coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘काठमाडौं विश्वकै ‘टप सिटी’ बन्न सक्छ’

वसन्त रेग्मी, खेलाडी

घुमेकामध्ये मनपरेको सहर कुन हो ?
मैले नेपालभन्दा बाहिर धेरै देशका सहर घुमेँ । त्यसमध्ये न्युजिल्यान्डको कुविन्स सिटी धेरै सुन्दर लाग्यो । यो सहरबाट देखिने वरपरका दृश्य नेपालको जस्तै हरियाली छ । लेक, पडाड र नीलो नदी बगेको देखिन्छ । प्रकृतिले नै सबैतिर हराभर बनाएको छ । सहरको कुनै पनि इलाका फोहोर र प्रदूषित देखिन्न ।

नेपालभित्र मनपर्ने ठाउँ ?

नेपालका पनि धेरैजसो ठाउँ पुगेको छु । पोखरा, बुटवल, भैरहवा धरानलगायत ठाउँ सुन्दर लाग्छ । नेपाल भित्रको सुन्दर सहरको रूपमा पोखरालाई लिन सकिन्छ । यो सहर प्रकृतिले नै सुन्दर बनाएको छ । यहाँबाट हिमाल हाँसेको देख्न पाइन्छ । पोखरा पनि अहिलेसम्मलाई व्यवस्थित सहर नै हो । यहाँ जनसंख्या पनि ठिक्क छ । जनसंख्या र क्षेत्रफल मिलेकाले पोखरामा प्रदूषण कतै देखिन्न ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं धेरै राम्रो सहर हो । यो सहरको जस्तो विशेषता संसारका कुनै पनि मुलुकका सहरमा पाइन्न । सुविधाका हिसाबले पनि यहाँ हरेक थोक पाइन्छ । सरकारी सेवा–सुविधा पनि यहीँ छन् । यहाँको मौसम राम्रो भइगयो, मठ–मन्दिर, सम्पदाले यसको गरिमा बढाएको छ ।

तर, मानिसका कारण पछिल्लो समय काठमाडौं बिग्रिएको छ । कहीँकतै विकास निर्माणका काम भए पनि धेरैतिर अस्तव्यस्त बनेको छ । काठमाडौंलाई कुरूप देखाउने सबैभन्दा पहिलो कारक मापदण्ड बाहिर बनेका अग्ला भवन नै हुन् ।

विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?

विदेशका सहर व्यवस्थित छन् । सबैतिर कानुनको पालना गरिएको हुन्छ । हाम्रोमा यसको ठीक उल्टो छ । यहाँ नेताहरूबाटै कानुनको खिल्ली उडाइन्छ । सहरमा बस्ने गरिबलाई कानुन लाग्छ, तर उच्च वर्गको नेता र उसका आसेपासेलाई कानुनले छेक्दैन । यस्तै कारण पनि हो, हाम्रो देश बिग्रिएको ।

राज्य सत्तामा हुनेले जिम्मेवार जवाफदेही भएर काम गरेको भए हामी अहिले विदेशी सहरको दाँजोमा पुग्थ्यौँ होला । विदेशी सहर हेरी प्रकृतिले दिएको कुरामा हामी धनी छौँ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ ।

उपत्यकाबाहिर कुन–कुन सहर राम्रो लाग्छ ?
उपत्यका बाहिरका धेरै सहर पुगेको छु । मेरो आफ्नो जन्मथलो भैरहवा पनि मलाई सुन्दर लाग्छ । नेपालको सहरी इलाकाभन्दा ग्रामीण इलाका सुन्दर छ । सहरी क्षेत्रमा बसाइँसराइका कारण अस्तव्यस्तता छायो भन्ने लाग्छ ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?

अमेरिका, जापान, हङकङ, अस्टेलिया, आयरल्यान्ड, नेदरल्यान्ड लगायत युरोपका धेरैजसो सहर घुमेको छु । विदेशका सहरमा कतै पनि फोहोर देखिन्न । त्यहाँ विकास छ, तर प्रकृति दोहन गरिएको छैन ।

प्रकृति र मौलिकतालाई ध्यानमा राखेर सहरको विकास गरिएको छ । हाम्रोमा सहर विकासका नाममा हरियाली मासिएको छ । रूखहरू काटिएको छ । सहरवासीले आफ्नो घरभित्र उत्पादन भएको फोहोर सही ठाउँमा फाल्छन् । कसैले पनि कानुनलाई मिच्दैनन् । कानुन मिच्नेलाई दण्ड–सजाय पनि ठूलो छ ।

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?

