र पोम्पेओबी बिहीबार अबेर पुनः वार्ता हुने बताइएको छ।

लिबियाली शासक कर्णेल गद्दाफीले पनि पहिले आफ्नो आणविक कार्यक्रम त्यागेका थिए तर केही वर्षपछि पश्चिमा शक्तिकै सहयोग रहेको विद्रोही समूहले उनलाई मारेको थियो ।

२० वर्षपछि अमेरिका भ्रम्ण गर्ने जनरल किम पहिला व्यक्ति हुन्। अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता जुन १२ मा सिंगापुरमा हुने प्रस्तावित गरिएको अमेरिका–उत्तर कोरिया शिखर बैठक रद्द गर्ने घोषणा गरेपछि दुवै देशका अधिकारीहरुले निर्धारित समयमा नै बैठक गर्नका लागि तीव्र तयारी गरिरहेका छन्। सिंगापुरमा जुन १२ मा हुने ट्रम्प र किमबीचको बैठक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो पटक हुँदै छ। तसर्थ आसन्न बैठक ऐतिहासिक बैठक हुनेछ।

बुधबारको बैठकमा के भयो ?
भेटवार्ताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय नजिकैको एउटा भवनमा बुधबार साँझ अमेरिकी विदेशमन्त्री पोम्पेओ र जनरल किम छुट्टाछुट्टै पुगेका थिए।

‘आज साँझ न्युयोर्कमा किम योङ चोलसँगको राम्रो कामसहितको डिनर फलदायी रह्यो। स्टिक, कर्न र चीन मेनूमा थियो,’ बुधबार साँझको बैठकपछि अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्विट गरेका थिए। उत्तर कोरियाली उच्च अधिकारीसँगको बैठकअधि पोम्पेओले अमेरिकी धारणा तय गरेको बताइएको छ।

अमेरिकी अधिकारीहरुले उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने विषय लिबियाली मोडलसँग तुलना गरेपछि उत्तर कोरियाले कडा शब्दमा निन्दा गरेको थियो। जसका कारण उत्तर कोरियाले विज्ञप्तिसमेत निकालेको थियो । सोही विज्ञप्तिपछि अमेरिकाप्रति उत्तर कोरियाको शत्रुतापूर्ण व्यवहार बाँकी नै रहेकाले यस्तो अवस्थामा वार्ता गर्न नसकिने भन्दै गत साताको बिहीबार ट्रम्पले निर्धारित जुन १२ को बैठक रद्द गरेका थिए। तर फेरि गत साताकै शुक्रबार ट्रम्पले किमसँगको बैठक निर्धारित समयमा नै हुने बताएका थिए । लिबियाली शासक कर्णेल गद्दाफीले पनि पहिले आफ्नो आणविक कार्यक्रम त्यागेका थिए तर केही वर्षपछि पश्चिमा शक्तिकै सहयोग रहेको विद्रोही समूहले उनलाई मारेको थियो । यही कारणले पनि अमेरिकी अधिकारीहरुले लिबियाली मोडलसँग उत्तर कोरियालाई तुलना गरेको भन्दै प्योङयाङले आक्रोशपूर्ण विज्ञप्ति जारी गरेको थियो।

उत्तर कोरियासँगको वार्ता सकारात्मक : ट्रम्प
उत्तर कोरियाली उच्च प्रतिनिधिसँग न्युयोर्कमा भएको वार्ता सकारात्मक भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

प्योङयाङबाट आएको उच्च प्रतिनिधिमण्डलले कोरियाली नेता किमको पत्र हस्तान्तरण गर्न शुक्रबार वासिङ्टन आउने अपेक्षासमेत गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘किमले पठाएको पत्रमा के छ भनेर हेर्न म उत्सुक छु,’ हस्टनको यात्रामा निस्कनुअघि लेफ्ट जोइन्ट बेस एन्ड्रयुसमा बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले बताए। उत्तर कोरियासँग हुने सम्झौताले आकार लिइरहेका छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘ मलाई लाग्छ वार्ता अत्यन्तै सकारात्मक हुनेछ। न्युयोर्कमा उत्तर कोरियाली अधिकारीसँग बुधबार भएको बैठकसहित अन्य बैठक पनि सकारात्मक भइरहेका छन्।’

प्रकाशित: १८ जेष्ठ २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App