काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले बिहीबार प्रदेश नम्बर २ लाई डर्कवर्थ लुइस पद्धतिमा ५५ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर आर्मीले ४९.३ ओभरमा सबैै विकेट गुमाई २ सय ४४ रनको योगफल तयार गरेको थियो। २ सय ४५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरिरहँदा पानी परेपछि ४० ओभरमा घटाइएको खेलमा २ सय ३८ रनको नयाँ लक्ष्य दिइएको थियो। सो लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर २ ले ९ विकेटको क्षतिमा मात्र १ सय ९८ रन जोड्न सक्यो। खेलमा प्रदेश नम्बर २ सुरज पटेलले ४८ रन बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। ६ चौका र २ छक्का प्रहार गरेका सुरजले ४८ बलको सामना गरेका थिए। यस्तै ओपनर हरिशंकर शाह ३४ रनमा सागर पुनको बलमा ‘कट एन्ड बोल्ड’ हुँदै पवेलियन फर्कंदा अर्का ओपनर कुन्दन सिंह सोमपाल कामीको बलमा एलबिडब्लुको धरापमा पर्दै शून्यमा आउट भए। हसिम अन्सारीले २८ रन जोड्दा रसिद खानले ३४ रनको योगदान गरे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
प्रदेश नम्बर २ लाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारे। यस्तै सागर पुन, सुसन भारी र साहब आलमले समान २र२ विकेट लिए।
समूह ‘ए’ को पहिलो खेलमा नै विजयी सुरुआत गरेको आर्मी अंकतालिकामा २ अंक जोड्दै दोस्रो स्थानमा छ।
टस जितेर पहिला ब्याटिङ गरेको आर्मीका लागि राजु रिजालले अर्धशतक बनाए। उनले ८५ बलको सामना गर्दै १ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरेपछि मेहबुब आलमको बलमा बोल्ड भए। ९ रन जोड्दा ओपनर सागर पुनलाई ८ रनमा गुमाएको आर्मीका लागि अनिलकुमार मण्डलले ६५ बल खेल्दै ३५ रनको योगदान गरे। यस क्रममा उनले ४ चौका प्रहार गरेका थिए । यस्तै कप्तान विनोद भण्डारी २३ रनमा क्याच भए। १६ बलको सामना गरेका विनोदले ४ चौका र १ छक्का प्रहार गरेका थिए। राजेश पुलामीले ४० रन जोडे भने सोमपाल कामी दिव्यांशु मलिकको बलमा ४१ रन जोड्दै गर्दा कट एन्ड बोल्ड भए। २८ बल खेलेका सोमपालले ३ चौका र १ छक्का प्रहार गरेका थिए। १५ रन जोडेका भीम सार्की रसिद खानको बलमा क्याच हुँदै पवेलियन फर्किंदा सुसन भारी पनि क्याच भए। १४ बल खेलेका सुसनले १२ रन जोड्न सफल भएका थिए।
प्रदेश नम्बर २ का दिव्यांशु मलिकले सर्वाधिक ३ विकेट लिए भने महेबुब अलाम, संसद् शेख तथा रसिद खानले समान २र२ विकेट लिए।
समूह ‘ए’ को पहिलो खेलमा नै विजयी सुरुआत गरेको आर्मी अंकतालिकामा २ अंक जोड्दै दोस्रो स्थानमा छ। उता ३ मध्ये १ मा जित हासिल गर्दै २ मा पराजय भोगेको प्रदेश नम्बर २ तालिकाको चौथो स्थानमा छ।
प्रतियोगितामा शुक्रबार त्रिभुवन विश्वविद्यालयको मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ तथा मूलपानी मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नम्बर ६ बीच खेल हुनेछ।
प्रकाशित: १८ जेष्ठ २०७५ ०२:०३ शुक्रबार