सरकारले योजनाबद्ध रूपमा विकास गर्ने हो भने काठमाडौं विश्वको टप पाँच सहरभित्र पर्न सक्छ । किनकि, यस्तो मौसम र ऐतिहासिक पक्ष भएको ठाउँ विश्वमा कहीँ छैन । संसारमा जति पनि देश चम्किएका छन्, ती सबै सहर मानिसले बनाएका हुन् । प्रकृतिले ठगेका सहर पनि मानिसकै जाँगरले हराभरा बनेका छन् । हामीले प्रकृतिले यति धेरै सम्भावना दिँदादिँदै पनि सहरको विकासबारे दीर्घकालीन योजना बनाएर काम गर्न सकेका छैनौँ ।

सहर सुन्दर बनाउन सरकारले कसरी काम गुर्नपर्ला ?
सहरका खास सम्भावनाको खोजी गर्नुप¥यो । सहरको विषयमा दीर्घकालीन बहस हुनुपर्यो । त्यसैबमोजिम योजना ल्याउनुपर्यो । सहर बन्नका लागि के के चाहिँदो रहेछ, अध्ययन गर्नुपर्यो ।

अनि मात्रै सहरको विकास हुन सक्छ । सरकारमा रहेका हरेक नेता र सरकारी कर्मचारीले पारदर्शी भएर काम गर्ने हो भने हाम्रा सहरको विकास हुन धेरै समय लाग्दैन । सबैभन्दा पहिले त सदन र सडकलाई व्यवस्थित पार्नुपर्छ । अर्को कुरा, सरकार र आमनागरिक सहरको विकासमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।

सहरमा समस्या के के देख्नुहुन्छ ?

सहरमा धेरै समस्या छ । हामीले विदेशका सहर हेर्दा नेपालका सहर अति नै बिजोग लाग्छन् । किनभने, यहाँ राज्य तबरबाट हुने काम निराशाजनक छ । विधि, व्यवस्था पालना भएको देखिँदैन । विकास निर्माणका काममा भागबन्डा भएको छ । अग्ला र अव्यवस्थित भवन निर्माण, फोहोर, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो जस्ता समस्या छन्, काठमाडौैंमा ।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
म आजभन्दा २० वर्षअघि काठमाडौं छिरेको थिएँ । त्यतिबेला काठमाडौंमा ट्रली बस चल्थ्यो । उपत्यका खाली थियो । अहिलेजस्तो अस्तव्यस्त थिएन ।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष ?

यहाँको हावापानी सदावहार लाग्छ । यहाँ संसारमै नभएका अमूल्य ऐतिहासिक मठ–मन्दिर, दरबार, मौलिक पहिचान बोकेका सम्पदा छन् । ती सम्पदाले काठमाडौंलाई मात्रै होइन, नेपाललाई नै फरक र मौलिक बनाएको छ ।

मननपर्ने पक्ष ?
यहाँको खास समस्या भनेको प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाड हो । सरकारले यी समस्यालाई अग्र स्थानमा राखेर काम गर्न जरुरी छ ।

तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?

सहर सफा, हराभरा र सुविधायुक्त हुनुपर्छ । प्रशासन पारदर्शी हुनुपर्छ । सरकारका विकास निर्माणका काम पनि चुस्त हुनुपर्छ । म बस्ने सहर मैले विदेशमा देखेको सहरजस्तै व्यवस्थित होऊन् भन्ने लाग्छ ।

सहरको विकासका लागि सहरवासीको भूमिका के देख्नुहुन्छ ?
सहरमा बस्नेहरू धेरैजसो सहरको विषयमा सचेत छैनन् । कसैले पनि यो मेरो सहर हो, यसको विकास गर्ने मेरो पनि दायित्व हो भनेर सोच्दैनन् । जबसम्म सहरमा बस्नेहरू सचेत हुँदैनन्, सहरलाई माया गर्दैनन्, तबसम्म सहरको विकास हुँदैन।

अर्को कुरा, हामी सहरवासी सहरबारे सोच्न भ्याउँदैनौँ । सबैलाई आफ्नै रडाको मात्रै छ । सहरमा बस्ने अधिकांश गैरजिम्मेवार छन् । भएका नियम मिच्ने, नटेर्ने, फोहोर जथाभावी फाल्ने, दोषजति सरकारलाई थुपार्ने, एकअर्काको कुरा काट्नेजस्ता प्रवृत्ति सहरवासीमा छ । यस्तो बानी हटाएर विकासका काममा हातेमालो गर्ने हो भने सहरको विकास धेरै पर छैन ।

उपत्यकानजिकै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?

त्यति धेरै घुम्ने र रमाइलो गर्ने फुर्सद त हुन्न, उपत्यकाभित्र घुम्ने ठाउँ पनि पर्याप्त छैनन् । पार्क पनि थोरै छन् । कहिलेकाहीँ घुम्न जानुपर्यो भने म पनौती माथिका गाउँतिर जान्छौँ ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
हाम्रो नेपालमा घुम्नका लागि रमाइला ठाउँ धेरै छन् । मलाई मुगुको रारा, मनाङ र मुस्ताङ पुग्न मन छ । समय मिल्यो भने त्यहाँ पनि पुग्छु ।

काठमाडौंको मनपर्ने खानेकुरा ?

मलाई सबैखाले खानेकुरा मीठो लाग्छ । मेहनत गरेर बनाउने हो भने सबै कुरा मीठो बन्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App