४ वैशाख २०८१ मंगलबार
समाज

नवीकरण नभएका स्वास्थ्य संस्था बन्द गरिने

लहान – स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले नवीकरणको म्याद गुजारीसकेका निजी स्वास्थ्य संस्था बन्द गर्ने तयारी गरेको छ। त्यस्ता स्वास्थ्य संस्था बन्द गर्न लगत तयारी लगायतका काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाभरि पोलिक्लिनिक, मेडिकेयर सेन्टर, डेन्टल क्लिनिक र क्लिनिक गरी ५४ वटा निजी स्वास्थ्य संस्था सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। जसमध्ये २०७३ सालमा सञ्चालन अनुमति लिएका पोलिक्लिनिक, मेडिकेयर सेन्टर नवीकरण भएका छैनन्। दोब्बर दस्तुर बुझाएर नवीकरणका लागि निवेदन दिने म्यादसमेत गुजारीसकेका ती पोलिक्लिनिक, मेडिकेयर सेन्टर, क्लिनिक स्वतः खारेजीमा परेका छन्। तर, पनि तिनले आफ्नो सेवा रोकेका छैनन्।

जिल्लामा १५ बेडका नर्सिङ होम र अस्पतालले पनि दोब्बर दस्तुर बुझाएर नवीकरण गराउने म्याद गुजारीसकेका छन्। यी सबै स्वतः खारेजीमा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वतः खारेजीमा परेका नर्सिङ होम, अस्पताल, पोलिक्लिनिक, मेडिकेयर सेन्टर तथा क्लिनिकको सूची लामै रहेको कार्यालयका प्रशासन शाखा प्रमुख उमेशलाल कर्णले बताए। उनले भने, ‘जिल्ला स्वास्थ्य प्रमुख काम विशेषले काठमाडौंमा हुनुहुन्छ। उहाँ फर्केलगत्तै प्रमुख जिल्ला अधिकारीज्यूसँगको समन्वयमा कारबाही सुरु हुन्छ।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पनि स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा देखिएको यो विकृति नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। ‘जिल्ला स्वास्थ्य कार्यालयलाई नवीकरणको म्याद गुजारेर स्वतः खारेजीमा परेका स्वास्थ्य संस्थाको लगत ल्याउन निर्देशन दिएको छु। प्रमुख जिल्ला अधिकारी पण्डितले नागरिकसँग भने, ‘जिल्ला स्वास्थ्य प्रमुखसँग समन्वय गरेर कानुनसम्मत सञ्चालनमा नरहेका स्वास्थ्य संस्था बन्द गराउँछौं।’

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App